पोखरा, १६ असार – २०६८ सालको राष्ट्रिय जनगणना अनुसार गण्डकी प्रदेशमा ४ लाख १७ हजार ५ सय २३ कृषक परिवार रहेका छन् । यो यहाँको कूल जनसंख्याको ७४ प्रतिशत हो । कृषिमै आश्रित नागरिकको संख्या भने १८ लाख ६४ हजार १ सय ९६ जना अर्थात ७७ दशमलव ६ प्रतिशत व्यक्ति कृषि पेशामा संलग्न छन् । यति ठूलो जनसंख्या कृषिमा आश्रित रहे पनि ६८ प्रतिशत जनतालाई आफूले गरेको कृषि कर्मले वर्षभर खान पुग्दैन । कृषिमै लाग्नेमध्ये १ दशमलव २ प्रतिशतसँग खेती गर्ने आफ्नो जमिन छैन । एक हेक्टरभन्दा कम जमिनमा खेती गर्ने अर्थात मध्यम किसानहरुको संख्या सबैभन्दा बढी ८२ दशमलव ९ प्रतिशत छ भने ठूला किसानको हातमा १० दशमलव ८२ प्रतिशत जग्गा रहेको छ । जिल्लागत रुपले हेर्ने हो भने एउटा व्यक्तिको भागमा सबैभन्दा बढी खेतियोग्य जग्गा पर्ने जिल्ला लमजुङ हो । लमजुङमा प्रतिव्यक्ति ७ दशमलव २ रोपनी जग्गा खेतियोग्य रहेको छ । तामझामका साथ रोपाईँ महोत्सव गर्ने कास्की जिल्लामा एक जना किसानको भागमा जम्मा २ दशमलव ८ रोपनी जग्गा रहेको छ । त्यही जग्गा पनि खण्डिकरणले गर्दा अझ कम भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुमान रहेको छ । बागलुङमा एकजना किसानको भागमा ३ दशमलव ४ रोपनी जग्गा पर्छ भने पर्वतमा यो दर ३ दशमलव ८ रोपनी रहेको छ ।
गण्डकी प्रदेशमा रहेको २१ लाख ९७ हजार ३ सय ६८ हेक्टर जमिनमध्ये २२ दशमलव २ प्रतिशत मात्रै खेतियोग्य रहेको छ । सिंचाईको उपलब्धतालाई आधार बनाउने हो भने कूल जमिनको ३६ दशमलव १ प्रतिशत रहेको छ भने बाह्रै महिना सिंचाई सुबिधा पुगेको जमिन ४६ दशमलव २ प्रतिशत छ । बाँकी जमिन आकासे पानीकै भरमा रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेशको मुस्ताङ र मनाङमा एक प्रतिशत जमिन मात्रै खेतियोग्य रहेको भए पनि मुस्ताङमा बाह्रै महिना सिंचाई पुग्छ । मुस्ताङमा खेतियोग्यमध्ये ६ प्रतिशत जमिन बाँझो छ । मनाङमा भने ५५ दशमलव ६ प्रतिशत जमिन मौसमी सिंचाईको भरमा छ । यता, कास्कीमा ्र्र्र्र३४ प्रतिशत जमिन खेतियोग्य छ भने करिब ४५ प्रतिशत जमिनमा बाह्रै महिना सिंचाई सुविधा छ । पोखरामा रहेको नहरबाट बाह्रै महिना सिंचाई सुविधा भए पनि अहिले सेति नहरको पानीबाट सिंचित हुने क्षेत्रमा क्रंक्रिटको जंगल ठडिएको छ । पानी सिंचाईमा काम नआएपछि कुलाहरु मासिएका छन् भने नहरको पानीले बिजुली निकाल्ने काम भएको छ ।
जिल्लागत रुपले भन्दा गोर्खामा १७ प्रतिशत,लमजुङमा २७, तनहुँमा २१,स्याङ्जामा २५,कास्कीमा २९,मनाङमा ६,मुस्ताङमा २०,म्याग्दीमा ३७,पर्वतमा १५,बागलुङमा ३४ र नवलपुरमा १२ प्रतिशत जमिन बाँझो रहेको छ । धानको कुरा गर्दा आर्थिक वर्ष २०७३÷०७४ मा गण्डकी प्रदेशमा ४ सय ६५ दशमलव २३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । सबैभन्दा धेरै धान नवलपुरमा उत्पादन भएको थियो । २०७२÷ ०७३ मा एक हेक्टर खेतमा धान लगाउँदा ७१ हजार १ सय ३२ रुपैयाँ खर्च भएको थियो भने त्योबाट ८० हजार ७ सय २३ रुपैयाँ आम्दानी भएको थियो । लागत कटाउँदा एक हेक्टर धान खेतिबाट ९ हजार ५ सय ९१ रुपैयाँ नाफा भएको थियो ।
असार १५ गतेकोअवसर पारेर बागलुङको ओखलढुंगामा रोपाई मेलासम्पन्न भएको छ । बागलुङ नगरपालिका वडा नं. ३ स्थित ओखलढुंगामा मिर्मिरे कृषि सहकारी संस्थाको आयोजनामा भएको मेलामा किसानले धान रोपाईको साथै हिलो खेलेर मनाए । असार १५ गतेलाई धान रोप्ने दिन, धान दिवश र हिलो खेल्ने दिनको रुपमा पनि मनाइने गरिन्छ । उक्त अवसरमा किसानले जिल्लामा कृषि क्षेत्र हेर्ने कुनै कार्यालय समेत नराख्दा उत्पादन बढाउन नसकिएको बताए । किसानलाई चाहिने प्रविधि, बीउ र मलको अभाव भैरहेको, सामान्य प्राविधिक ज्ञान पाउन नसकेको लगायतको गुनासो समेत गरे । कृषि क्षेत्रको उपेक्षाले उत्पादकत्व दिन दिनै घटेको किसानको गुनासो छ । हाल बागलुङलाई पर्वतमा रहेको कृषि ज्ञान केन्द्रले हेर्ने गरी व्यवस्था मिलाइएको छ । सिंगो कार्यालय र १० वटा सेवा केन्द्रबाट प्राविधिक र अन्य सेवा दिंदा समेत नपुगेकोमा अर्कै जिल्लाबाट केही नहुने अधिकांस किसानको टिप्पणी छ । ‘संघियताको नाउँमा किसानलाई दुःख दिने व्यवस्था ल्याइयो’ सहकारीका अध्यक्ष गंगाबहादुर थापाले भने, ‘कृषि प्रदान देश भन्ने, तर देशको समृद्धिका लागि काम गरेका हौं भन्नेले किसान र कृषिलाई लत्याए ।’ रोपाई मेलामा स्थानीय किसानले हिलो खेलेर रमाईलो गरेका थिए ।
हिलोमा हेलिए पर्यटक
पोखराका होटलमा रहेका करिब २० हजार बिस्ताराहरु यतिवेला खालि छन् । नत यहाँ भएका चल्ताफुर्ता रेष्टुरेण्टको टेबुलमा नै कोही मेन्यू माग्न पुगेका छन् । खालि छन् होटलहरु र फुर्सदमा छन्, पर्यटन व्यवसायी ।मन र हात खालि भए कुरा बिगिन्छ भन्छन् बुढापाकाहरु ! तर सबै कुरा सत्य के हुँदो हो ? यसलाई प्रमाणित गरेका छन् ,पोखरेली पर्यटन व्यवसायीहरुले । उनीहरुले आइतबार १५ असार पारेर गरेको १६ औँ रोपाईँ महोत्सवले मानो रोपेर मुरी भित्र्याउने उखानलाई कम्तिमा जिवन्त राखे । रहरले नै सही, असारे हिलोमा पर्यटकहरु लडिबुडी गरे । मै हुँ भन्नेहरुले हिलो छोएर आफूलाई किसानकै छोरा भएको प्रमाणित गर्न खोजे अनि वैँशालुहरुले हिलोमा हेलिएर रमाइलो गरे । पोखरा महतगौँडाका ऋषिराम भण्डारीको ४ रोपनी जग्गा भाडामा लिएर महोत्सव गरिएको हो । पोखराका जग्गाहरु खण्डिकरण हुँदै जाँदा ४ रोपनीको एउटै प्लट पाउन पनि मुस्किल हुन थालेको छ । पोखरा सबै मौषमका लागि भन्ने नारासहित परिषदले महोत्सव आयोजना गरेको हो । महोत्सवमा विभिन्न प्रतियोगिता पनि समावेश थिए । पोखराको पामे, हेम्जा र लेखनाथमा पनि महोत्सव आयोजना गरिएको थियो । मनोरञ्जनको लागि महोत्सव भइरहँदा वास्तविक किसान भने खेतमा पसिना चुहाउँदै थिए ।






