बागलुङ,२४ बैशाख -धौलागिरीको पहिलो एफएम धौलागिरी एफएम बागलुङको आयोजनामा सोमवार देखी एक हप्ते रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुरु भएको छ ।तालिमको उद्घाटनका अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष तथा धौलागिरी एफएमका स्टेशन म्यानेजर दिल शिरीषले तालिमले जिल्लाको पत्रकारितामा नयाँ पुस्ताको आगमनलाई प्रोत्साहित गर्ने बिश्वास व्यक्त गरे ।
‘पछिल्लो समय सञ्चार माध्यम प्रतिको आकर्षण घटिरहेको जस्तो देखिन्छ, यसमा मिडिया सञ्चालक र स्वयम् सञ्चारकर्मीको कमजोर उपस्थिति कारक छ,’ शिरीषले भने, ‘पत्रकारितामा लागेर मेहनत गर्ने पत्रकारहरुको माग, आवश्यकता र तलब सबै राम्रो छ ।’ पत्रकारितामा टिक्न र बिक्न हर बखत मेहनत आवश्यक भएकाले त्यसका लागि तयार रहेर मात्र यस क्षेत्रमा आउन उनले सहभागीलाई आग्रह समेत गरे ।कार्यक्रममा राष्ट्रिय समाचार समिति धौलागिरीका पूर्व प्रमुख यामबहादुर थापाले रेडियो पत्रकारिता तालिमले सञ्चार क्षेत्रमा काम गर्नमा मात्र नभई अन्य क्षेत्रमा काम गर्न खोज्ने र रोज्नेहरुका लागि पनि महत्वपूर्ण सहयोग पुग्ने बताए ।
नयाँ पुस्तालाई पत्रकारितामा आकर्षित गर्ने अभिप्रायले आयोजना गरिएको तालिममा बागलुङ, पर्वत र म्याग्दीका १५ भन्दा बढीले सहभागिता जनाएको एफएमका कार्यकारी सम्पादक नविन शिशिर बिकले जानकारी दिए । तालिम आगामी बैशाख २९ गते सम्म सञ्चालन हुनेछ । तालिमको जिल्लामा क्रियाशिल अनुभवी पत्रकारहरुले सहजीकरण गर्ने एफएमले जनाएको छ ।





