बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अनुहारमा चाया-पोतो आउनुको कारण र यसको समाधान

अनुहारमा चाया-पोतो आउनुको कारण र यसको समाधान


  • कृष्ण कुमार सैजु
  • जेष्ठ २४ २०७६, शुक्रबार
एक २७ वर्षीया संगिता शर्मा एक गृहिणी हुन् । उनको बिहे भएको १ वर्ष पुग्न थाल्यो । करिब २ महिनाअगाडि उनको गालामा सामान्या कालो दाग देखियो । उनी समस्या समाधानको लागि घरनजिकैको ब्युटिपार्लरमा गइन् तर निको हुनुका साटो त्यो कालो दाग अझ गाढा बन्न पुग्यो ।यसको मतलब ब्युटीपार्लर जानै नहुने भने होइन, तालिम प्राप्त र दक्ष ब्युटिसियन को मा मात्र जानपर्छ्।

उनको मुहार नै कुरुप बन्यो । भरपर्दो चिकित्सकसँग सल्लाह नगरी जथाभावी अनुभवविहीन ब्युटिसियनहरुबाट कस्मेटिक प्रयोग गर्नाले अवस्था यस्तो हुन पुगेकोमा उनी पश्चात्ताप गर्छिन् । राम्रो जानकारी नहुँदा यसरी धेरै महिला चाया–पोतोबाट हैरान भएर उपचारका लागि भौंतारिरहेको पाइन्छ ।यो यस्तो समस्या हो, जसलाई उपचार गरेर रोकथाम गर्न सकिन्छ तर पूर्णरुपमा हटाउन सकिँदैन ।

के हो चाया–पोतो ?

सुन्दर र आकर्षक देखिने चाहना कसलाई नहोला र ? हामी सुन्दर रहन बजारमा पाइने अनेक थरी कस्मेटिक उत्पादनहरु प्रयोग गर्ने गर्छौं । तर थोरै मात्र सावधानी नअपनाए सुन्दर अनुहार कुरुप बन्न बेर लाग्दैन । अनुहारमा देखिने छालाको समस्यामध्ये कालोपोतो पनि एक हो ।

अनुहारमा आउने छायालाई चाया वा कालोपोतो भन्न सकिन्छ । यो हल्का वा गाढा पनि हुन्छ ।स्वास्थ्य बिज्ञान को  अनुसार चाया–पोतोलाई मेलाज्मा भनिन्छ । पहिला यसलाई प्रेग्नेन्सी मार्कस् भनेर चिनिन्थ्यो । किनकि विशेष गरी गर्भवती भएको बेलामा चाया–पोतो आउँछ भनिन्थ्यो अनि महिलाहरुलाई मात्र आउँछ भन्ने आमबुझाइ पनि थियो ।

तर महिला र पुरुष दुवैमा यो समस्या देखिन सक्छ । यो समस्या हुनेहरुलाई गाला, निधार, माथिल्लो ओठ, नाकमा समेत हल्का खैरो–कालो रंगका धब्बाहरु देखा पर्दछ । यो १५-४९ वर्ष समुहका महिला पुरुषमा देखिने समस्या हो । बेलैमा उपचार नगरे मुहार नै टाटेपाटे भई सौन्दर्यमा ह्रास आउँछ ।

धेरैजसो महिलामा देखिने चाया–पोतो दुवै गालाबाट शुरु भएर बटरफ्लाईको आकारमा वृद्धि हुँदै जान्छ । कहिलेकाहीँ यो नाक र आँखाको माथिल्लो भागमा समेत हुन्छ । आँखावरिपरि वा अनुहारमा कालोपोतो आउँदा सौन्दर्यलाई प्रत्यक्ष प्रभाव पार्छ । गोरो छालामा चाया–पोतो चाँडै नोटिस हुन्छ भने कालो छालामा त्यति देखिँदैन ।

किन आउँछ अनुहारमा चाया–पोतो ?

किशोरावस्थामा पुग्दा विशेष गरी केटीहरुलाई बढी नक्कल पार्न मन लाग्ने हुन्छ । सोझो अर्थमा भन्नुपर्दा राम्री हुन मन लाग्ने हुन्छ । अनि साथीहरुको लहै–लहैमा बजारमा पाइने विभिन्न सौन्दर्य प्रशाधनहरु लगाउनाले पछि त्यसले डण्डिफोर–दाग मात्र होइन, चाया–पोतोको जोखिम पनि बढाउने सम्भावना प्रवल हुन्छ्।

विज्ञापनमा विभिन्न कस्मेटिक उत्पादनको प्रयोग गरेर सुन्दर बनेको देखेपछि सोही गर्न खोज्ने चाहनाले पनि चाया–पोतोको समस्या आउन सक्छ । आफ्नो छाला कस्तो प्रकृतिको छ, त्यसमा ध्यान नराखी जे पायो त्यही प्रयोग गर्नाले छालामा नकारात्मक असर पर्छ ।

केमिकल प्रयोग गर्नु भनेको छालालाई बिगार्नु हो। छालाको हेरचाहमा सावधानी नपुय्राउदा यस्तो समस्या भएका व्यक्तिहरु बढिरहेका छन् । जानेर वा नजानेर विनासल्लाह सौन्दर्य प्रशाधनहरु प्रयोग गर्दा छालामा नकारात्मक परिवर्तन देखा पर्न सक्छ ।
छालामा हुने मेलामाइनको गडबडीले पनि यो समस्या हुन्छ ।

मेलामाइनले छालालाई प्राकृतिक रंग दिने काम गर्छ । यसमा गडबडी हुँदा छालाको प्राकृतिक रंगमा पनि गडबडी भई छाला नराम्रो देखिन्छ । चाया–पोतो आउनुको मुख्य कारण सूर्यको किरण नै हो ।सूर्यको परावैजनी किरणले छालाको विभिन्न समस्या निम्त्याउन सक्छ । यसले छालालाई नकारात्मक असर पुय्राउँछ ।

घामको किरणले मात्र होइन बत्तीको प्रकाश, कम्प्युटर, मोबाइलको प्रकाशले पनि यो समस्या देखा पर्न सक्छ । अरुको देखासिकी गरी जथाभावी जानेर वा नजानेर विभिन्न कस्मेटिक उत्पादन प्रयोग गर्नाले पनि यो समस्या देखिएको छ ।

पेट, गर्भाशय, मूत्रनली, कलेजोको स्वास्थ्य समस्या भएमा र अलि लामो समय बिरामी भएमा पनि अनुहारमा कालोपोतो देखिन सक्छ। एक प्रबुद्दको अनुसार पित्त बढेर रगत दूषित भई अनुहारमा कालोपोतो देखिन्छ । रक्तअल्पता, प्रदूषण, हर्मोनल गडबडी, महिनावारी गडबडी, पेटको समस्या, कस्मेटिकको अत्यधिक उपयोग, खानपिनमा असन्तुलन आदिले चाया–पोतोको समस्या निम्तिने उनी बताउँछन् । अपर्याप्त निद्राले पनि यो समस्या देखिने गरेको पाइन्छ ।

त्यसै गरी तनाव लिने बानी, पानी कम पिउने, बढी घाममा रहने, चर्को बत्तीको प्रकाश छालामा परिरहने व्यक्तिमा यस्तो समस्या देखिनसक्छ। जथाभावी सौन्दर्य प्रशाधनको प्रयोग, छालाको सरसफाइमा हेलचेक्र्याइँ, ब्लिच ह्वाइटनिङ (सेतो देखाउने) क्रिमको बढी प्रयोग गर्नेहरुमा पनि कालोपोतो आउने सम्भावना अत्यधिक हुन्छ ।

हाल वातावरणीय प्रदूषणका कारणसमेत चाया–पोतोकोे समस्या देखिने गरेको हुँदा त्यसबाट बच्नुपर्ने डा. यादवको सुझाव छ । कब्जियतको समस्या भएका, कुपोषण भएका र विशेषतः चिल्लो छाला भएका व्यक्तिमा कालोपोतो बढी देखिने गरेको पाइएको छ । यस्तै पिल्स चक्की सेवन गर्ने र हर्मोनयुक्त अन्य औषधि सेवन गर्नेहरुमा हर्मोन गडबडी हुने हुँदा छालामा असर परी कालोपोतो आउने गरेको पाइन्छ् । त्यसैले उपचार गर्दा बिरामीको अनुहारमा के कारणले त्यस्तो भएको हो भनी पत्ता लगाएर मात्र उपचारको बाटो पहिल्याउनुपर्छ । छालामा जटिल समस्या भएमा छालाको डाक्टरबाटै उचार गराउनुपर्ने हुन्छ् ।

के छ त उपचार ?

कालोपोतो अर्थात् चायाको बेलैमा उपचार गय्रो भने शतप्रतिशत निको हुन्छ । समस्या धेरै बल्झिएको छ भनेचाहिँ उपचार सफल हुन सक्दैन् । उनका अनुसार कतिपय चाया–पोतो उपचारले गएको छ तर सावधानी नअपनाउँदा फेरि बल्झिएको पनि छ । उपचारबाट पूर्णरुपमा निको हुने र फेरि आउँदै नआउने भन्ने धारणाचाहिँ गलत हो । यो समस्या हुनेहरुले केयर वा मेन्टेनेन्स नगरे त्यो फेरि आइछाड्छ ।

यसको उपचार विभिन्न पद्धतिले गर्न सकिन्छ । मुख्य कुरा भरपर्दो र विश्वसनीय हुनुप¥यो । यसको उपचार स्किन हस्पिटलका साथै अन्य हस्पिटल र क्लिनिकहरुमा पनि हुने गर्दछ । ब्युटिपार्लरमा पनि यसको उपचार हुने गरेको पाइन्छ । औषधिको प्रयोग, केमिकल पिलिङ र लेजर प्रविधिबाट पनि चाया–पोतोलाई हटाउन सकिने डा. सञ्जुबाबुको भनाइ छ ।

एनिमियाका कारण चाया–पोतो आएको छ भने आइरनयुक्त खानामा जोड दिनुपर्छ । हार्मोनको गडबडी छ भने हर्मोनल सप्लिमेन्ट्स प्रयोग गर्ने गर्नपर्छ ।कतिपयको महिनावारी सुकिसकेपछि चाया जान पनि सक्छ । पहिला अनुहारमा चाया थियो तर अहिले छैन भन्नेहरु पनि भेटिन्छ्।

फेसियल गर्नु प्रभावकारी उपाय

यदि ब्युटिपार्लरमा उपचार गराउने हो भने तालिमप्राप्त एवम् अनुभवी ब्युटिसियनद्वारा उपचार गराउनुपर्ने मेकओभर ब्युटिपार्लर, न्युरोडकी ब्युटिसियन सुनिता श्रेष्ठ बताउँछिन् । उनका अनुसार चाया–पोतो हटाउन फेसियल एकदमै प्रभावकारी हुन्छ । करिब ३ हप्ताको अन्तरालमा फेसियल गर्नुपर्छ । ८ देखि ९ पटकसम्म फेसियल गरेमा दाग पूरै निको हुनसक्छ्।

घाम बाट डढेर आएको निको पार्न सकिन्छ् तर बिरामी र औषधिको साइड इफेक्टका कारण आएको चाया–पोतोको उपचार गर्न गाह्रो हुन्छ ।’ फेसियल गरेको खर्च ब्युटिपार्लरअनुसार फरक–फरक हुने तर खासै महँगो भने परिदैन्।

हेयर स्टाइलिस्ट तथा मेकअप आर्टिस्ट नील डेबिडका अनुसार पछिल्लो समय पुरुषहरुले पनि आफ्नो सौन्दर्यप्रति चासो देखाउन थालेका छन् । चाया–पोतोको समस्या लिएर आउने महिला हुन् वा पुरुष सबैलाई फेसियल गरी उनीहरुको चाया–पोतो हटाउन गरेको बताउछिन्।

सनब्लकको प्रयोग अनिवार्य

 खासगरी चाया–पोतो जाडो महिनामा बढी देखा पर्ने गरेको छ । यो समयमा सनब्लक लगाउनुपर्दैन भन्ने आमबुझाइ छ । त्यसैले धेरैजसोले जाडोमा सनब्लक लगाउँदैनन् । सनब्लक नलगाउँदा छाला डढेर कालो हुन्छ अनि चाया–पोतो देखिन थाल्छ । जाडोमा झनै सनब्लक लगाउनुपर्ने हुन्छ । किनकि हामी घाम ताप्न निस्केका हुन्छौं । घाममा मस्तले सेकिएर बस्छौँ । छाला जलेको पत्तै हुँदैन ।

छालाको प्रकृति हेरेर सनब्लक छान्नुपर्छ । गहुँगोरो छाला भएकालाई १५–३० एसपीएफ (सन प्रोटेक्सन फ्याक्टर) को सनब्लक लगाउँदा उपयुक्त हुने उनको सुझाव छ । जति धेरै एसपीएफ नम्बर भयो उति नै घामबाट बचाउँछ । जति एसपीएफ बढी हुन्छ त्यति नै महँगो पनि हुन्छ । ३ देखि ४ घण्टाको अन्तरालमा सनब्लक लगाउनुपर्छ ।

बाहिर ननस्किए पनि वा घाम नै नलागेको दिन भए पनि सनब्लक क्रिम लगाउन जरुरी छ । गर्मी महिनामा कम्तीमा शीतल छहारीमा त बसेका हुन्छौँ । जाडोको बेला होस् वा गर्मीको बेला, अनि जहाँसुकै बसे पनि सनब्लक लगाउन अनिवार्य छ । यदि घामबाट नबच्ने हो भने चाया–पोतोको उपचार गर्नु भनेको बालुवामा पानी खन्याएजस्तै हो ।

फेसप्याक र फेसवासको प्रयोग

चाया–पोतो हटाउन घरमै विभिन्न प्रकारका फेसप्याक बनाएर लगाउन सकिन्छ । फेसप्याकले दाग, खटिरा, फोहोर र मृतछालासमेत हटाउन मद्दत मिल्छ । तर यसका लागि दक्ष ब्युटिसियनको सहयोग लिनुपर्ने हुन्छ । ब्युटिसियनको सल्लाहअनुसार तयारी फेसप्याक पनि किन्न सकिन्छ ।

फेसवास प्रयोग गरेर पनि चाया–पोतो हटाउन सकिन्छ् । दिनको दुईपटक फेसवास प्रयोग गर्नाले छालाको मृतकोशिका बिस्तारै हट्दै जान्छ । यसका लागि नीम बाट बनेको फेसवास प्रयोग गर्दा राम्रो हुन्छ। यस्तै मुसुरोको दाल, श्वेतचन्दन (श्रीखण्ड), रक्तचन्दन, कपुर, बेसार, मञ्जिष्ठाको मिश्रण गरेर घिउकुमारीको लेपमा मिलाई नियमित प्रयोग गर्नाले चाया–पोतो हट्दै जाने उनको दाबी छ । लेप लगातार १ देखि २ महिनासम्म लगाउँदा पूरै निको हुन्छ । शुद्ध तोरी, नरिवल, तिललगायतका तेलले अनुहारमा हल्का मालिस गर्दा पनि कालोपोतो आउने सम्भावना कम हुन्छ ।

घरेलु उपचार र बचावट

यदि सामान्य रुपले कालोपोतोको समस्या देखिएको हो भने यसलाई आफैंले घरेलु उपचार गरेर निको पार्न सकिन्छ । घिउकुमारीको गुदीलाई कालोपोतो–चाया देखिएको भागमा लगाउँदा लाभदायक हुन्छ । कसै–कसैलाई भने डन्डिफोरसँगै कालोपोतो देखिने समस्यासमेत रहने गरेको छ । यस्तो स्थितिमा भने मुलाको बीउको पेस्ट लगाउनु राम्रो हुन्छ भने सिमलको काँडा घोटेर लगाउँदा पनि डन्डिफोरसँगै कालोपोतोको समस्याबाट समाधान हुन्छ् ।

चाया–पोतो बाहिरी उपचारले मात्र नजाने भएकाले यसको लागि तनाव नलिन, सकेसम्म घामबाट बच्न, पानी धेरै पिउन सहयोगी हुन्छ्। त्यस्तै गरी ताजा फलफूल, सागसब्जी, सन्तुलित खानाका साथै व्यायाम र सकारात्मक सोचाइले पनि यो समस्या न्यून हुन्छ् ।

पूरा बाहुला भएको लुगा लगाउने, ह्याट वा क्याप लगाउने, मास्क लगाउने गर्दा पनि केही हदसम्म घामबाट बच्न सकिने हुन्छ । साथै घाममा हिँड्दा छाता ओढ्न बिर्सिनुहुँदैन । आजकाल घामबाट बच्ने किसिमको कपडा पनि पाइन्छ ।

अनुहारको छालाको चमक बढाउन केही घरेलु उपाए:

सौन्दर्य परमात्माको स्वरूप हो । सधैं केही श्रम गरिरहनु नै सौन्दर्य प्राप्तिको राम्रो उपाय हो । यसो भन्दैमा जतिबेला पनि बजारमा पाइने कस्मेटिक्स प्रोडक्ट प्रयोग गर्नु हुँदैन । अनुहारको छालाको चमक र यौवनलाई दीर्घकालीन रूपमा स्वस्थ एवं कान्तिमय बनाउन दिनहुँ पँच मिनेट समय दिनुपर्छ ।

मुसुरोको दाल: मुसुरोको दाललाई मोटो धूलो -सुख्खा पाउडरजस्तो) बनाई डब्बामा राख्ने, यही मुसुरोको दालको पाउडरले अनुहार धोए छाला गोरो एवं सफा देखिन्छ ।

काँक्रा: चिल्लो छाला हुनेहरूले काँक्राको रस पूरै अनुहारमा लगाई १० मिनेटसम्म राख्ने र चिसो पानीले अनुहार सफा गर्ने । छालामा अनावश्यक चिल्लो आएर हैरान भएकाहरूका लागि यसले एस्टि्रजेन्टको काम गर्नुका साथै छाला कसिलो हुन्छ ।

गोलभेंडा: अनुहारमा चिल्लो आएको तथा कालो दाग देखिएको छ भने टमाटरलाई लेदो बनाई पूरै अनुहारमा लगाउने, २० मिनेटपछि पानीले अनुहार सफा गरे चिल्लो छालालाई फाइदा हुनुका साथै दाग हटेर छाला सफा एवं सुन्दर देखिन्छ ।

बेसार: काँचो बेसारको मसिनो लेप दूधमा हाली पातलो घोल बनाएर नुहाउनुअघि सम्पूर्ण शरीरमा हल्का मालिस गर्ने । यो मालिसले केही दिनमै सम्पूर्ण शरीरको छालामा निखार आई छाला मुलायम, गोरो एवं बेदाग देखिन्छ ।

आलु: आँखा वरिपरि कालो घेरा छ भने आलुलाई कोरेसोमा कोर्ने र आँखामाथिबाट कोरेको आलु १५ मिनेटसम्म राखेर नियमित रूपमा सफा गरे कालो घेरा समाप्त हुन्छ ।

मह: महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ । छाला सुख्खा छ भने सधैं राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा फाइदा पुग्छ । महले छाला मुलायम एवं चम्किलो बनाउँछ ।

अण्डा: अण्डाको प्रयोगले अनुहारको कान्ति वृद्धि हुन्छ । छाला सुख्खा छ भने अण्डाको पहेंलो भागलाई साताको दुई पटक अनुहारमा लगाउने । छाला चिल्लो छ भने अण्डाको सेतो भाग लगाउने । सुख्खा छालामा पहेंलो भाग नियमित लगाए अनुहारको छाला कसिलो बनाउन हुन्छ ।

मेवा: मेवामा पाइने एन्जाइमले छालाको मृतकोष हटाई नयाँ कोष उत्पन्न गर्छ र छाला मुलायम हुन्छ । मेवाको लेप लगातार केही महिना लगाउने हो भने छालाको सबै दाग हराउँछ ।

कागती: अनुहारको छालाको सौन्दर्य वृद्धिमा कागतीको महत्वपूर्ण भूमिका हुुन्छ । कागतीको रस दिनहुँ चिल्लो छालामा लगाइयो भने छाला सफा, गोरो एवं बेदाग हुन्छ । छाला सुख्खा छ भने कागतीको रसमा थोरै तर मिसाई अनुहारमा लगाउनुपर्छ । यसो गर्दा छालाको फोहोर निस्कनुका साथै छाला नरम एवं मुलायम हुन्छ । कागतीमा प्राकृतिक ब्लिच भएका कारण यसको प्रयोग दिनहुँ गरे छाला गोरो एवं सफा देखिन्छ ।

दही: दही छाला र केश दुवैका लागि अत्यन्त लाभकारी छ । सुख्खा, सामान्य र तैलीय छालाका लागि दही गुणकारी मानिन्छ । दुई चम्चा दहीमा थोरै मात्रामा बेसन मिसाएर अनुहारमा लगाई २० मिनेटपछि सफा गरे सुख्खा र सामान्य छाला सधैं चम्किलो देखिन्छ । छाला चिल्लो छ भने दुई चम्चा दही लिने र त्यसमा एक चुटकी बेसार र एक चम्चा गहुँको चोकर मिसाई लेदो बनाएर पूरा अनुहारमा लगाउने र सुकेपछि चिसो पानीले अनुहार धुने, छाला गोरो, बेदाग र चम्किलो देखिन्छ ।

केरा: सुख्खा छालामा केरालाई दूधमा मिसाई बनाइएको लेप लगाउने र २० मिनेटपछि सफा गर्ने । यो उपाय केही महिना नियमित अवलम्वन गरे छालामा एक प्रकारको चमक आउँछ र छाला छिट्टै चाउरी पर्दैन ।

तुलसीको पात: तुलसीका पातलाई कागतीको रसमा मिसाएर मसिनो पेस्ट बनाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा छालामा भएको दाग एवं चाउरी समाप्त हुन्छ ।

बदाम: बेलुका आधा कप दूधमा दुई-तीन दाना बदाम भिजाएर राख्ने र बिहान मसिनो पेस्ट बनाई सुख्खा छाला भएकाहरूले पूरा अनुहारमा लगाई २० मिनेटपछि सफा गर्ने । यो लेप सुख्खा छालाका लागि अत्यन्तै गुणकारी मानिन्छ । यसबाट छाला मुलायम एवं चम्किलो देखिन्छ भने छाला चाउरी पर्नबाट पनि जोगिन्छ ।

चना: चनाको बेसनमा दूध मिसाई लेप बनाएर अनुहार धुनुपर्छ । यो उपाय अपनाउँदा अनुहारको छालाको सौन्दर्य वृद्धि हुन्छ ।

जौ: जौको पीठो दूधमा मिसाएर लेप बनाई अनुहारमा लगाएर १०-१५ मिनेटपछि सफा गर्दा चायाँ वा पोतो पूर्णरूपमा हटेर जान्छ अनि छाला कसिलो, मुलायम एवं चम्किलो देखिन्छ ।

ग्रिन टी: सर्वबिधितै छ ग्रिन टी सर्बोत्कृष्ट पेय पदार्थ हो ।जस्मा भएको एन्टिअक्सिडेनट, एन्टि एजिंग प्रर्पटिज फ्रि रेडिकल प्रोटेक्ट तथा म्यगनेसियम जस्ता तत्व हरूको कारण मानव सरिर, मष्तिष्क र सारिरीक संरचना लाई मजबुत बनाउनु का साथै छाला नियमित सेवन ले छालाको लचकता र सुन्दरता को पनि बिकास गर्छ।जथाभावी ग्रिन टी सेवन देखी सावधान । नकारात्मक प्रभाव पनि देखिन सक्छ।बिषेशज्ञ को साल्लाहा लियर मात्र प्रयोग गर्नुहोला ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->