बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पुरानो ढाँचा र पुरानो घर खोज्दै महानगर

पुरानो ढाँचा र पुरानो घर खोज्दै महानगर

ढिला आयो तर राम्रै आयो


  • ढोरपाटन संवाददाता
  • असार ११ २०७६, बुधबार

पोखरा, ११ असार – कुनै बेला पोखराको रामकृष्णटोलदेखि विन्ध्यवासिनीसम्म पुराना शैलीका कलात्मक घरहरु थिए । पोखरा आउने पर्यटकहरु लेकसाइड बस्थे । बिहान उनीहरु र यहाँको सृजनाचोक, बगालेटोलहुँदे विन्ध्यवासिनीतिर पैदलै उक्लन्थे । जब पुराना घर आउँथे, उनीहरु क्यामेरा खिचिक्क खिचिक्क पार्थे । तर, समय बदलियो । रामकृष्णटोल, गणेशटोल, भैरवटोल, मोहोरियाटोल क्षेत्रमा भएका रैथानेहरुले आफ्नो पुरानो घर भत्काएर नयाँ बनाउन थाले । नेवारहरुको त्यो बस्तीबाट व्यापार पनि शहरको अरु भागमा स¥यो । पुरानो टोललाई जिवन्त राख्ने अभियान सुरु गर्ने भनिए पनि कार्यान्वयमा आउन सकेन । पुराना घरहरु संरक्षण्मा कसैले चासो दिएनन् । न त तालुकदार पोखरा महानगरले नै ति सम्पदा संरक्षण गर्नुपर्छ भन्ने सोच्यो । अहिले सो क्षेत्रमा मुस्किलले केही पुराना घर बचेका छन् । नेपालीको उखानै छ नि,…….. दैलो देख्यो !

सांस्कृतिक सम्पदा र पुरातात्विक संरचनाको महत्व कति हुन्छ भन्ने पोखरा महानगरले बुझ्न थालेको छ । महानगरले मंग्लबार आर्थिक वर्ष २०७६÷०७७ को बजेट प्रस्तुत गर्दै कसैले पुरातात्विक महत्वका पुराना घर पुरानै शैलीमा बनाए ५० प्रतिशत राजश्व छुट दिने घोषणा गरेको छ । तर, स्थानीय बासिन्दा महानगरको यो घोषणाबाट खुसी छैनन् ।‘हामीले बढो जतनले पुराना घर संरक्षण गरेर महानगरको इज्जत जोगाइदिएका छौँ, अब त्यस्ता घरहरुलाई सहुलियत र संरक्षणमा योगदान दिनुको सट्टा राजश्व छुटको कुरा गर्नु भनेको झारा टार्ने काम हो’, पोखराको गणेशटोलका कैलाश पालिखेले भने,‘ महानगरले यहाँको सम्पदा संरक्षण गर्न धेरै ढिला गरिसक्यो, कर छुटले मात्र सम्पदा संरक्षण हुँदैन ।’
अहिले पोखरा महानगर क्षेत्रमा आधुनिक र अग्ला घर बनाउने लहर चलेको छ । ती घरहरु मापडण्ड अनुसारका पनि छैनन् । न त ती घरहरुको कुनै सांस्कृतिक महत्व नै छ । मापडण्ड विपरित बनेका घरहरुलाई भने महानगरले घुमाउरो बाटोबाट वैधानिकता दिन खोजेको छ ।
पोखरा उद्योग वाणिज्य संंघका कोषाध्यक्ष तथा भैरवा सांस्कृतिक संरक्षण समितिका सचिव सुरेन्द्रमान बिजुक्छेले पनि महानगरले राजश्व छुटको कुरा मात्रै गरेर पुराना शैलीका घर संरक्षण र पुरानै शैलीमा घर नबने बताए ।
‘पुराना घर संरक्षण गर्दै त्यही शैलीमा घर बनाउने हो भने पुराना घरहरुको रेट्रोफिट गर्नुपर्छ र नयाँ बन्ने घरहरुलाई विशेष सहुलियत दिनुपर्छ’,उनले भने,‘ हामी अहिले भैरव मन्दिर बनाउने अभियानमा छाँै र भैरव मन्दिर पुरानो सांस्कृतिक शैलीमै बन्दैछ ।’ पुरानो बजार क्षेत्रका अधिकांश घरहरु नेवार जातिको रहेको छ । उनीहरुले हिजो बनाएका घरहरु पुरानो हुँदै जाँदा नयाँ बनाउनु बाध्यता रहेको बताउँदै बिजुक्छेले राज्यले पुराना शैलीका घरको महत्व बुझेर संरक्षणको पहल गरे केही हुने आशा पनि व्यक्त गरे ।
‘हामीले नेवारी संस्कृति त जसोतसो बचाएका छौँ तर पुराना घएका घरहरु बचाउन गाह्रै भयो’, उनले भने,‘ अहिले यो क्षेत्रमा भएका करिब ५० वटाजति पुराना घरले पनि हामीलाई पुराना दिनको याद दिलाउँछ ।’
गण्डकी प्रदेश सरकारले यतिबेला खरको छाना भएकाहरुलाई टिनको छाना दिने घोषणा गरेको छ । लमजुङको पर्यटकीय घलेगाउँमा रातो रंगको छाना हाल्न प्रदेश सरकारले २९ लाख अनुदान नै दिएको छ । केही गाउँपालिकाहरुले पनि खरको छाना बिस्थापन गर्न अनुदान दिने घोषणा गरेका छन् । तर, पोखरा महानगरको अहिलेको घोषणा भने झारा टार्ने खालको रहेको सरोकारवालाहरुले टिप्पणी गरेका छन् ।
‘म एक दिन महानगरमा कर तिर्न गएको थिएँ, त्यहाँका कर्मचारीले राम्रो व्यवहार गरेनन्, भित्तामा मेरै घरको फोटो भएको पुरानो बजारको फोटो राख्ने, हामीलाई किन सम्मान नगर्ने ? भन्ने प्रश्न गर्दा पनि उनीहरुको व्यवहार फेरिएन’, गणेशटोलमा पुरानो घर भएका बासिन्दाले भने,‘ लागेको कर तिर्छु भन्दा त सजिलो छैन, अब हाम्रो घर संरक्षणमा के सहयोग देलान् र ?’
पोखराको पुरानो बजार क्षेत्रलाई संरक्षण गर्ने र पुरानै अवस्थामा फर्काउन पोखरा उद्योग वाणिज्य संघले केही वर्षअघि प्रयास चाहिँ गरेको थियो । तर, त्यो प्रयासले सार्थकता पाएन ।‘हामीले पुरानो बजारलाई कलात्मक सामान, हस्तकलालगायतका सामान पाइने थलो बनाउन खोजेका थियौँ’, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले भने,‘ तर, व्यवसायीहरु र स्थानीय दुबैबाट खासै चासो नदेखाएपछि हामीले यो योजना थाँती राख्यौँ ।’ उनले महानगरले अघि सारेको योजना राम्रो भए पनि संरक्षण नै गर्ने चाहना हो भने ती घरहरुलाई मर्मत गर्न अनुदान र संरक्षण गर्नेहरुलाई विशेष छुट दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->