पोखरा,२१ जेठ -प्रस्तावित मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानविरुद्ध नेपाल पत्रकार महासंघको चरणवद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत महासंघ कास्कीको मंगलबार पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मानव अधिकारकर्मी ,राजनीतिक दल ,नागरिक समाज ,कानुन ब्यवसायी लगायतको उपस्थितिमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा विधेयकमा समावेश गरिएका कानूनी ब्यवस्थाको बारेमा जानकारी गराउदै नेपाल वार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापा मगरले दफा २९ मा ब्यबस्था गरिएको सरकारको निर्देशनमा काउन्सिल नियन्त्रणमा रहने भन्ने बिषय सबैभन्दा घातक भएको बताए । ‘यो पत्रकारले कम उठाएको विषय हो ,यो सबैभन्दा घातक हो’,उनले भने,‘ यो विधेयक जस्ताकोतस्तै पारित भए पत्रकारिताको लागि कालो दिनको सुरूवात हुनेछ ।’ काउन्सिलको गठन पद्धति र जरिवाना गलत भएको उनले बताए । यो विधेयकले संविधानमा ब्यबस्था गरिएको पुर्ण प्रेस स्वतन्त्रताको धज्जी उडाँएको उनको भनाई थियो । पत्रकार र संचार माध्यमलाई नियमन गर्ने काउन्सिलको दायित्व भएपनि अपराध नियन्त्रण गर्ने थलो जस्तो बनाउनु बिडम्बनापूर्ण भएको उनको जिकिर थियो ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा सबै नेपालीले त्याग र बलिदान दिएको स्मरण गर्दै नागरिकका हक अधिकारलाई कुण्ठित गर्ने गतिविधि सरकारले गर्न नहुने बताए । अहिलेको सरकारले संख्यामा हेरेर कतिले बिरोध गर्छ्न ,त्यही अनुसार चल्ने गरेको भन्दै त्यो प्रवृत्ति गलत भएको उनको भनाई थियो ।राज्य संविधानसंगत ,प्रजातान्त्रिक मूल्य र मान्यता र सामाजिक मर्यादामा रहनुपर्ने भएप नि अहिलेको सरकारले यी कुराहरूको वास्ता नगरेको उनले आरोप लगाए । प्रेसमाथि सरकारले गरेको व्यबहार गलत भएको भन्दै आफ्नो पार्टी प्रेस स्वतन्त्रताको पक्षमा रहेको केसीको भनाइ थियो ।
कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार बद्रीबिनोद प्रतिकले मिडिया काउन्सिल विधेयकका केही पक्ष राम्रो भएपनि प्रेसमाथी अंकुस लगाउने गरी जरिवाना र सरकारको निर्देशनमा चल्ने ब्यबस्था गलत भएको बताए । छलफलको क्रममा सामान्य जरिवानाको ब्यबस्था गरे पनि सरकारले पेस गर्दा धेरै अन्तर आएको उनले बताए । पत्रकारिताको नाममा छाडातन्त्र हावी भएको र त्यसलाइ न्यूनीकरण गर्न काउन्सिल आवश्यक रहे पनि केही बुँदामा सम्पुर्ण प्रेस जगतलाई नै अफ्ट्यारो पार्ने मनशाय राखिएकोले सबै मिलेर त्यसलाई संशोधन बिना पास हुन नदिन दवाव दिनुपर्ने उनले बताए । पत्रकार तथा मिडियाहरु कानूनी रुपमा बलियो बन्नु पर्ने र कसैको चरित्र हत्या गर्ने गरी समाचार सम्प्रेषण गर्न नहुने उनको विचार थियो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले पत्रकारमा भएका कमी कमजोरीलाई सुधार गर्नुपर्ने बताए । छुट्टै ग्रहबाट आएको जस्तो गरी पत्रकार हँुदैमा मनपरि गर्ने छुट नभएको उनले बताए । जेलनेल र चुनौती खेपेको कम्युनिस्ट नेताको सरकारले यस्तो विधेयक ल्याउनु दुर्भाग्यपूर्ण भएको उनको भनाई थियो । प्रतिपक्षमा बस्दा सबै राजनीतिक दलले प्रेसलाई साथ दिए पनि सत्तामा पुग्ने बित्तिकै निचोर्ने प्रवृत्तिले सत्ताधारीबाट नेपाली प्रेस जगत पीडित बनेको उनले बताए ।
कार्यक्रममा सहभागीले मिडियामा काउन्सिल विरुद्ध सबै एकजुट भएर लाग्नुपर्नेमा सहमति जनाएका बताएका । सरकारले प्रेसमाथि अंकुस लगाएर नागरिकको आवाज दबाउन खोजेको सहभागीहरुको भनाई थियो । विधेयक पास भएमा पत्रकारको टाउको मा काँचो धागोले बाँधेर तरवार झुन्डाए जस्तो स्थिति हुने वक्ताहरुको भनाइ थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीका कार्यबाहक अध्यक्ष बिमला भण्डारीको अध्यक्षता तथा सचिव रामप्रसाद तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।





