पोखरा,१६ जेठ – संघ सरकारले बजेट भाषणमार्फ सानादेखि ठूला पुल पनि आफैले बनाउने घोषणा ग¥यो । आफ्नो गाउँ आफै बनाऊँ कार्यक्रम पनि आफैले चलाउने उद्घोष ग¥यो । रेलदेखि टनेलमार्गका कुरा पनि उठाइए । देशका ६ वटा प्रदेशमा औद्योगिक क्षेत्र स्थापनाको कुरा उठे पनि अर्थमन्त्री खतिवडाले गण्डकी प्रदेशको नाम समेत लिएनन् । अन्यत्र सुरुङ मार्गको कुरा गरे पनि गण्डकीमा सुरुङको कुरा आएन । गण्डकीको नवलपुर–देवचुली क्षेत्रमा टनेलमार्गको माग गरिएको थियो । पोखरा क्षेत्रीय विमानस्थलको कुरा गरिए पनि त्यसको लागि छुट्याएको ८ अर्ब नियमित बजेट नै हो । मध्यपहाडी लोकमार्गको लागि १३ अर्ब रकम छुट्याइकोमा खुसी मान्ने ठाउँ भए पनि अरु ठूला आयोजना यो क्षेत्रमा परेनन् । डुम्रे–बेसिशहर–चामे सडकको लागि बजेट, पोखरा सभागृह निर्माणको लागि सम्भाव्यता अध्ययन,मुस्ताङको नेचुङ र कोरला भन्सार निर्माणको कुरा भने बजेटमा परे । भन्सारबाट उठ्ने राजश्वलाई लक्षित गरिएर आएको परियोजना विकासे परियोजना हैन । तनहुँमा रहेको जिपी कोइराला स्वास प्रश्वास केन्द्रलाई रकम विनियोजन गरिएको घोषणा गरे पनि त्यो कति हो भन्ने खुल्न सकेको छैन ।





