स्याङ्जा, १३ असार, फेदीखोला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷७७ का लागि ३० करोड २० लाख ३ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँ सभामा मंगलबार गाउँपालिका उपाध्यक्ष देवी थापाले पुँजीगततर्फ १३ करोड २२ लाख ६६ हजार विनियोजन प्रस्ताव गरिएको जानकारी दिनु भयो । चालु तर्फ नेपाल सरकारको सर्सत अनुदानबाट ११ करोड ८६ लाख र पालिकाको निर्सततर्फ ५ करोड ११ लाख गरि १६ करोड ९७ लाख ३७ हजार विनियोजन गरिएको छ ।
उपाध्यक्ष थापाका अनुसार अनुमानित खर्चमध्ये नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ७ करोड ५ लाख तथा ससर्त अनुदानतर्फ ११ करोड ८६ लाख रहेको छ । त्यसै गरि प्रदेश सरकारको समानिकरण अनुदानतर्फ १ करोड २० लाख ९४ हजार, समपुरक अनुदान १ करोड रहेको छ । राजस्व बाँडफाडबाट प्राप्त हुने तर्फ संघिय सरकारको रु ४ करोड ५१ लाख, प्रदेश सरकारको १६ लाख १६ हजार, आन्तरिक आम्दानीतर्फ ७० लाख र बाँकी आन्तरिक मौज्दात लगायतबाट व्यहोरिने थापाले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बिकासको पहिलो सुचक भनेको शिक्षा र भौतिक पूर्वाधार भएकाले गाउँपालिकाले यस बजेटमा उक्त दुई विधालाई महत्व दिएको बताउनु भयो ।
यस बर्ष कुल बजेटको ३६ प्रतिशत मात्र शिक्षालाई छुट्याइएको छ, जसअन्र्तगत शैक्षिक गुणस्तर र पुर्वाधार विकासको लागि १० करोड ४५ लाख ३३ हजार विनियोजन गरिएको हो । नयाँ आर्थिक बर्षबाट विद्यालयलाई पेपरलेस बनाउने उद्देश्य अनुरुप प्रत्येक विद्यालयमा शैक्षिक व्यवस्थापन प्रणाली सफ्टवयर लागु गरिने र प्रत्येक शिक्षकलाई प्रविधिमैत्री र सफ्टवयरमा निपुर्ण बनाउन ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम सुरु गरिनेछ । जसअन्र्तगत गाउँपालिकामा रहेका २६ वटा सामुदायिक विद्यालयका १५० शिक्षकलाई गाउँपालिका, विद्यालय र शिक्षकको साझेदारीमा ल्यापटप प्रदान गरिनेछ । जसअन्र्तगत कुल रकमको ३० प्रतिशत अनुदान गाउँपालिकाले प्रदान गर्ने र ७० प्रतिशत विद्यालयले साझेदारी गर्नेछ ।
महिनावारी स्वच्छन्दताको लागि गत बर्ष एक विद्यालयमा मात्र व्यवस्था गरिएको भेण्डिङ मेसिन अब प्रत्येक माध्यमिक विद्यालयमा व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्यतर्फ नयाँ आर्थिक बर्षमा रु २ करोड ३५ लाख ५२ हजार रकम विनियोजन गरेको छ । गाउँपालिकाले यसपटक गर्भवती महिलाको लागि मेडिक मोवाइल प्रविधिबाट नियमित स्वास्थ्य स्याहार तथा पोषण कार्यक्रम लागु गर्ने भएको छ ।
यातायात पुर्वाधारतर्फ ६ करोड ६० लाख ५० हजार बजेट बिनियोजन भएको छ, जसअन्र्तगत खड्केटारी–पञ्चासे–दोविल्ला सडक, कुभिण्डे मट्टिखान नुवाकोट, सर्केटारी गल्याम पञ्चासे सडक,
त्यसैगरि कृषितर्फ १ करोड ६० लाख ८० हजार बजेट बिनियोजन भएको छ । गाउँपाालिकाका विभिन्न गाउँहरुलाई नमुना कृषि गाउँ बनाउने योजना अनुरुप एक घर एक टनेल, कागती पकेट क्षेत्र, तरकारी पकेट क्षेत्र, मकैको विउ उत्पादन, नमुना युवा बाख्रा गाउँ, मौरी पकेट क्षेत्र, असारे आलु खेती प्रबद्र्धन लगायतका रहेका छन् ।
दुध, अण्डा र मासुमा आत्मनिर्भर बन्ने उद्देश्य अनुसार कृषकलाई प्रोत्साहन गर्ने गाउँपालिकाले जानकारी दिएको छ । कृषि प्रणालीलाई व्यवस्थित गर्न गाउँपालिकाका किसानलाई वर्गीकरण गरि कृषक परिचय पत्र वितरण गरिने नीति तथा योजनामा उल्लेख छ ।
कृषिको व्यवसायिकतामा जोड दिन गाउँपालिकामा हाइटेक नर्सरी स्थापना, कृषक उपज संकलन केन्द्र स्थापना गर्ने कार्यक्रम रहेका छन् । कृषि प्रविधि अन्र्तगत लिफिटिङमार्फत सिचाइ, साना सिचाई कार्यक्रम रहेका छन् ।
गाउँपालिकाले बिशेषत युवाहरुलाई उद्यमी बनाएर रोजगारी सिर्जना गर्न ३५ लाख बढि बजेट छुट्याएको छ । फेदीखोला युवा रोजगार बैंक, युवा उद्यम कार्यक्रमले यस अघि नै सफलता पाइसकेको र थप निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आफ्नो गौरवपूर्ण तथा दीर्घकालिन योजनाको रुपमा लिएको भालुपहाड एकीकृत विकास पर्यटन योजना सहित अन्य पर्यटनका विधालाई समेटेर ६८ लाख बजेट छुट्याइएको छ ।
विपन्न तथा दलित वर्गलाई लक्षित गरि लोकसेवा कक्षा संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
वातावरण तथा जलवायु, विपद व्यवस्थापन, सौर्य तथा विदुत उर्जा, प्रविधिमैत्री कार्यालय व्यवस्थापन, भाषा तथा संस्कृति जर्गेना बजेटका अन्य प्राथमिकता रहेका छन् ।





