पोखरा, १८ जेठ -सरकारले रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई १ करोड रकम दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नाममा स्थापना गरिएको स्मृति प्रतिष्ठानको शनिवार पोखरामा घोषणा गर्दै १ करोड दिने वताएका हुन् । ‘सरकारको तर्फबाट प्रतिष्ठानलाई १ करोड दिईनेछ, प्रधानमन्त्री ओलीले भने, यो रकम उहाँका सपना पुरा गर्ने काममा खर्चिनु पर्नेछ ।’ रविन्द्रलाई बाल्यकालदेखि नै आफुले राम्रोसंग चिन्ने स्मरण गर्दै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि उहाँले देखेको सपना सवै नेपालीको भएको वताए ।
प्रतिष्ठान नामको मात्रै हुनुुभएन, प्रधानमन्त्री ओलीले भने, यसले सवै जनताको भावनालाई वुझ्नु पर्दछ । ब्यक्ति, समुह र गुटको स्वार्थको रुपमा प्रयोग हुनु भएन । केही केही प्रतिष्ठान कामका लागि मात्रै नभएर नामका मात्रै छन, प्रम ओलीले भने–तिनीहरुको खास अर्थ छैन, यो कामका लागि हुनुपर्दछ, समृद्धिका लागि हुनुपर्दछ, रविन्द्रको भावनासंग जोडिनु पर्दछ ।
वाइडबडी प्रकरणमा रविन्द्र निर्दाेष
कार्यक्रममा प्रधानमन्त्री ओलीले वाइडबडी प्रकरणमा स्व. रविन्द्र अधिकारी निर्दोष रहेको दोहो¥याए । छुद्र मानसिकता भएका मान्छेहरुले रवीन्द्रको नाम जोडेर बद्नाम गराउने काम भएको बताए । ‘वाइडबडी काण्डमा उहाँको नाम बद्नाम गर्ने काम भयो । मैले उहाँ त्यसमामिलामा निर्दोष हुनुहुन्छ भन्दा एकथरी अत्यन्त छुद्र मतिका मान्छेहरुलाई यो कुराले साह्रै पोलेछ । उहाँ वास्तवमै निर्दोष हुनुहुन्छ ।’ वाइबडी उहाँ मन्त्री हुनुभन्दा पूर्व अगाडि बढेको काम हो । अधिकारी स्वच्छ आचरण र छवि भएको तथा कर्मठ र क्रियाशील नेता भएको ओलीको भनाइ थियो ।
तत्कालीन पर्यटनमन्त्री अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । त्यसको केही दिनपछि नेकपा संसदीय दलको बैठकमा ओलीले अधिकारी निर्दोष भएको दाबी गरेका थिए । विपक्षी कांग्रेसका सांसद लगायतले छानविन पुरा नहुँदै प्रधानमन्त्रीले फलानो दोषी, फलानो निर्दोष भन्नु गलत भएको भन्दै आलोचना गरेका थिए ।
प्रधानमन्त्री ओलीले भने भुईंफुट्टा मान्छे तथा संस्थाहरुले अदालतले फैसला नगरेको कुुरालाई प्रधानमन्त्रीले त्यसो भन्न पाइन्छ भनेर प्रश्न गरेको टिप्पणी गरे । ‘केही पूर्वाग्रही, छुद्र मानसिकताका असभ्य र भुइँफुट्टा मान्छेहरु, केही भुइँफुट्टा संस्थाहरु नेकपाका मन्त्री जोगाउन यस्तो भन्न भएन भनिरहेका छन् ?’ उनले भने, ‘अदालतले निर्णय नगरेको कुरामा दोषी छ भन्ने पाइने, मनपरी भन्न पाइने, निर्दोष भन्ने नपाइने ? को हुन् ती न्यायाधीश ?’
उनले नेतृत्व र पार्टीको नीतिविरुद्ध जथाभावी बोलेर चर्चामा आउन नचाहने नेताका रुपमा रवीन्द्रको स्मरण गरे । ‘पार्टीका निर्णयविरुद्ध, पार्टीको नीतिविरुद्ध जथाभावी बोलेर आफ्नो बहादुरी हुन्छ भन्ने भ्रम नफाल्ने नेता हो,’ ओलीले भने, ‘विरोधीले उचाल्दिन्छन, बेलुन बनाएर फुकेर ठूलो बनाइदिन्छन् अनि त्यसैमा कुद्नेहरु पनि छन् । त्यो रोग रवीन्द्र अधिकारीमा थिएन ।’
उनले लोकप्रिय नेताको रुपमा रवीन्द्रलाई चित्रण गरे । आधा घन्टा बोलेका प्रधानमन्त्री ओलीले अधिकांश समय रवीन्द्र अधिकारीको प्रशंशा गरे । ‘जबसम्म उहाँ जिउँदै हुनुहुन्थ्यो, कसैको आँखामा आँसु देखाउनु भएन । उहाँको निधनपछि हामी सबैको आँखामा आँसु आए,’ प्रधानमन्त्री ओलीले भने ।
नेकपाको मुख्य बिचार जवज
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेकपाभित्रको वैचारिक बहसका वारेमा जनताको वहुदलिय जनवादको विकल्प नभएको वताए । जनताको बहुदलीय जनवादलाई मुल सिद्धान्त मानेर नै यहाँसम्म आइपुगेको हो, प्रधानमन्त्री ओलीले भने, ‘नेपालको कुनै आन्दोलन छ भने मदन भण्डारीका विचारले जन्मिएको जनताको बहुदलीय जनवादले नेतृत्व गरेको छ,’ ओलीले भने, ‘आज हाम्रो पार्टी जुन सम्झौताको विन्दुमा पुगेको छ, त्यसका पछाडि विचारहीन ढंगले जसो गरे पनि चल्छ भन्ने होइन । मदन भण्डारीकै सोचले नेपाली कम्युनिस्ट आन्दोलनलाई शक्तिशाली बनाएको हो ।’
नेपाली कम्युनिस्ट आन्दोलनमा पार्टी स्थापनाको हिसाबले पुष्पलाल र विचारका हिसाबले मदन भण्डारीको महत्वपूर्ण भूमिको रहेको उनको विश्लषेण छ । पुष्पलालले आन्दोलन सुरु गरेपनि छिन्नभिन्न भएको र त्यसलाई मदन भण्डारीले विचारमार्फत विकास र विस्तार गरे, प्रधानमन्त्री ओलीले भने, मदन भण्डारीकै विचारबाट झन्डै २ तिहाई बहुमतको नेकपा सरकार बनेको छ । मदनभण्डारीका विचारसँग कुनामा बसेर कुरा काट्ने काम भइरहेको भन्दै ओलीले भने ‘कुनामा बस्ने, कुरा काट्ने अनि फाल्टु गफ लेखेर विद्वान पल्टिने प्रवृति छ हाम्रोमा,’ ओलीले भने, ‘त्यसको कुनै अर्थ छैन, त्यसले विरोधीलाई उक्साउनेमात्रै हो ।’
रविन्द्रको विचारले समृद्ध बनाउछ – मुख्यमन्त्री गुरुङ
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्व.रविन्द्र अधिकारीको विचारले समाजलाई समृद्ध बनाउने वताए । प्रतिष्ठान घोषणा कार्यक्रममा मन्तब्य राख्दै गुरुङले समृद्धका विचारका धनी रविन्द्रको भावना स्मरणीय बनाउन स्मृति प्रतिष्ठान बनाएको वताए । ‘यसले वहाँको भावनालाई कदर गर्ने र समृद्धिका पक्षमा अगाडि बढ्न प्रेरणा दिनेछ, मुख्यमन्त्री गुरुङले भने, ‘सुखी नेपाली समृद्ध नेपालको भावनासंग जोडिएर नै आज हामी यो स्थानमा आइपुगेका हौ ।’ पार्टीका प्रदेश इन्चार्ज समेत रहेका गुरुङले पार्टी, परिवार, साथीभाइको पहलमा स्थापना भएको प्रतिष्ठानलाई प्रदेश सरकारको तर्फबाट पनि आवश्यक सहयोग हुने वताए ।
प्रतिष्ठानका अध्यक्ष तथा रविन्द्रका जीवनसंगिनी विद्या भट्टाराईले प्रतिष्ठानलाई अनुसन्धानमुलक काममा बढि प्रयोग गरिने वताइन । ‘सवै काम तथ्य, विश्लेषण र विचारबाट बन्छन, भट्टाराईले भनिन, ‘यसलाई त्यही कामका लागि परिचालन गरिनेछ र उहाँको सपना पुरा गर्न सहयोग पुग्नेछ ।’ कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव आचार्यले गरेका थिए ।





