पोखरा,१० असार – पोखरा महानगरपालिकाले सोमबार आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका वडा अध्यक्षहरुले असहमति जनाएका छन् । नीति तथा कार्यक्रम कर्यापालिकाको बैठकमा प्रस्तुत नै नगरि पास गरिएको भन्दै वडा अध्यक्षहरुले असहमति जनाएका हुन् । नीति तथा कार्यक्रम विपक्षीहरुको असहमति हुँदाहुँदै बहुमतले पास गरिएको उनीहरुको आरोप छ ।
वडा नम्बर २, ३, ४, ६, ९, १०, ११, १२,, २३, २७ र ३२ को तर्फबाट महानगरपालिकको नेपाली कांग्रेस तर्फको दलको नेता तथा सचेतक रामराज लामिछानेले प्रेस विज्ञप्ति जारी गर्दै नीति तथा कार्यक्रम प्रति असहमति जनाएका हुन् ।
नीति तथा कार्यक्रमले महानगरका गौरवपूर्ण योजनालाई समेट्न नसकेको लामिछानेले बताए । उनले नीति तथा कार्यक्रममा बस पार्क र रिङरोडको बारेमा उल्लेख नगरिएको, सन् २०१९ सम्म महानगरलाई बालमैत्री बनाइने यसअघिको घोषणा योजनालाई नसमेटिएको भन्दै आफूहरुको असहमति रहेको जनाएका छन् । यसैगरी शान्तिघाटमा सम्पन्न हुन लगेको उर्जा शवदहलाई नीति तथा कार्यक्रममा विद्युतीय शवदहन भनी गलत व्याख्या गरिएको, पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने विषयलाई नीति तथा कार्यक्रममा उल्लेख नगरिएको उनीहरुको गुनासो छ । महेन्द्रपुल र पृथ्वीचोकमा आकासे पुल बनाउन पहल नगरिएको, फेवातालबाहेक अन्य तालको विषयमा नीति तथा कार्यक्रममा उल्लेख नगरिएको, वडाको सरसफाई गर्ने जिम्मा वडामा नै दिनु पर्छ भन्दा नदिइएकोमा आफूहरुले असहमति जानएको उनले उल्लेख गरे ।





