पोखरा, १२ असार – प्रतिपक्षी दल समाजवादी पार्टी (एकिकरण पूर्वको नयाँशक्ति) ले गण्डकी सरकारले ल्याएको बजेट खारेज गर्न माग गरेको छ । यस्तै, उसले बजेट वक्तव्यमाथिको छलफल पनि बहिष्कार गर्ने घोषणा बुधबार पत्रकार सम्मेलनमार्फत गरेको छ ।
तर, उक्त पार्टी असार १ गते सरकारले बजेट ल्याएदेखि बुधबारसम्मको छलफलमा भने सहभागी छ । समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले भने, “हामी प्रदेशसभा बैठकमा सहभागी हुन्छौँ, तर बजेट र बजेटमाथिको छलफल भने बहिष्कार गछौँ ।”
समाजवादी पार्टीले बैठक बहिष्कार गर्ने घोषणा गर्दैगर्दा यसअघि नै ६ र ८ गते गरि २ दिनसम्म सदन सूचना टाँसेर स्थगित भईसकेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारले ल्याएको बजेटमा धेरै कानून विपरित रहेको ठहर गर्दै त्यसलाई सदनमार्फत जानकारी गराउने तयारी असार ६ गते गरेको थियो । उक्त सूचना सभामुखलाई पनि थियो । तर, सभामुख नेत्रनाथ अधिकारीले बैठक डाकेनन्, सूचना टाँसेर स्थगित गरिदिउ । ८ गते आईतबार पनि सोही प्रक्रिया दोहोरियो ।
कांग्रेसले सदनमार्फत जानकारी गराउनै पाएन । ९ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त्रुटि सच्याईने प्रतिबद्धता जनाएपछि सदन सुचारु छ, र हाल गण्डकी प्रदेशसभा बैठकमा मन्त्रालयगत छलफल चलिरहेको छ ।
मन्त्रालयगत छलफल चल्दै गर्दा समाजवादी पार्टीले ‘खेस्रा’ बजेटको उपमा दिँदै बहिष्कार गर्ने जनाएको हो । सांसद आचार्यले बुधबारको विशेष समयमा बोल्दै विरोध जनाएका हुन् ।
“प्रतिपक्षी दल सबैले विरोध गरेर सरकारले खेस्रा बजेटको अर्को पेपर ल्याएको छ । प्रमुख प्रतिपक्षी दल आँफुलाई छायाँ सरकार भन्छ । एउटा छायाँले लखेट्दा सरकार यति डराउँछ भने हामी त वैकल्पिक शक्ति हौं । वैकल्पिक सरकार नै उभियो भने चाहीँ यो सरकार के गर्छ ?” उनले प्रश्न गरे ।
बजेटप्रति असहमती जनाउँदै उनले बजेटको छलफल कार्यक्रम नै बहिष्कार गर्ने घोषणा गरेका छन् । पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारको नियत गलत भएको टिप्पणी गरे । नयाँ शक्तिले बजेट नै खारेज गर्नुपर्ने माग राखेको छ ।
“सरकारलाई सच्याएर पूर्ण बजेट ल्याउन पाउने अधिकार छ, हाम्रो माग पनि बजेट सच्चिएर आउनुपर्छ भन्ने हो ।” उनले थपे ।
तर, नयाँ बजेट ल्याउँदा स्थानीय तहको बजेटमा असर पर्दैन त ? भन्ने प्रश्नमा उनले भने, “स्थानीय तहले पाएको अनुदान पनि समानुपातिक तरिकाले वितरण गरिएको छैन, यसले सरकारको नियत प्रष्ट हुन्छ, स्थानीय तहहरु झनै खुसी हुन्छन, मैले त्यो बुझ्छु, म स्थानीय तहको गुरुयोजना निर्माणमा जाँदा थुप्रै प्रकारका असन्तुष्टिहरु राख्नुभएको छ, बजेट संशोधन गर्दा त उहाँहरु खुसी नै हुनुहुन्छ नि ।”





