पोखरा, जेठ १८ – प्रधानमन्त्री केपी शर्मा ओली शनिबार पोखरामा आए । पोखरामा उनको तीनवटा कार्यक्रम तय गरिएको थियो, होटेल उद्धाटन, स्काउटको कार्यक्रम र रविन्द्र स्मृति प्रतिष्ठानको शुभारम्भ ।
त्यसकै लागि पोखरा आएतापनि ओलीले पूर्वनिर्धारित पहिलो कार्यक्रम होटेल उद्धाटन भने गरेनन् । तर, दुई घण्टा चाहिँ रेस्ट गर्ने नाउँमा त्यही होटेलमा बिताए । मापदण्ड मिचेर बनाईएको भनेर पहिल्यै विरोध भईसकेका कारण ओलीले होटेलको औपचारिक उद्धाटन नगरेको हुनसक्ने जिल्लास्थित सुरक्षा निकायका एक अधिकारीको भनाई छ ।
उसो त सञ्चारमाध्यममा उद्धाटनपूर्वै मापदण्ड मिचेको होटेल प्रधानमन्त्रीले उद्धाटन गर्ने समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना समेत भएको थियो । “त्यसकै कारण पनि उद्धाटन कार्यक्रम क्यान्सिल भएको हुनसक्छ” ती अधिकारीले भने ।
लेकसाईस्थित १४ नम्बर गल्लीको भित्रपट्टि बनेको स्विस ईन्टरनेशनल होटेल ओलीबाट उद्धाटन गर्ने भनेर प्रचारप्रसार गरिएको थियो । होटेललाई पोखरा महानगरले बनाएको भवनसम्बन्धि मापदण्ड मिचेको आरोप छ । भुईँतलासहित १० तले होटेलले तीनतला बाहेकको अनुमति नलिएको आरोप लागेको छ । महानगरले हाल तीन तलासम्मको भवन निर्माणको लागि अनुमति दिँदै आएको छ ।
महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने भवन सम्बन्धिको मापदण्ड भएको प्रतिक्रिया दिए ।स्थानिय तहसँग जानकारी नलिई अवैधानिक रुपमा निर्माण भएको संरचनाको उद्घाटन गर्न नहुने र मापदण्ड विपरित निर्माण भएका होटल तथा अग्ला भवनहरुको महानगरले नियमन गर्ने तयारी गरेको उनको भनाई थियो ।
उसो त, होटेलका सञ्चालक प्रा. डा. भरत पहारी आफै महानगरको मापदण्ड निर्धारण सिफारिस समितिको संयोजकसमेत रहेर काम गरेका थिए । उक्त समितिले बुझाएको प्रतिवेदन भने हालसम्म सार्वजनिक गरिएको छैन । उक्त समितिले बनाएको प्रतिवेदन कहाँ छ भन्ने प्रश्नमा मेयर जिसीले भने, “मापदण्ड छ, अफिसमा छ ।” मेयर जिसी भने होटेल उद्धाटन कार्यक्रममा देखिएनन् ।
यो समित गठन हुँदादेखि नै मापदण्ड मिच्ने व्यक्तिलाई नै संयोजक चुनिएको भन्दै विरोधसमेत भएको थियो ।
यता होटेल सञ्चालक पहारीले भने होटेलले मापदण्ड नमिचेको दाबी गर्दै आएका छन् । महानगरले दिन मिल्नेसम्मको मापदण्ड लिएको उनको भनाई छ ।
पहारीआफै भने भ्रष्टाचार मुद्धामा गत मंसिरमा विशेष अदातलबाट दोषी ठहरिएका व्यक्ति हुन् । ९८ लाख ९३ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतले उनलाई कैद तथा जरिवानाको फैसला सुनाएको थियो ।
ओलीले होटेल उद्धाटन नगरेतापनि २ घण्टापछि होटेलबाट निस्केर स्काउटको कार्यक्रममा पुगे । उक्त होटेलमा महानगरपालिकाका मेयर बाहेक मानवाधिकारकर्मी, प्रदेशसभा सदस्य, प्रदेशका मन्त्रीहरुसहित मुख्यमन्त्री भने उपस्थित थिए ।
यसअघि गत माघ २ गते उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले पोखराको बुद्धचोकमा मापदण्ड विपरित निर्माण भएको १० तले होटल टास्क ईन्टरनेशनलको उद्घाटन गरेर आलोचित भएका थिए ।





