काठमाडौं, १७ जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दिनअघि बजेट सार्वजनिक गर्दै अबदेखि सरकारले दिने उपहारमा स्वदेशी उत्पादनका सामग्री अनिवार्य गरिएको घोषणा गरे।स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने सरकारको चाहना अर्थमन्त्रीको घोषणालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पूरा गरेका छन्। भारतमा दोस्रोपटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीलाई बधाइ दिन ओली बिहीबार भारत पुगेका थिए। उनले मोदीलाई रुद्राक्ष माला उपहार दिएर सरकारी नियम कार्यान्वयनमा ल्याएका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले ट्विट गर्दै प्रधानमन्त्री ओलीले मोदीलाई नेपाली जनताका तर्फबाट सफलताको शुभकामनासहित रुद्राक्ष माला उपहार दिएको उल्लेख गरेका छन्।





