बागलुङ, २८ वैशाख – केही दिनअघि बागलुङको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका लुकबहादुर क्षेत्रीले जिल्लाको शान्ति सुरक्षाका लागि सबै पक्षसँग सहकार्य गर्ने बताएका छन् । बिहिबार पत्रकार सम्मेलन गरी क्षेत्रीले जिल्लाको सुरक्षा सबैको सरोकारको बिषय भएको भन्दै सहकार्यमा शान्ति र सुव्यवस्थाका लागि काम गर्ने बताए ।
सुरक्षाका दृष्टीकोणले बागलुङ कम सुरक्षा चुनौती भएको जिल्ला भन्दै क्षेत्रीले यहाँ रहेका केही चुनौतीको सामना र न्युनिकरणका लागि समुदाय, राजनीतिक दल, पेशा व्यवसायमा संलग्न नागरिक, संघसंस्थासँग आँफुले सहकार्य गर्ने बताए । जिल्लामा निर्माणाधिन पूर्वाधारमा भैरहेको ढिलासुस्तीको बिषयमा सूचना संकलन गरी कानुन अनुसार कारवाही अघि बढाउने समेत क्षेत्रीले बताए ।
बागलुङमा लागुपदार्थ ओसार पसार, ट्राफिक व्यवस्थापन, चोरी लगायतका घटनाले सुरक्षा निकाय र प्रसासनलाई चुनौती दिएको भन्ने पत्रकारहरुको प्रस्नमा क्षेत्रीले त्यसको न्युनिकरणका लागि चेतना आवश्यक रहेको बताए । प्रकृतिक सम्पदाको दोहन स्थानिय सरकार वा प्रसासन जो कोहीको क्षेत्राधिकार भित्र पर्ने भएपनि साझा एजेण्डा बनाएर लाग्नुपर्ने उनको धारणा थियो ।





