पोखरा,२४ जेठ – ‘नयाँ वर्षदेखि हातमा पैसा बोक्नु पर्दैन, खुद्रा पैसा लिएर हिँड्नु पर्दैन, सार्वजनिक सवारी साधनहरुमा ई–टिकेटिङ प्रणाली सुरु हुन्छ, मेसिन टच गराएपछि पैसा त्यहीबाट तिरिन्छ, भिडभाड कम हुन्छ, निश्चित स्थानमा स्टेशन राख्ने र यात्रुहरुलाई पनि सहज हुन्छ’ पोखरा महानगरपालिको यो स्मार्ट गफ लगाएको साढे २ महिनाभन्दा बढि भइसकेको छ ।गएको चैत ३ गते महानगरका मेयर मानबहादुर जिसीले हातमा यात्राकार्ड देखाउँदै वैशाखदेखि नै महानगरका सार्वजनिक सवारीहरुमा विद्युतीय भुक्तानी प्रणाली जडान गर्ने र यात्रुहरुलाई स्मार्ट यात्रा गराउने घोषणा समेत गरेका थिए । घोषणासँगै सोही दिन पोखरा महानगर, पोखराका बस व्यवसायी समितिहरु र काठमाडौंको एन क्लाउड कम्पनीबीच सम्झौता भएको थियो । सम्झौता अनुसार नयाँ वर्षदेखि नै महानगरका सार्वजनिक यातायातहरुमा ई–टिकेटिङ प्रणाली सुरु भईसक्नुपर्ने हो । तर, नयाँ वर्ष गयो, महानगरको योजना भने अलपत्रै परेको छ । हुन, त महानगरले घोषणा गरेका अन्य स्मार्ट योजनाहरु पनि अलपत्रै छन् ।यस विषयमा बुझ्न खोज्दा महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले भने, ‘काठमाण्डौको कम्पनीसँग समन्वय गर्ने भनेको हो, बिचमा एकपटक बैठक बसेर सञ्चालन गर्ने कुरा पनि भएको हो, तर अझै केहि समय चाहिँ लाग्छ ।’
उनका अनुसार उक्त प्रणाली सुरु गर्नुपूर्व चालक र सहचालकहरुलाई दिनुपर्ने एकदिने तालिम सकिएको छैन् । ‘तालिम सकिएको पनि छैन, तालिम नदिई पनि भएन’, उनले भने, ‘फुर्सद मिलाउनुप¥यो, तालिम लिनेहरुको समय व्यवस्थापन नहुँदा ढिलाई भएको हो ।’कार्ड प्रयोग गर्ने तालिम पनि कम्पनीले दिनेछ । जेठ महिनाभित्र सुरु नभएतापनि असार दोश्रो सातादेखि यो प्रणाली सुरुवात गर्न सकिने उनले बताए । महानगरले सुरु गर्न लागेको यो प्रविधि सञ्चालनमा आएपछि व्यवसायीबाट प्रत्येक यात्रुलाई विशेष प्रकारको यात्राकार्ड उपलब्ध गराईनेछ । यात्रुले बोकेको त्यही कार्ड गाडीका सहचालकले मेसिनमा ‘टच’ गराउनेछन् । लागेको भाडा कार्डबाट काटिनेछ । सुुरुमा नेपाल बैंक लिमिटेडले यसमा सहकार्य गर्ने भनेतापनि पछि बैंकले यसबाट हात झिकेको छ ।
महानगरका मेयर मानबहादुर जिसीका अनुसार, ‘अर्को बैंकसँग समन्वय’ गर्नुपरेका कारण पनि यो प्रणाली सञ्चालनमा ढिलाई भएको हो ।वैशाखमै ई–टिकेटिङ सुरु गर्ने घोषणा गरेका मेयर जिसीले चालु आर्थिक वर्षभित्रै यो प्रणाली सुरु गर्ने दाबी गरे ।
‘होमवर्क भईरहेको छ, यातायात समितिहरुसँग सम्झौता भएको कम्पीले समन्वय गरिरहेको छ’, उनले थपे, ‘बीचमा बैकले पनि हात झिक्यो अब ओम डेभलपमेन्टसँग समन्वय गर्ने भनेका छौँ, आर्थिक मामिलाको कुरा हो, हतारमा भन्दा पनि व्यवस्थित बनाएर अगाडि बढ्छौँ ।’सरकारले सवारी चाप बढि भएका काठमाण्डौ, पोखरा लगायतका क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने योजना ल्याएको छ । ‘विद्युतीय बस पनि आउने भनेको छ’ अब के हुन्छ हेरौँ, हामीले प्रक्रिया चाहिँ अगाडि बढाएका छौँ,’ जिसीले भने ।पोखरा महानगरभित्रका आठ वटा बस व्यवसायी समितिका आठ सय बसमा ई–टिकटिङ सुविधा उपलब्ध गराउने योजना महानगरको छ । सुरुमा यात्रुहरुले नगदै दिएर पनि यात्रा गर्न सक्ने छन् । उसो त, निश्चित समयसम्मको लागि छुट पनि दिइने जनाईएको छ ।
‘१० हजार वटा टिकटलाई निश्चित समयसम्म निःशुल्क सुविधा दिइनेछ, त्यसपछि भने यात्रुहरुले उक्त कार्ड खरिद गर्ने र सोबाटै भुक्तानी गर्न सक्नेछन्,’, उनले भने, ‘सार्वजनिक सवारीको यात्रालाई व्यवस्थित गर्न खोजिएको हो ।’यात्रुहरुले यो कार्ड १ सय ४० रुपैयाँसम्ममा खरिद गर्न सक्नेछन् । यात्रुले बोकेको विशेष प्रकारको कार्ड गाडीका सहयोगीले मेसिनमा ‘टच’ गराउने छन् । जिपिएस जोडिएकोले यात्रा गरेको ठाउँको रकम स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुनेछ ।टिकटिङ सिस्टम जडान र नियमित सञ्चालन गर्नका लागि कम्पनीले पोखराका प्रत्येक बसलाई २ हजार २ सय रुपैयाँका दरले खर्च लाग्नेछ ।





