बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एकल महिला सँधैभरि एकल भएको हुनाले सरकारले संरक्षण गर्न चाहेको हो ? : सांसद कोईराला

एकल महिला सँधैभरि एकल भएको हुनाले सरकारले संरक्षण गर्न चाहेको हो ? : सांसद कोईराला


  • Dhorpatan News
  • असार १३ २०७६, शुक्रबार

पोखरा, १३ असार  -‘एकल महिला कार्यक्रम’ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेटै छुट्याएको यो कार्यक्रमप्रति सत्तारुढ दलकै सांसद आशा कोईरालाले प्रश्न उठाएकी छन् ।
शुक्रबारको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्रालय अन्तर्गतको छलफलमा बोल्दै कोईरालाले ‘एकल महिला संरक्षण कार्यक्रम’ मा संरक्षण शब्द उपयुक्त नभएको बताईन् । प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत खर्च हुनेगरि आगामी आर्थिक वर्षमा प्रदेश सरकारले एकल महिला संरक्षण कार्यक्रममा बजेट विनियोजन गरेको छ ।
“एकल महिलालाई संरक्षण गर्ने भन्ने बित्तिकै सँधैभरि एकल भएर हो, यो एकल महिला राम्रो कुरा हो भनेर जोगाएर राख्न चाहेको त होईन ? एकल महिलाको जीवनलाई नि सहज बनाउने र आवश्यकता तथा चाहना अनुसार पुनर्विवाहको लागि प्रेरित गर्न सक्छौँ, अन्य कुनै ढंगले व्यवस्थापन गर्न सक्छौँ, अलि त्यतातिर रचनात्मक ढंगले सोच्नको लागि आग्रह गर्न चाहान्छु ।” महिला, बालिबालिका तथा समाजकल्याण मन्त्री रहिसकेकी कोईरालाले भनिन्, “एकल महिलाको संरक्षण भन्ने शब्द त्यति उपयोगी र सान्दर्भिक कार्यक्रम होईन । एकल महिलाको लागि सहयोग, सुरक्षा वा अरु कुनै शब्द हुन सक्छ । सम्मानजनक जीवन बिताउन सहयोग गर्न संरक्षण भन्ने शब्द फेर्नुपर्छ ।”
उनले हिंसा पिडित महिलाहरुले पनि सामाजिक सम्मानको साथ बाँच्न पाउनुपर्नेमा जोड दिईन् । “हिंसापिडित महिलाको लागि आश्रयस्थल बनाउँछौँ, त्यहाँ पिडितलाई ल्याउँछौँ, तर पीडकहरु घरमै बस्ने सामाजिक सम्मान पाउने तर पिडित चाहिँ घरबाहिर हुने, विस्थापित हुने र त्यही आश्रममा बस्ने हुँदा घर, परिवार र समाजसँग उसको सम्बन्ध टुट्ने र एकल खालको जीवन पनि बिताउनुपर्ने, त्यो अधिकारबाट पनि वञ्चित हुने भएकोले हिंसा पिडितलाई आवश्यक घरमा व्यवस्थापन गरेर हिंसा गर्नेलाई कारवाहीको दायरामा ल्याईनुपर्छ ।” उनको भनाई थियो ।
यस्तै, एड्स दिवस मनाउने कुरामा संघ र प्रदेश सरकारको कमजोरी रहेको बताएकी छन् । एड्स, कण्डम दिवसलाई परम्परागत रुपमा मनाईरहँदा सकारात्मक सन्देश जानुको सट्टा बालबालिकामा नकारात्मक प्रभाव परेको उनले बताईन ।
छलफलमा बोल्दै उनले भनिन, “दिवस भनेको के का लागि मनाउने ? हरेक कुराको सकारात्मक परिणाम दिएका कुराहरुलाई, सकारात्मक सन्देश प्रवाह गर्नको लागि हामीले दिवस मनाउने हो । कि त, एड्स निवारण दिवस हुनुप¥यो, हामीले मनाउने । होईन भने विश्व एड्स दिवस एड्स लागेको उपलक्ष्यमा मनाउने हो ?”
कम्पनीका दिवस मनाएर सचेतनाको सन्देश प्रवाह नहुने हुँदा यसतर्फ छलफल आवश्यक रहेको उनले बताईन् ।
“यस्तो खालका कुराहरु नेपाल र प्रदेश सरकारका पनि कमजोरी छन् । परम्परागत रुपमा मनाउँदै आएका छौँ ।” कोईरालाले भनिन्, “सामाजिक विकासको क्षेत्रमा यो दिवसहरु सञ्चालन गर्ने र मनाउने बारे सबै मन्त्रालयका कार्यक्रमहरु त आएका छन् । यो धेरै समयदेखि हामीले सुनिरहेको कुरा हो । तर, मलाई पहिलेदेखि नै असजिलो लाग्यो । मैले आफैले अधिकार प्राप्त गर्दाखेरि गर्ने कोसिस गरिरहेको विषयहरु त्यतिबेला सम्भव भएनन् । यस्ता कार्यक्रमहरु परम्परागत रुपमा मनाउँदै आएका कार्यक्रमहरु हुन् । यिनीहरुलाई अलिकति छलफल गरेर निर्णय लिनुपर्छ कि ।”
कण्डम दिवसमा कण्डम फुकेर झण्डा जस्तै लिएर हिँड्दा समाजमा सकारात्मक प्रभाव नजाने र बच्चाहरुमा नकारात्मक असर पर्ने उनको भनाई छ । यस्ता कार्यक्रम गरिरहँदा आफैलाई असहज महसुस हुने उनको भनाई थियो ।
“अहिले म यो मन्त्रालय र विशेषगरि मन्त्रीज्यूलाई के आग्रह गर्न चाहान्छु भने, हाम्रा दिवसहरु विश्व एड्स दिवस मनाउने अथवा कण्डम दिवस मनाउने उदाहरणको लागि हामीले यो योजनामा पारेका छौँ । अर्को कुरा कण्डम दिवस, कन्ट्रासेप्टिभ्सहरु धेरै छन्, के सबैको दिवस मनाएर साद्धे लाग्छ त ?” उनले प्रश्न गरिन, “के हामी कम्पनीको दिवस मनाउने हो कि ? अथवा परिवार नियोजनको लागि जनतालाई सचेतना जगाउने हो भने त्यही खालको कार्यक्रम हुनुपर्छ । मलाई चाहिँ कार्यक्रम गरिरहँदा पनि असजिलो लाग्ने, अफसोस लाग्ने कामहरु चाहिँ हेरिरहेका छौँ। कण्डम फुकेर झण्डाजस्तै लिएर हिँडिरहँदा खेरि त्यस्तो दिवस मनाउनुले हाम्रो समाजलाई कस्तो सन्देश जान्छ ? बरु हाम्रा बच्चाहरुलाई नकारात्मक असर परेको मैले देखेको छु ।”
स्वास्थ्य बिमाको कार्यक्रम प्रभावकारी नबनेको हुँदा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ ।
प्रदेशसभा बैठकमा बोल्दै कोईरालाले भनिन्, “सबैभन्दा पहिले स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य बिमा कार्यक्रम धेरैतिर टिप्पणीको विषय बनेको छ । अस्पतालहरुमा जाँदा सरकारी अस्पतालले समेत स्वास्थ्य बिमाका बिरामीहरुलाई छुट्टै व्यवहार गर्ने भन्ने जनताको गुनासो सुनिएको छ । यो गुनासोलाई हल गर्नेगरि बिमासम्बन्धि कार्यक्रम कार्यान्व्यन होस ्। गर्भवती र सुत्केरी महिलाहरुलाई एयर लिफ्टङ सुविधा दिने भनेका छौँ, ग्रामीण क्षेत्रमा यसको प्रचार अझै पुगेको छैन्, अलिकति राम्रोसँग सार्वजनिक जानकारीको लागि सूचनाहरु प्रसारण गरियोस ।”
यसबाहेक स्वास्थ्य केन्द्रमा विनियोजन भएको बजेट कम भएको, शिक्षा क्षेत्रमा सफ्टवेयरका कार्यक्रममा बढि लगानी गर्दा हार्डवेयरका कामहरु प्रभावित भएको र परिणाम प्राप्त नभएको हुँदा त्यसतर्फ ध्यान दिन उनले सुझाव दिईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->