बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लट्टेको सागको बजारीकरण गरिँदै

लट्टेको सागको बजारीकरण गरिँदै


  • Dhorpatan News
  • असार ५ २०७६, बिहिबार

पोखरा, ५ असार – मान्छेले विष र ओखती कसरी छुट्याए होलान् ?
प्रश्नको उत्तर खोजौँ न ! हिमालतिर विष र निरमसीको सँगै जोडिएर उम्रन्छन् रे । धर्ती उही, पातको रङ,रुप, र जरा पनि दुरुस्तै । फूल दुबैको पहेँलो । चिन्नै मुस्किल ! तर,रैथानेहरुले विषवृक्षको हैन, निरमसीकै जरा मात्र उखेल्छन् । उनीहरु निरमसी टिप्न रात रोज्छन् । निरमसी र विसालु बुटो दुबैको फूल पहेँलो भए पनि उजेली रातामा विसालु बुटोको फूल बढी चहकिलो हुन्छ रे ! रैथानेहरु होसपूर्वक चम्किलो हैन, गाढा निरमसीको जरा समात्छन् र ओखती बनाउँछन् । हिमाली भेगमा डाक्टर हुँदैनन्, रोग लाग्दा आम्ची नै देउता बन्छन् । आम्चीहरु हिउँ पग्लेका बेला खर्कतिर जान्छन्, ओखतीजति जम्मा गर्छन् र विषालु झारहरु छाडिदिन्छन् । हो, निरमसी चिन्ने पनि उनै आम्चीले हो । ठूला किताबका ठेली छिचोलेर आम्ची बनिँदैन । आम्ची बन्न बूढापाकाको पाइला पच्छ्याउँदै लेक चढ्नैपर्छ, बूढापाकाको निगरानीमा प्रयोगात्मक अभ्यास गर्नैपर्छ । यो त उदाहरण मात्र हो । अहिले हामीले दैनिक प्रयोग गर्ने धेरैजसो खाद्यान्नको पुस्तौँपुस्ताको यस्तै प्रयोगात्मक अनुसन्धानको उपज हो । जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड’ भन्ने उखान त्यसै जन्मिएको पनि हैन । अनुसन्धान त अहिले पनि भइरहेको छ । र, यस्तै अनुसन्धानपछि पहाडदेखि तराईसम्मका बारी र करेसामा पाइने एउटा झार पौष्टिकताको खानी भएको प्रमाणित भएको छ ।
र, त्यो हो लट्टेको साग ।
अँ, कुरा लट्टेकै ! लट्टे खासमा मिल्किएको झार हो । पहाडदेखि तराईका खेतबारीमा यो झार पाइन्छ । चैत÷वैशाखको खडेरीमा अरु झार सुक्न थाल्दा बारीका कुनामा लट्टे उम्रन थाल्छ । केही रैथाने जातिले यसको मुन्टा चुँडेर खाने गरे पनि अधिकांश ठाउँमा यो झारलाई मिल्काइन्छ । खेति खान आएको झाडीको भन्दै उखेलर फालिन्छ पनि ! तर, पछिल्लो समयमा यो झार ‘साग’ बनेर पोखराको बजारमा झर्न थालेको छ । रायोको साग नपाइने बेलामा लट्टेले पोखरेलीको भान्छामा प्रवेश पाएको छ ।
पोखराको खानपान संस्कृति अनौठो पनि छ । यहाँका लेकसाइडका भान्छामा संसारभरका खाना पाक्छ । काठमाण्डौको जस्तो रैथाने नेवारी परिकार,पाल्पाको चुकौनीजस्तो आफ्नै मौलिक खाना छैन भन्दा नि हुन्छ , पोखराको । तर, यहाँका मान्छेको मुख मीठो छ । पहाडबाट समथर ठाउँमा झरेकाहरुले यो उपत्यकामा हिमाल र लेकमा पाइने खानाको ‘फ्युजन’ भने मज्जाले गर्छन् । लेकमा पाइने टुसा र खोलसागपछि अहिले लट्टेसाग धेरैको रोजाईमा परेको छ ।
हो, यही लट्टेसाग पौष्टिक छ भनेर चिनाउने र बजारीकरण गर्ने काम भने नेपालमा जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल –लि–बर्ड ) नामक संस्थाले गरेको हो । खासमा लट्टे नेपालको पुरानो खाद्यान्न हो । ठाउँहेरी यसको नाम पनि फरक–फरक छ । कर्णालतिर यसलाई मार्से भनिन्छ । सो क्षेत्रमा सदियौँदेखि लट्टेको दानालाई भुटेर मह वा घिउमा राखेर खाने चलन छ ।
‘त्यहाँ उत्पादित लट्टेको दाना भारततिर निकासी हुने गरेको पाइएको छ तर यति नै भन्ने आँकडा भने छैन’,लट्टेको साग अनुसन्धानमा जुटेकी लि–बर्डकी अन्वेषक रिता गुरुङले नेपालखवरसँग भनिन्,‘ तराईमा यसलाई रामदान र पहाडी भेगमा यसलाई लट्टे भनिन्छ ।’ उनका अनुसार लट्टेलाई सुदूरपश्चिमतिर चौलाई भन्ने गरिन्छ । ठाउँ हेरेर लट्टेलाई खाने तरिका पनि फरक रहेको उनले सुनाइन् । सागको रुपमा पहाडी क्षेत्रका रैथानेहरुले प्रयोग गर्ने गरे पनि धेरै ठाउँमा भने यसलाई झारकै रुपमा फाल्ने गरिएको उनको अनुभव छ । लट्टे तराईका फाँटदेखि ३५ सय मिटर अग्लो पहाडी भागमा समेत सजिलै पाइन्छ ।
खासमा यो अपहेलित बाली नै हो । मासुमा भन्दा बढी पोषण पाइने र अरु सागभन्दा पोसिलो भए पनि यसको व्यावसायिक खेति नहुनमा चाहिँ चेतनाकै कमी रहेको उनले औंल्याइन् । गुरुङका अनुसार खनिज तत्व (फलाम, क्याल्सियम, म्याग्नेसियम) पाइनु यो सागको विशेषता हो । अझ अरु हरियो साग नपाइने सिजनमा पाइने भएकोले पनि यसको ठूलो महत्व रहेको छ ।
‘यही बुझेर करिब ३ वर्ष पहिले हामीले लट्टे सागको अनुसन्धान थाल्यौँ, दोलखामा बिउ नै उत्पादन ग¥यौँ र ‘रामेछाप हरियो लट्टे’ नाम दिएर यसको पंजिकरण ग¥यौँ’, लि–बर्डकी अनुसन्धानकर्ता गुरुङले भनिन्,‘ हामीले बिउ पनि बाँड्न सुरु गरेका छौँ तर पोखराको बजारमा देखिएको भने गाउँपाखामा आफै उमारेको हुनुपर्छ ।’
लट्टे सागको व्यावसायिक उत्पादन तथा बजारीकरणको लागि राष्ट्रिय बिउ बैंक र पहाडी बाली अनुसन्धान कार्यक्रमले पनि सघाएका छन् । लि–बर्डले पोखराका किसानहरुसँग मिलेर पनि यसको अनुसन्धान गरेको छ । साग खाने र दाना खाने लट्टेका प्रजातिहरु फरक हुन्छन् । लट्टेको फूलको स्वरुप हेरेर यसको बर्गिकरण गरिएको छ । साग खाने लट्टेको दाना कालो हुन्छ भने तोरीको जस्तो दाना फल्ने लट्टे रंगीचंगी हुन्छ । अहिले लि–बर्डले पंजिकरण गरेको रामेछाप हरियो लट्टे भने सागको रुपमा नै प्रयोग गरिन्छ । अनुवंशिक श्रोत केन्द्र ( जिन बैंक) का अनुसार खाँदा मीठो र पोषण बढी भएकाले सुत्केरी महिलाको लागि समेत लट्टेको साग सबैभन्दा राम्रो हुने गर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->