काठमाडौं ,७ असार – वर्षा गराउने प्रणाली मनसुन सक्रिय बन्दै गएको मौसमविद्ले बताएका छन्। पूर्वी क्षेत्रबाट बिहीबार प्रवेश गरेको मनसुन अहिले मध्य क्षेत्रसम्म फैलिसकेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। त्यसैको प्रभावले आज (शनिबार) पूर्व र मध्य क्षेत्रमा मौसम पूर्ण रूपमा बदली भएको छ। यद्यपि अहिले पानी भने परेको छैन ।मौमसविद् श्रेष्ठका अनुसार हिजो राति भने पूर्वका धेरै स्थानमा पानी परेको थियो भने एक घण्टाअघि बिहान सुदूरपूर्वका झापा, मोरङ, पाँचथर र इलाममा पानी परेको थियो। पूर्वी क्षेत्रका धेरै स्थानमा पुनः वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिए।यसैगरी मध्य क्षेत्रमा पर्ने काठमाडौंको उत्तरी भेगमा पनि बिहान पानी परेको थियो। पुनः दिउँसो मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए।अहिले मध्य पश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने वर्षा भइरहेको छ। तर पानी पार्ने प्रणाली कमजोर हुँदै गएकाले दिउँसो रोकिने सम्भावना छ। पश्चिममा भइरहेको मौसम बदली तथा वर्षा पश्चिमी वायुको प्रभाव हो।‘पूर्वको मनसुनको प्रभाव पनि केही पुगेको छ,’ मौसमविद् श्रेष्ठले भने, ‘तर त्यहाँ अझै पश्चिमी वायु सक्रिय रहेकाले पूर्ण रूपमा मनसुन फैलिन पाएको छैन।’उनका अनुसार भोलि आइतबार पश्चिमी वायुको नयाँ प्रणाली विकसित हुने सम्भावना छ। ‘यसकारण पश्चिमी क्षेत्रमा मनसुन फैलिन अझै केही दिन लाग्ने देखिन्छ,’ उनले भने।
यस्तै आज विशेषगरी तराई क्षेत्रमा वर्षाका साथ हावाहुरीको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए। ‘मुख्यगरी मकवानपुर र रूपन्देही क्षेत्रमा हावाहुरी आउने संकेत देखिएको छ।’





