बागलुङ, २० वैशाख – पाँच बर्षभित्र बागलुङ नगरपालिकाका सबै वडामा पक्कि सडक पु¥याउने लक्षका साथ तयार भएका नौ वटा गौरवका आयोजनामध्ये वडा नम्बर ६ सिमदेखी वडा नम्बर ७ कालिमाटी सम्मको सडक कालोपत्रेको काम थालिएको छ । नौ वटा गौरवका सडक आयोजनामध्ये प्राथमिकताका आधारमा प्रदेश सरकार सँगको सहकार्यमा उक्त सडक कालोपत्रेको काम थालिएको हो । अन्य आठवटा आयोजनामा समेत नगरपालिकाले बजेट बिनियोजन गरेर प्रदेश सरकार र केन्द्र सरकार सँगको सहकार्यमा काम गरिरहेको छ ।
यो सडक बजेटका हिसाबले सबैभन्दा ठुलो सडकखण्ड हो । प्रदेश सरकारको १ करोड रुपैयाँ अनुदान र नगरपालिकाको १ करोड ९२ लाख रुपैयाँको लागतमा सिम–कालीमाटी सडकखण्डको १ हजार ८ सय मिटर सडक कालोपत्रेको काम थालिएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए । आठ मिटर चौडा सडकमा पाँच मिटरमा कालोपत्रे हुने र बाँकी तीन मिटर दायाँबाँयाँ छोड्ने गरी सडकको स्टमेट गरिएको छ । नगर चक्रपथ अन्तर्गतको कच्चि सडकलाई कालोपत्रे गर्न थालिएको हो । आगामी ६ महिनामा निर्माणको काम सम्पन्न गर्नेगरी फेवा कन्ट्रक्सनले कामको जिम्मेबारी पाएको छ । यो सडक कालोपत्रे भएपछि बागलुङ नगरपालिकाका तीनवटा वडाका सर्वसाधारणलाई नगरको केन्द्र रहेको बागलुङ बजार आवतजावतमा सहज हुने छ ।
नगर गौरवका योजनमध्ये दक्षिणका तीनवटा वडा कार्यालय १२, १३ र १४ मा पुग्नका लागि बागलुङ–कुश्मीशेरा सडक खण्डबाट उत्तर र दक्षिण गरेर तीनवटा सडक स्तरोन्नतीको काम भैरहेको छ । त्यस्तै वडा नम्बर ५, ८, ९, १० र ११ मा पुग्ने सडकको समेत स्तरोन्नतीको काम चलिरहेको छ । भूगोलका आधारमा नगरपालिकाले ५० लाखदेखी ७५ लाखसम्म बजेटको व्यवस्था गरेको छ । नगरका योजनामा प्रदेश सरकार र केन्द्र सरकारले समेत साझेदारीमा बजेट उपलव्ध गराएको पौडेलले बताए । ‘पाँच बर्षभित्र नगरका सबै वडामा नगरबस चल्नेगरी सडकको स्तरोन्नती र कालोपत्रेको काम थालेका छौं’ पौडेलले भने ‘नगरबासीलाई सहज सडक सुविधाका लागि उपलव्ध स्रोतको अधिकतम प्रयोग गर्ने योजनाका साथ गौरवका योजना सञ्चालनमा ल्याएका हौं ।’ प्रत्येक वडा कार्यालयमा पुग्ने सडकलाई वडाको मुख्य सडक मानेर प्राथमिकतामा राखिएको पौडेलले बताए ।
बिहिबार सिम कालिमाटी सडक खण्डको शिलान्यास गर्दै पौडेलले सडकलाई रोजगारीसँग जोडेर उपयोग गर्न स्थानीय सर्वसाधारणलाई आग्रह समेत गरे । गाउँमा उत्पादन भएका बस्तुहरुलाई बजारमा पु¥याउने र त्यसबाट आयआर्जन गर्न उनको सुझाव थियो ।
नगरले थालेको कालोपत्रेको कामका बिषयमा जानकारी भएपनि त्यसमा प्रयोग हुने सामग्री, त्यसको गुणस्तर, सडकको मापदण्ड लगायतका बिषयमा जानकारी गराउन राजनीतिक दलका नेताहरुले आग्रह गरे ।
योजनाको बिषयमा सबै जानकारी सर्वसाधारणलाई गराउँदा कामको अनुगमन र निर्माण कम्पनीलाई खबरदारी गर्न सहज हुने उनीहरुको भनाई थियो । नगर स्तरमा हुने अनुगमन समितिले अनुगमनको काम गर्ने भएपनि प्रत्यक्ष निगरानी स्थानीय सर्वसाधारणले मात्रै गर्न सक्ने नेपाली कांग्रेस वडा समितिका अध्यक्ष पदम बहादुर क्षेत्रीले बताए ।
कार्यक्रममा नगरपालिकाका इन्जिनियर मनोज शर्माले सडकको प्राबिधिक स्टमेटका बिषयमा जानकारी गराएका थिए । नेकपा वडा किमिटीको तर्फबाट विकास बिकले सुझाव सहितको मन्तव्य राखे । वडा नम्बर ७ का अध्यक्ष खगराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम स्वागत वडा नम्बर ६ का अध्यक्ष खिमरानज सापकोटा र सञ्चालन तेजप्रसाद न्यूरेले गरेका थिए ।





