बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अब पोखरेलीको धारामै मिनिरल वाटर !

अब पोखरेलीको धारामै मिनिरल वाटर !


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०७६, मंगलबार

पोखरा, २८ जेठ – आउँदो तीन वर्षभित्र पोखरेलीले धारामा आएको पानी धक नै नमानी घुटुघुटु पिउन पाउने भएका छन् । जापानी सहयोग नियोग( जाइका) को सहयोगमा पोखराको खानेपानी आयोजना शुद्धिकरण परियोजना सुरु भएपछि पोखरेलीको शुद्ध खानेपानी सपना पूरा हुने भएको हो ।
जाइकाले यो परियोजनाको लागि जाइकाले ४ अर्ब ८१ करोड ३० लाख यान अर्थात करिब ४ अर्ब ९२ करोड ९ लाख नेपाली रुपैयाँ बराबरको अनुदान दिएको हो । परियोजनाको मंगलबार खानेपानी मन्त्री बिना मगरले शिलान्यास गरिन् । परियोजना निर्माणको जिम्मा हाजमा एन्दो कर्पोरेसनले पाएको छ । स्न २०२२ सम्म योप परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
परियोजना सम्पन्न हुँदा पोखरेलीको धारामा आउने पानी विश्व स्वास्थ्य संगठन ( डब्लुटिओ) को मापडण्ड अनुसारको प्रशोधित मिनिरल वाटर जस्तै हुनेछ । खानेपानी शुद्ध गर्नको लागि जिवाणु मार्न औषधी हाल्ने,थिग्रयाउने लगायतका सबै तरिकाहरु अवलम्बन गरिने छ । त्यसका लागि रिजर्रभ्यायर ( पानी संकलन ट्याङ्की ) निर्माण, मुख्य पाइपलाइनसहित वितरण लाइनसम्मको ५६ किलोमिटर लामो पाइपलाइन बिस्तार हुनेछ । यस अघि जापानी सहयोगबाटै मर्दीबाट विन्ध्यवासिनीसम्मको ११ किलोमिटर लामो पाइपलाइन बिस्तार भएको थियो ।
पानी शुद्धिकरणको लागि पुरञ्चौरमा प्लाण्ट निर्माण गरिँदै छ । त्यहाँ दैनिक ४ करोड १ लाख लिटर पानी छान्ने फिल्टर,सफा पानी जम्मा गर्ने ट्याङ्की र क्लोरिनेसन प्लान्ट पनि रहने छ । परियोजना अन्तर्गत क्लोरिन हालेर शुद्धिकरण गरिएको पानी बितरणका निम्ति पोखराको फूलवारी, पस्र्याङ र वडा नम्बर १५ मा पर्ने कोलपाटनमा रिर्जरभ्वायर ( पानी जम्मा हुने ) ट्याङ्की समेत बनाइने छ । यसैगरी १ सय १३ किलोमिटर लामो पाइपलाइन बिस्तार पनि परियोजनामा समेटिउको छ ।
खानेपानी संस्थानका महाप्रबन्धक भुपेन्द्रकुमारका अनुसार परियोजना निर्माणपछि पोखरेलीको धारामा २४ सै घण्टा पानी आउनेछ । अहिले पोखराको २१ प्रतिशत क्षेत्रमा हप्तामा सबै दिन,५६ प्रतिशत क्षेत्रमा हप्ताको ३–४ दिन र २३ प्रतिशत क्षेत्रमा हप्ताको एक दिन मात्र पानी बितरण हुँदै आएको छ । बितरण हुने पानी सोझै खोलाबाट ल्याइएको हो । बस्तीको तलबाट ल्याइएको पानी फोहर छ भने मुहान क्षेत्रमा लास पनि जलाइन्छ ।
परियोजनाले पोखराका १९ वटा वडाका करिब ४ लाख जनता लाभान्वित हुने खानेपानी संस्थानको अनुमान छ । अहिले पोखरादेखि ११ किलोमिटर उत्तरतिर रहेको मर्दी खोलाबाट ल्याइएको पानी सोझै पोखरेलीको धारामा पुग्ने गरेको छ । खानेपानी संस्थान पोखराले यहाँको विन्ध्यवासिनीमा रहेको पानी संकलन केन्द्रमा क्लोरिन हालेर पानी शुद्धिकरणको औपचारिकता पूरा गर्ने गरेको छ ।
पानी शुद्धिकरणको यो सामान्य प्रक्रियाले बर्षायाममा धारामा धमिलो र लेदो मिसिएको पानी आउने समस्या समाधान हुन सक्दैन । अहिले पोखरामा मर्दीखोलाबाट दैनिक ३ करोड लिटर, पोखराको पुरानो पानी आपूर्तिस्थल बालधाराबाट ४ लाख लिटर, भोटीखोलाबाट साढे २ लाख लिटर पानी आपूर्ति हुँदै आएको छ । यादवका अनुसार अहिले पोखरामा दैनिक साढे ४ करोेड लिटर पानीको माग छ । ४ करोड लिटर पानी दैनिक आपूर्ति हुँदै आए पनि खानेपानी लाइनको बिस्तार हुन नसक्दा त्यो पानी विन्ध्यवासिनीमा रहेको ट्याङ्कीबाटै खेर जाने गरेको छ । अहिले पोखरामा दैनिक करीब साढे ३ करोड लिटर पानी बितरण हुँदै आएको छ । मर्दीबाट चार भागको एक भाग मात्र पानी पोखरा ल्याइएकोले पोखरालाई पानीको स्रोतको भने अभाव छैन ।
पोखरामा १९७७ सालदेखि नै योजनावद्ध रुपले खानेपानी बितरणको थालनी भएको हो । पोखराका बडाहाकिम बवर समसेरले बाल्यकालमै बितेका आफ्ना छोरा बालसमसेरको सम्झनामा सराङकोटको पुछारमा रहेको मुलको पानी पोखराको विभिन्न ठाउँमा बितरण गरेका थिए ।
पोखरामा आधुनिक रुपले खानेपानी परियोजना भने २०४४ सालमा मर्दीबाट १६ इञ्चको पाइमा पानी ल्याएर सुरु भएको हो । जाइकाकै १३ करोड ५० लाखको सहयोगमा २०६८ सालमा १६ इञ्चको सट्टामा २० इञ्चको पाइप हाली विन्ध्यवासिनीसम्म पानी ल्याए पनि बितरण पाइप नहुँदा अहिले पनि पानी खेर गई रहेको छ । खानेपानी संस्थानले अब विन्ध्यवासिनीदेखि जिरोकिलोमिटर हुँदै अमरसिँहचोकसम्म २० इञ्चको पाइप लाइन बिस्तार गर्ने, त्यहाँबाट अन्य ठाउँहरुमा आवश्यकता हेरी १० इञ्च र ६ इञ्चको पाइपलाइन बिस्तार गरी पानी आपूर्ति गर्ने योजना बनाएको छ । बिस्तारित पोखरा उपमहानगरपालिकाको क्षेत्रफल २२५.६९ वर्गकिलोमिटर छ भने सन् २०११ को केन्द्रीय तथ्याङ्क विभागको जनगणना अनुरुप ३,१३,८४१ जनसंख्या एवं ८२,२७६ घरधुरी रहेका छन् ।
परियोजना उद्घाटन कार्यक्रममा बोल्दै खानेपानी मन्त्री बिना मगरले परियोजना समयमै सम्पन्न हुने दावी गरिन् । उनले संविधानले नै शुद्ध खानेपानीलाई मौलिक हकमा राखेको उल्लेख गर्दै उनले सबै जनतालाई शुद्ध पानी खुवाउने सरकारको लक्ष्य रहेको बताइन् ।

नेपालका लागि जापानका राजदूत मासामिची साइगोले शुद्ध खानेपानी खुवाउने जापानी नरेशको इच्छा अनुसार नै यो परियोजनामा सहयोग गरिएको बताए । गण्डकी प्रदेश सरकारका भौतिक योजनामन्त्री रामशरण बस्नेतले परियोजनाा सम्पन्न गर्न प्रदेश सरकारले सघाउने वचन दिए । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले खानेपानी परियोजना महानगरलाई हस्तान्तरण गर्न माग गरे । कार्यक्रममा जाइकाकी नेपाल प्रतिनिधि युमिको आशाकुमा, प्रदेशसभा सदस्यहरु कृष्ण थापा र रामजी बराल, नेपाली कांग्रेस कास्कीका सभापनि कृष्ण केसी, राप्रपाका अध्यक्ष डा. महेन्द्रबहादुर कार्की, संघीय समाजवादी पार्टीका कास्की अध्यक्ष गिरिप्रसाद गुरुङ, नेपाल खानेपानी संस्थानका अध्यक्ष जिउलाल चौधरीलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->