
पर्वत, ६ जेठ – पर्वतको उत्तर पूर्वी भाग भएर बग्ने मोदी नदीमा जलविधुत्तिय आयोजना बढेसँगै नदीका जलचर भने संकटमा परेका छन् । असला माछाको खानीको रुपमा ख्याती कमाएको मोदी नदीको अधिकांस भाग हिउँदमा सुख्खा हुने गर्दा मोदीमा असला माछा लोप हुने खतरा बढ्दै गएको छ । मोदी खोलामा सञ्चालित, निर्माणाधीन र निर्माणको प्रक्रियामा रहेका गरी ७ वटा जलविद्युत् आयोजनाका कारण जलचर भने संकटमा पर्न थालेकाछन् । हिमालबाट बग्ने खोला भएकाले बाह्रैमास खोलामा पानीको बहाव समान हुने कारण मोदीखोलामा विद्युत् आयोजना बनाउन लगानीकर्ता आकर्षित भएका छन् तर वातावरणीय हिसावले भने जलचरलाई समस्या हुन थालेको छ ।
हाल निर्माण सम्पन्न भईसकेका २ वटा आयोजनाले न्यूनतम रुपमा खोलामा छाड्नुपर्ने पानी समेत नछाडेको पाईएको स्थानीयवासीहरु बताउँछन् । खोलामा पानीको मात्रा कम हुँदा माछा लगायतका जलचरहरु संकटमा रहेको जानकारी भएपछि गाउँपालिकाले समेत आयोजनालाई ध्यानकर्षण गराएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पौडेलले जानकारी दिनुभयो । ‘यस सम्बन्धमा जनगुनासो आएपछि संबन्धित आयोजनाहरुलाई ध्यानाकर्षण गरायौं’ उहाँले भन्नुभयो–‘उनीहरुले पनि उचित सम्बोधन गरेको पाएनौं ।’ उहाँका अनुसार आयोजनाले हप्ता, पन्ध्र दिनमा एक पटक पानी छाडेको देखाउने गरेको तर न्यूनतम १० प्रतिशत पानी नियमित छाड्नुपर्ने नियम पालना नगरेको बताउनुभयो । जसका कारण मोदीमा माछाको संख्या कम भईसकेको छ । अम्मोटका होटल व्यापारी नवराज क्षेत्रीका अनुसार खोलामा पानी नछाड्दा पहिलाको जस्तो माछा नपाईने गरेको बताउनुभयो । उहाँले कतिपय ठाउँमा त सुरुङका कारण खोलनाला समेत सुकिसकेको जानकारी दिनुभयो । ‘पहिला निकै माछा पाईने ठाउँमा अहिले हराउँदै जान थालेकाछन्’ उहाँले भन्नुभयो–‘खोजेको मात्रामा माछा नपाउने मात्रै होईन तल्लो मोदीका कारण अम्मोटे खोला समेत सुकिसक्यो ।’
तल्लो मोदीखोलाको सुरुङ निर्माणसँगै अम्मोटे खोला सुकेको भएपनि आयोजनालाई ध्यानाकर्षण गराउँदा समेत कुनै चासो नदिएको बताउनुभयो । धेरै पटक आयोजनालाई र जिल्ला प्रशासन लगायतका निकायमा जानकारी दिँदा समेत कुनै सुनुवाई नभएको उहाँले बताउनुभयो । मोदी खोलाको शिरदेखि अन्त्यसम्म जल विद्युत आयोजना निर्माणको अनुमति भईसकेको छ । कास्कीको बिरेठाँटीमा रहेको मध्य मोदी आगामी वर्षमा निर्माण सम्पन्न भएसँगै कुस्मा नगरपालिका–८ को जम्मुरासम्म खोला सुरुङ र नहरमा मात्रै हुने भएको हो । त्यसपछि यससँगै निर्माणको अनुमति पाएका सुपर मोदी, अपर मोदी, तल्लो मोदी बी लगायतका आयोजनाको निर्माण भएसँगै कास्कीको घान्द्रुकदेखि कुस्माको मोदीवेणी धामसम्म खोलाको पानी सुरुङ भित्र पुग्नेछ ।
मोदीखोलामा नेपाल विद्युत् प्राधिकरणले २०५३ सालदेखि निर्माण थालेको १४ मेगावाटको मोदीखोला जलविद्युत् आयोजनाले २०५९ देखि उत्पादन शुरू गरेको थियो । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले युनाइटेड मोदी–१ आयोजनाबाट २०६९ देखि १० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । अहिले तल्लो मोदी २० मेगावाट र १५ दशमलव १ मेगावाटको आयोजना निर्माणाधीन छन् । दुईओटा आयोजना निर्माणाधीन छन् भने तीनओटा आयोजनाले निर्माणको अनुमति पाएर कार्ययोजना तयार पारेका छन् । मोदीखोलामै पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणमार्फत दुई र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीमार्फत तीनओटा जलविद्युत् आयोजना निर्माणको तयारीमा छन् । प्राधिकरणले ४२ मेगावाटको अपर मोदी ‘ए’ र १८ दशमलव २ मेगावाटको अपर मोदी आयोजनाको निर्माण थालेको छ । युनाइटेड मोदी हाइड्रोपावरले साढे १० मेगावाटको युनाइटेड मोदी–२ निर्माण थाल्न अघिल्लो वर्ष सर्वसाधारणबाट लगानी जुटाएको थियो ।
तस्बिर ः निर्माणाधिन मध्यमोदी जल विद्युत आयोजनाको ईन्टेङ्क । तस्बिर ः गणेश पौडेल





