पोखरा,१६ जेठ – चालु आर्थिक वर्षमा गण्डकीको लागि ६ अर्ब ३६ करोड ससर्त अनुदान छुट्याएकोमा गण्डकीले १ अर्ब ६१ करोडमात्र लिन सक्यो । गण्डकी ससर्त अनुदान लिनेमा पनि सबैभन्दा पुछारमा छ । समपुरक अनुदानमा प्रदेशले कुल अनुदानको जम्मा १४ दशमलब १ प्रतिशत मात्र प्राप्त गर्न सक्यो । यो प्रदेश नम्बर १ सँग बराबरी हो । अरु प्रदेशहरुले यो शीर्षकमा बढी रकम पाएका छन् । विशेष अनुदानतर्फ गण्डकी प्रदेशले ६८ करोडमात्र प्राप्त गर्दा पनि उसले प्रदेश नम्बर १ भन्दा केही बढी रकम मात्र पाएको देखियो । प्रदेश नम्बर १ ले विशेष अनुदानबापत ६५ करोड पाएको छ ।
यता समानुपातिक, ससर्त र समपुरक अनुदान पाउनेमा पनि गण्डकी पुछारतिर नै प¥यो । गण्डकीले चालु आर्थिक वर्षमा एक अर्ब ६९ करोड अर्थात कुल समानिकरण अनुदानको २४ दशमलब ९ प्रतिशत मात्र निकासा पायो । यो शीर्षकमा गण्डकीको लागि ६ अर्ब ७८ करोड छुट्याइएको थियो ।
यो वर्षको बजेटमा सरकारले प्रदेश सरकारलाई ५५ अर्ब ३० करोड अनुदान छुट्याएको छ । वित्तीय समानिकरण अनुदानमा भूगोल, जनसंख्या, कुलग्राहस्थ उत्पादन र सामाजिक अवस्थालाई हेरेर रकम दिइन्छ । गण्डकी प्रदेशमा ८५ वटा स्थानीय निकायहरु रहेका छन् । कूल जनसंख्याको ९ दशमलब ५ प्रतिशत जनसंख्या बस्ने यो प्रदेशको आर्थिक बृद्धिदर ७ दशमलब १ प्रतिशत रहेको छ । यो प्रदेशमा निरपेक्ष्य गरिबीको रेखामुनि रहेका जनताको संख्या १५ दशमलब ५ प्रतिशत छ भने बहुआयामिक गरिबीको दर १२ दशमलब २ प्रतिशत छ । देशको कुल ग्राहस्थ उत्पादनमा यो प्रदेशको योगदान ९ दशमलब ४ प्रतिशत मात्र रहेको छ । गण्डकीभन्दा कम योगदान गर्नेमा कर्णालीले ४ दशमलब १ र सूदुर पश्चिमले ७ दशमलब २ प्रतिशत योगदान गरेका छन् । बेरोगारीमा भने गण्डकीमा सबैभन्दा कम अर्थात ९ प्रतिशत मात्र रहेको छ । कुल निक्षेपमा गण्डकीले ७ दमलब १५ प्रतिशत योगदान गर्छ ।
आर्थिक वर्ष २०७५÷७६ मा प्रदेशहरुको लागि मूल्य अभिबृद्धिकर र अन्तःशुल्कबाट २९ अर्ब ४१ करोड बाँडिएकोमा गण्डकीले १२ दशमलब ९ र यहाँका ८५ वटा स्थानीय निकायहरुले १० दशमलब १ अर्थात २ अर्ब ९८ करोड पाएका थिए । यो अन्य प्रदेशले पाएको भन्दा कम हो ।
यी सबै तथ्यहरु हेर्दा यो वर्ष पनि गण्डकीले समानिकरण अनुदानमा सबैभन्दा कम रकम पाउने अनुमान गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै भनाई सापट लिने हो भने,‘गण्डकी प्रदेशलाई सबै कुरामा हेपिएको छ, अघिल्लो वर्ष पनि हेपियो, सबै भन्दा कम रकम हामीले नै पायौँ, यो वर्ष पनि त्यसै होला, तर हामी हाम्रो विकास आफै गर्छौँ ।’





