पोखरा,२६ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका सबै संरचनामा संघीयता प्रणाली लागु भएपनि न्यायिक क्षेत्रमा लागू हुन नसक्नु दुःखद भएको बताए । ‘सबै संघसस्था संघीय प्रणालीमा गैसके ,तर न्यायीक क्षेत्र एकात्मक प्रणालीमा नै छ’, गुरुङले भने ,‘संघीयताको मर्म अनुसार ब्यबस्थापन गर्नुको विकल्प छैन ।’ उनी पोखरा महानगरपालिका न्यायिक समितिले आइतबारदेखि सुरु गरेको ४८ घण्टे मेलमिलाप समन्धि आधारभुत तालिमको उद्घघाटन कार्यक्रममा बोल्दै थिए ।
मुख्यमन्त्री गुरुङले स्थानीय तहमा न्यायीक समितिलाई प्रारम्भिक अदालत सरहको मान्यता दिनुपर्ने धारणा व्यक्त गरे । ‘जनतालाई सेवा प्रदान गर्ने सवैभन्दा नजिकको स्थानीय सरकार हो ,विकास निर्माण ,कानुनी सेवा लगायतका महत्वपूर्ण सेवा प्रदानको लागि स्थानीय सरकारलाई अधिकार सम्पन्न गराउनु पर्छ’,उनले भने । स्थानीय सरकारमार्फत जनताले संघियताको प्रत्याभूत गर्ने गरी संघीय सरकारले प्रयाप्त बजेट दिनुपर्ने उनले बताए ।
नेपालको न्याय प्रणाली महँगो भएको कारण सर्वसाधारणको पहुँच पुग्न नसकेको अवस्थामा स्थानीय तहमा न्यायिक समितिले छिटो ,छरितो ,सरल र सुलभ तवरले नागरिकको समस्यालाई समाधान गर्नु पर्नेमा गुरुङले जोड दिए ।
संघीय शासन प्रणाली सरकार सञ्चालनको लागि महँगो भएपनि जनताको लागि सस्तो प्रणाली भएकोले सस्तो प्रणालीको प्रत्याभूत हुने गरि अघि बढ्नुको विकल्प नभएको उनले बताए । न्यायको सिद्धान्त ‘सबैलाई न्याय’ भन्य मान्यतालाई ध्यान दिएर मेलमिलापकर्ताले काम गर्नुपर्नेमा गुरुङले जोड दिए। न्याय सम्पादन गर्दा कसैप्रति झुकाव नराखेर उचित मूल्यांकन गर्न सके न्यायीक समितिको गरीमा बढ्ने र नागरिकले बिश्वास गर्ने उनले बताए ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले सर्वसाधारण जनता न्यायलयको पहुँच बाहिर रहेको अवस्थामा स्थानीय स्तरमा मेलमिलापकर्ताको महत्वपूर्ण भुमिका हुने बताए । समाजमा समाधान गर्न सकिने झैझगडालाई मेलमिलापकर्ताले दुबै पक्षको चित्त बुझ्ने गरि समाधान गर्न सकेमा मुद्दा,मामिलाको अनावश्यक झन्झटको अन्त्य हुने उनले विस्वास गरे ।न्यायमा सत्यको जीत जरुरी रहेको भन्दै कसैप्रति झुकाब नराखी सत्यको पक्ष लिनुपर्ने धारणा उनको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपमेयर तथा न्यायीक समिति संयोजक तथा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले मेलमिलापमार्फत विवादको प्रभावकारी निवारण गर्ने उदेश्यले तालिमको आयोजना गरेको बताइन । मेलमिलाप नै द्वन्द समाधानको महत्वपूर्ण पक्ष भएको उनको भनाई थियो । महानगरको १० वटा वडाहरुमा मेलमिलाप केन्द्रको स्थापना गरेको र बाँकी वडामा केन्द्र स्थापनाको लागि तालीम सुरु गरेको उनले बताइन । ८ दिनसम्म चल्ने तालिममा मेलमिलापकर्ताहरु हरिप्रसाद पण्डित ,यज्ञप्रसाद अधिकारी ,सोम श्रेष्ठ ,कल्पना भन्डारी लगायतका सहजकर्ताले सहजीकरण गर्ने छन । तालिममा बिवाद र द्वन्दको अवधारणा ,समाधानका उपाय ,बिवाद समाधानमा मेलमिलाप पद्दतिको प्रयोग ,कानूनी ब्यवस्था ,वार्ताका आधारभूत नियमहरु ,मेलमिलापमा सुनुवाई र प्रश्न गर्ने कलाको सीप,मेलमिलापका चरणहरुको बारेमा जानकारी र सहजीकरण गरिने प्रमुख सहजकर्ता हरिप्रसाद पण्डितले जानकारी दिए । प्रयोगात्मक अभ्याससहित मेलमिलाप समन्धि आधारभूत तालिम पाठ्यक्रममा रहेर तालिम सञ्चालन हुने पण्डितले जानकारी दिए ।





