
बागलुङ,६ असार -बागलुङको पर्यटकीय स्थल घुम्टे पुग्न पदमार्ग निर्माण थालिएको छ ।प्याराग्लाइडिङको सम्भावना बोकेको घुम्टे पुग्न स्थानीयले गलकोट नगरपालिका–७ को मल्ममा रहेको राम्चेढुंगा हुँदै जाने पदमार्ग निर्माण थालेका हुन । केही महिना अघि परीक्षणका लागि आएका प्यारापाइलट र पर्यटन व्यवसायीले घुम्टे क्षेत्रको अवलोकन गरेका थिए । घुम्टे जिल्लाकैअग्लोमध्येको पहाड हो ।
त्यहाँ पुग्न ५ घण्टा पैदल हिँड्नुपर्छ । ऋषिमुनीले तपस्या गरेको स्थानको रुपमा चिनिएको राम्चेढुंगा र गुफाचौरलाई चिनाउन घुम्टे पुग्ने पदमार्ग समेत बनाइएको राम्चेढुंगा पर्यटन विकास समितिका अध्यक्ष विष्णु थापाले बताउनुभयो ।
‘प्याराग्लाइडिङ र साहसिक पदयात्राका लागि धेरैले रोजाइमा पारिसकेपछि हामीलाई पूर्वाधार बनाउने चुनौती थपियो,’ उहाँले भन्नुभयो, ‘पहिलो चरणमा १५ लाख रुपैयाँको पूर्वाधारबाट थालेको काममा लगानी पनि भित्रिँदै छ ।’
गत मंसिरमा भएको गलकोट महोत्सव र पुसमा आयोजित राम्चेढुंगा पर्यटन मेलापछि आन्तरिक पर्यटकले भ्रमण गर्न थालेका छन ।
व्यवसायी र पाइलटकै सल्लाहमा गलकोट नगरपालिकाले ३ लाख रुपैयाँ खर्चेर रनवे बनाएको छ । यहाँबाट उडेका ग्लाइडर मल्मस्थित आँगखेत र बाँसखोलामा अवतरण गर्छन । डिभिजन वन कार्यालयले हरियाली पार्क र उद्यान निर्माणका लागि पनि राम्चेढुंगालाई नै रोजेर काम थालेको छ ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त रकमबाट पदमार्ग निर्माण गरिने निर्माण समिति अध्यक्ष रुद्र केसीले बताउनुभयो । चालु आर्थिक वर्षमा झन्डै एक किलोमिटर मात्र पदमार्ग बनाउने योजना छ ।
घुम्टेसम्म पुग्न झन्डै ५ किलोमिटर लामो पदमार्ग बनाउनुपर्छ । पूर्वमा हटिया, पश्चिममा पाण्डवखानी र रमुवा, उत्तरमा घुम्टेको पहाड, माछापुच्छ्रे र अन्नपूर्ण हिमाल तथा दक्षिणमा गुल्मीको वामीटक्सार र मुसिकोट देखिन्छन ।





