पोखरा, २२ जेठ – कास्कीको मादी गाउँपालिका–६, चिप्लीमा रहेको शिद्ध माविको खेलकुद मैदान निर्माण नै नगरी रकम बुझेको आरोपमा अख्तियारले २ इञ्जिनियरसहित ९ जनाबिरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार भ्रष्टाचार ठहरसहित विशेष अदालतमा मुद्धा दायर गरिएकाहरु हाल पोखरा महानगरपालिकामा रहेका इञ्जिनियर हरिबहादुर बस्नेत र त्यो बेला जिल्ला समन्वय समितिमा रहेका र हाल रुपा गाउँपालिकामा रहेका सब इञ्जिनियर ननुराम रहेका छन् । यसैगरी जिल्ला प्राविधिक कार्यालय कास्कीका प्रम्ुख जिल्ला इञ्जिनियर नारायणप्रसाद बराल, तत्कालीन मादी–८ का वडाध्यक्ष रामकृष्ण बास्तोला,हाल पोखरा महानगरपालिका कार्यालयमा कार्यरत तत्कालीन जिल्ला समन्वय समितिका लेखाअधिकृत झलकप्रसाद आचार्य,यसैगरी तत्कालीन जिल्ला समन्वय समितिका लेखापाल विष्णुप्रसाद बराल,चिल्ली खेल मैदान समितिका अध्यक्ष हर्क गुरुङ,सचिव तारामान गुरुङ र कोषाध्यक्ष गौसुवा गुरुङ रहेका छन् । उनीहरु सबैसँग १ लाख ८६ हजार २ सय ७४ रुपैयाँ नगद बिगो दावीसहित मुद्धा दायर गरिएको हो । कर्मचारीको हकमा अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा ९ को उपदफा १ र दफा ८ को उपदफा (१) देहाय ( ग ) र देहाय(ङ) बमोजिम सोही धाराको उपधारा एक बमोजिम कारबाहीको माग गरिएको छ भने निर्माण समितिको हकमा सोही धाराको उपधारा ४ द्धारा परिभाषित कसुरमा ऐनको उपधारा ४ अनुसारको कारबाही माग गरिएको छ ।
आरोप पत्रमा खेलकुद मैदान निर्माणको इस्टिमेट अनुसार काम नै नगरी फस्र्छौट भएको अख्तियारले जनाएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा सो ठाउँमा खेल मैदान निर्माणको काम गरिएको थियो । तर, निर्माण कार्यपछि सो काममा चिप्ली युवा क्लवका अध्यक्ष विशाल गुरुङसहितको मिलेमतोमा कामै नगरी बिल भरपाई मिलाइएको उजुरी अख्तियारमा परेको थियो ।अख्तियारका अनुसार चिप्ली खेलकुद मैदान निर्माणबारे अनुसन्धान हुँदा जिल्ला प्राविधिक कार्यालय, कास्कीबाट २०७५ भदौ १० मा पुनः मूल्यांकन गर्दा २ लाख १२ हजार ३ सय ६३ रुपैयाँको मात्र काम भएको दावी गरिए पनि त्यति खर्च नभएको दावी गरिएको छ । अख्तियारले जनश्रमदानको काम ५१ हजार ९ सय ९८ रुपैयाँ कटाएर मात्र ९८ हजार ९ रुपैयाँ मात्र खर्च भएको र बाँकी निर्माण कार्यमा खर्च भएको भन्दा १ लाख ८६ हजार २ सय ७४ रुपैयाँ बढी झुट्टा विल, भरपाई बनाएको अख्तियारको दाबी छ ।






