पोखरा, ५ असार – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट पारित भएसँगै सरकार पुनर्गठन हुनसक्ने संकेत गरेका छन् ।
उनले मन्त्रिमण्डल फेरबदलको अधिकार प्रधानमन्त्रीको कार्यक्षेत्र भएपनि पार्टी अध्यक्षको रुपमा प्रधानमन्त्री र आफूबीच छलफल भइरहेको जनाउँदै उनले बजेट पारित भएपछि सरकारमा फेरबलद हुनसक्ने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्ड बिहीबार बिहान पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थिए । सरकारका केही मन्त्रीहरुको क्रियाकलाप्रति असन्तुष्ट रहेका प्रचण्डले मन्त्रालय हेरफेर हुँदा को रहन्छन् र को बाहिरिन्छन् भन्नेबारे भने केही बताएनन् । उनले वर्तमान सरकार पाँचवर्षे सरकार नै भएको दोहो¥याउँदै आफूले सरकारको नेतृत्व परिवर्तन हुनपर्छ भने अभिव्यक्ति नदिएको जिकिर पनि गरे । उनले आफूले बोलेका कुराको गलत व्याख्या भएको जिकिर गर्दै धरानमा पनि आफूले यो प्रकरणलाई प्रष्ट पारेको दावी गरे ।
यद्यपी, उनले एकता प्रक्रिया र एकताको बेला गरिएका कुराबाट दायाँबायाँ गर्ने छुट कसैलाई पनि नभएको भन्दै एकताको बेला गरिएका प्रतिवद्धताको स्मरण पनि गरे । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा सरकारको नेतृत्व आलोपालो गर्ने तथा सरकार र पार्टीको नेतृत्व एउटै व्यक्तिले गर्न नहुने सहमति भएको थियो ।
‘हिजो पार्टी एकता नै नगरेको भए जे जे गरे पनि हुन्थ्यो, आ–आफ्ना कुरा थिए,जसरी अगाडि बढे पनि हुन्थ्यो’, उनले सहमतिको स्मरण गर्दै भने,‘ पार्टी एकता गरिसकेपछि हिजो गरिएका सहमति संकल्पबाहिर गरिने कुरा सही हैन, त्यो राष्ट्रको लागि पनि अहित हुन्छ ।’
उनले पार्टीलाई अगाडि बढाउने कुरामा आफू र प्रधानमन्त्री केपी ओलाीबीच अहिले पनि राम्रैसँग छलफल भइरहेको जनाउँदै यति ठूलो पार्टी, दुईधारबाट आएको पार्टी मिलाउने कुरा असाधारण भएकोले केही कुरा बाहिर आएको बताए । उनले पार्टी एकताकै बेला महाधिवेशनसम्मको समयलाई स.्ंक्रमणको अवधिको रुपमा बुझिएकाले एकता प्रक्रिया टुग्याएपछि महाधिवेशनको प्रक्रियामा जाने र त्यहीँबाट अध्यक्षको छिनेफानो हुने उल्लेख समेत गरे ।
विप्लवसँग कन्फिडेन्स छैन
पार्टी अध्यक्ष प्रचण्डले विप्लव माओवादी नेतृत्वले ‘कन्फिडेन्स’ गुमाएको जिकिर पनि गरेका छन् ।
‘उहाँहरुले अब अटेरी गरेर,अवाञ्छित गतिविधि गरेर, राजधानीमा चारवटा बम पड्काएर ,चारजनाआफ्नै मान्छे मर्नेगरी चारवटा बम पड्काएर हुनेवाला केही थिएन’, उनले भने,‘आफ्नै मान्छे मर्नेगरी जे घटना भयो मान्छेको दिमागले केही सही गरेका छौँ, छैनौँ भन्ने नभएपछि दुर्घटना हुन्छ , त्यहाँ कन्फिडेन्स छैन । त्यसलै शान्ति प्रक्रियामा आउनु ( विप्लव समूह ) नै उचित हुन्छ ।’
उनले राज्यले विप्लव समूहप्रति अख्तियार गरेको नीतिको समर्थन पनि गरे । सरकारले वार्ता टोली बनाएर अगाडि बढ्दा प्रगति नभएपछि र केही घटनाहरु गलत ढंगले घट्न थालेपछि सरकार विप्लवप्रति कडा रुपले प्रस्तु भएको उनको जिकिर थियो ।
‘राज्यले सरकारले गर्नुपर्ने काम त आफ्नो ठाउँमा गर्छ नै , राज्य चुप लागेर बस्ने भन्ने हुँदैन’, उनलपे भने,‘ तर राजनीतिक तवरमा अहिले पनि राजनीतिक प्रक्रियामा आउने कुरामा राज्य पनि तयार छ, पार्टी पनि तयार छ ।’ विप्लवहरु उल्टोबाटोमा हिँडेको र उल्टोबाटबाट हिँडेर कहीँ पुगिदैन भन्दै प्रचण्डले थपे,‘ हामी सबै मिलेर लडेर, बलिदान गरेर ल्याएको कुरा हो , समाजवाद हामी सबैले भनेका छौँ,समाजवादतिर अगाडि बढ्न संविधानले नै बाटो खोलेको छ, जवर्जस्ती गर्नुपर्ने कारण छैन ।’
उनले सत्य निरपण तथा मेलमिलाप आयोग सहमतिमै टुंग्याउने विषयमा सबै सहमत भए पनि त्यसको नेतृत्व कसले गर्ने भन्नेबारे निर्णय नहुँदा केही ढिलाई भएको बताए । सिफारिस समितिको यही असार ८ गते बस्ने बैठकले यो आयोगलाई पूर्णता दिने पनि उनको भनाई थियो ।
पोखरामा चर्चामा रहेको फेवाताल संरक्षणबारे सोधिएको प्रश्नको उत्तर दिँदै उनले फेवातालको बारे सर्वोच्चको फैसला आएको स्मरणगर्दै उनले संरक्षणको लागि तीनवटा सरकारमध्ये कसले के गर्ने स्पष्ट भएर अगाडि बढ्नुपर्नेमा जोड थिए । फेवाको सीमाङ्कनको समस्या संघ सरकारले नै टुंग्याउनु पर्ने आवश्यकता भएको बताउँदै उनले संरक्षणको लागि प्राधिकरण गठन गरिनुपर्ने बताए ।
उनले सरकारले अगाडि सारेका र चौतर्फी बिरोध भएका विधेयकहरु संसदीय प्रक्रियाबाटै टुंग्याउनुपर्नेमा जोड दिए । गुठी विधेयक संसद बाहिरबाटै मन्त्रीले फिर्ता लिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कडा आपत्ति जनाएको भोलिपल्ट सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्डले सबै विधेयक फिर्ता लिँदा पनि अर्को समस्या आउने खतरा हुने जिकिर पनि गरे ।‘मिडिया काउन्सिल वा अरु विधेयकहरु संशोधनकै प्रक्रियाबाट जानुपर्छ’, उनले भने,‘ यसमा धेरै टेन्सन लिनुपर्ने स्थिति रहेन । ’ उनले खालि रहेका ठाउँमा तत्काल उपनिर्वाचन नहुने संकेत पनि गरे । ‘अहिले त असार लागिसक्यो’, उपनिर्वाचनबारे सोधिएको प्रश्नमा प्रचण्डले यतिमात्रै भने ।





