बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विप्लवका कार्यकर्ता छोड्न अदालतको आदेश,

विप्लवका कार्यकर्ता छोड्न अदालतको आदेश,

प्रहरी भने अदालतबाहिर कुर्दै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०७६, बिहिबार

पोखरा, ३१ जेठ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ९ जना कार्यकर्तालाई छाड्न उच्च अदालत पोखराले आदेश दिएको छ । गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका ११, उरीबाट पक्राउ परेका १८ जनामध्ये ९ जनालाई राज्य विरुद्धको कसुरमा थप अनुसन्धानको लागि जिल्ला अदालतले म्याद थप गरेका थियो ।
तर, गैह्रकानूनी तरिकाले पक्राउ गरिएको भन्दै पक्राउ पर्नेमध्येका जंगबहादुर भण्डारी (आक्रोश) को तर्फबाट पृथ्वीराज भण्डारीले गत सोमबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
रिटमाथि मंगलबार प्रारम्भिक सुनुवाई पश्चात न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलाशले बन्दिसहित जेठ ३० गते बिहिबार उपस्थित गराउन आदेश दिएको थियो । ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम बन्दिप्रत्यक्षीकरणको आदेश किन जारी गर्नु नपर्ने हो ? जारी गर्नु नपर्ने कानुनसम्मत आधार र कारण भए सो समेत खुलाइ यो आदेशसहितको सूचना प्राप्त भएपछि जेठ ३० गते बिहान ११ बजेभित्र बन्दिसहित उच्च सरकारी वकिल कार्यालयमार्फत् लिखित जवाफ लिई उपस्थित हुनु,’ आदेशमा उल्लेख गरिएको थियो ।
सोही आदेशअनुसार बिहिबार उच्च अदालतमा उक्त रिटमाथि तेजबहादुर कार्की र सुभाष पौडेलको ईजलाशले उनीहरुलाई छाड्न आदेश दिएको हो । बिहिबार निवेदक तर्फबाट रोहितराज बास्तोला, नारायणप्रसाद पौडेल, सन्तोष कोईराला, मिना रानाभाट, हिमलाल पराजुली र डिल्लीराम अधिकारीले निवेदकको पक्षमा र नरेन्द्र बहादुर चन्दले बहस गरेका थिए । बहसपछि आदेश जारी गर्दै अदालतले तुरुन्तै थुनामुक्त गर्न आदेश दिएको हो ।
“निवेदनसाथ पेश गरेका निवेदकहरुको नाउँमा हिरासतमा राख्ने थुनुवा पुर्जीको व्योहोराबाट त्यस्तो आरोप के आधारमा लगाईएको भन्ने पाईएन र मुलुकी फौजदारी संहिता २०७४ को दफा १३ (२) को कानूनी व्यवस्था र दफा १० बमोजिमको कुरा उल्लेख गरि थुनुवा पुर्जी दिएको अवस्था पनि देखिएन । अतः निवेदकहरुलाई प्रहरी हिरासतमा राख्ने र म्याद थप गर्ने न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नदेखिएको आधार र कारणबाट निज निवेदकहरुलाई यसरी प्रहरी हिरासतमा राख्ने कार्य गैरकानूनी देखिँदा जंगबहादुर भण्डारी, प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मिलन राईलाई उच्च अदालत नियमावली २०७३ को नियम ३९ (ग) बमोजिम थुनामुक्त गर्नु भनि बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ ।” आदेशमा भनिएको छ ।
उनीहरुलाई उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाको रोहवरमा बिहिबार नै थुनामुक्त गर्न अदालतले आदेश दिएको हो ।
अदालतको बाह्य र भित्री परिसरमा नै प्रहरी
उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएतापनि पक्राउ पर्ने डरले उनीहरुलाई अदालत परिसर भित्रको बार एसोसियसनको भवनमा राखिएको छ । उनीहरु अदालत बाहिर निस्कन पनि मानेका छैनन् ।
अदालतले फैसला नगर्दै अदालत परिसरभित्र दर्जनौँ सिभिल प्रहरी र अदालतको गेट बाहिर भ्यानसहित अन्य प्रहरीपनि तैनाथ रहेका छन् ।
अदालतले आदेश जारी गरेतापनि प्रहरीले फसाउन खोजको आरोप उनीहरुले लगाएका छन् ।
यता, प्रहरीले भने, डयुटी परेकोले मात्रै प्रहरीहरु देखिएको जनाएको छ । बैदाम प्रहरी कार्यालयका डिएसपी कोमल शाहले संक्षिप्त कुराकानीमा भने, “हाम्रो ड्युटी हो ।”
तर, प्रहरी स्रोतकै अनुसार प्रहरीले फेरि उनीहरुलाई पक्राउ गर्नकै लागि अदालत परिसरमा प्रहरी खटाईएको हो ।
पक्राउ परेकामध्येका बाँकी ९ जनाको हकमा सार्वजनिक मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप भएको छ । वसन्त अर्याल, देवी गुरुङ, बलराम परियार, प्रतिमा भण्डारी, सुनिता परियार, प्रमोद सिंह, दीपेन्द्र बुढा, रविन पौडेल र दीपेन्द्र परियारलाई सार्वजनिक मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तस्बिर पनि छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->