पोखरा,१७ जेठ – गण्डकी प्रदेश सरकारले आगामी वर्षमा सांसदहरुलाई २ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षको बजेट ल्याउने बेलामा नै सत्तारुढ तथा प्रतिपक्षका सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकासको लागि रकम माग गरेतापनि त्यतिबेला अर्थमन्त्री किरण गुरुङले सांसदहरुको काम नीति बनाउने रहेको भन्दै जवाफ दिएका थिए ।तर, आगामी ०७६–०७७ को बजेटमा भने संघीय सांसदहरुले पाउनेभन्दा आधा रकम प्रदेश सांसदहरुमार्फत खर्च गर्न पाउने व्यवस्था ल्याउन लागिएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै आईतबार प्रदेशसभा बैठक सम्बोधन गर्दै सांसदहरुको मागबमोजिम निर्वाचन क्षेत्रको लागि रकम छुट्याईने बताएका हुन् । तर, सांसद विकास कोषको रकम भने वितरणमुखी र कार्यकर्ता पोस्ने बजेट भनेर आलोचित हुने गरेको छ । मुख्यमन्त्री गुरुङले राम्रो काममा प्रयोग गरे आलोचना नहुने बताए ।उनका अनुसार प्रत्यक्ष र समानुपातिक दुवै सांसदहरुले निर्वाचन पूर्वाधार विकास कोष अन्तर्गत रकम पाउनेछन् । तर, प्रत्यक्ष र समानुपातिक सांसदले पाउने रकम भने फरकफरक हुनेछ । यसको लागि कार्य्विधी बनाईने उनले बताए ।





