पोखरा,१८ जेठ – एचआइभी संक्रमितको रुपमा सगरमाथाको सफल आरोहण गरेका गोपाल श्रेष्ठको शुक्रबार गृहनगर पोखरामा भव्य स्वागत र अभिनन्दन भएको छ । दुई महिना अगाडी पोखरावाट सगरमाथा आरोहणका लागि निस्किएका श्रेष्ठले गएको ८ गते बुधवार विहान ७ः३० वजे सगरमाथाको टाकुरामा पाईला राखेका थिए । आरोहणपछि पोखरामा आएका उनको अभिनन्दनमा पोखराका विभिन्न संघ÷संस्थाहरुको सहभागिता रहेको थियो भने अभिनन्दन पछि उनलाई पोखरा परिक्रमा पनि गराइएको थियो । एआइभी संक्रमित ब्यक्तिले सगरमाथाको सफल आरोहण गरेको यो नै पहिलो हो । पोखरा ७ रत्नचोक निवासी श्रेष्ठ आरोहण पश्चात फर्कने क्रममा स्वास श्वास र अन्य शारिरीक समस्याका कारण एक हप्ता काठमाण्डौमै उपचार गराएपछि उनी आज मात्रै पोखरा आएका हुन् ।
गोपालले सगरमाथा आरोहण गर्नुअघि सन् २०१३ मा ५,४१७ मिटर उचाइको थोराङ्ग ला पास, सन् २०१४ मा ६,१८९ मिटर उचाइको आइल्याण्ड पिकको सफल आरोहण गरिसकेका छन् । त्यस्तै सन् २०१६ मा ६,६४६ मिटर उचाइको भर्जिन पिक खाङ कार्पोको सफल आरोहण गरिसकेका छन् ।





