पोखरा, २२ असार – हरेक ठाउँ, हरेक पटक, नयाँनयाँ कार्यक्रम घोषणा गर्ने बानी छ, प्रदेशका पर्यटनमन्त्री विकास लम्सालको । उनका घोषणा मात्र सुन्ने हो भने, एउटा लामो सूची सहजै बन्छ । कर्णप्रिय योजना र कार्यक्रमको घोषणामा माहिर मन्त्री लम्सालको बोलाई र गराईमा भने आकाशपातालको फरक छ ।
त्यसको एउटा उदाहरण हो, मनाङको हुम्डे विमानस्थल सञ्चालन गर्ने घोषणा ।
हप्तामा दुईपटक पोखरादेखि मनाङमा सिधा हवाईमार्ग सञ्चालन हुन्छ । बाराको सिमरा देखि सातै प्रदेशलाई पोखरादेखि हवाई सम्पर्कमा जोडिनेछ । यसबाट पर्यटकको आगमनका वृद्धि हुनुका साथै प्रदेश सरकारले लिएको लक्ष्य पुरा गर्न कोसेढुङ्गा सावित हुनेछ ।
प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले २ पटक मिति नै तोकेर मनाङ र बारामा जहाज उडाईछाड्ने प्रतिबद्धता गरे । पहिलो थियो, गएको पौष ८ गते । उक्त मितिमा मन्त्री लम्सालले भनेका थिए, “पौष २४ गते मनाङको हुम्डे विमानस्थलमा पोखरादेखि जहाजले उडान भर्नेछ ।”
सरकारले लिएको लक्ष्यानुसार मन्त्री लम्सालले उक्त भाषण गर्दैगर्दा प्रदेश सरकारले सन्, २०१९ लाई आन्तरिक पर्यटन वर्ष मनाउने घोषणा गरेको थियो ।
त्यतिमात्रै होईन, २०७१ वैशाखदेखि बन्द रहेको हुम्डेमा जहाज उडाउने देखि गत माघ २७ गते बाराको सिमरामा पनि पोखरादेखि जहाजले उडान भर्ने घोषणा मन्त्री लम्सालले भने । त्यतिबेला विमानस्थलको प्राविधिक अवस्थाबारे अध्ययन गर्न आएको नेपाल नागरिक उडड्यन प्राधिकरणको टोलीले स्थानीय तहले यात्रु सुनिश्चितताको जिम्मा लिएमा उडान भर्न सकिने जनाएको थियो ।
पौष २७ मा हुम्डेमा मौसम खराबीका कारण जहाज उडेन, माघ दोश्रो साता सिमराको लागि जहाज पनि छुटेन ।
आगामी २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य छ । ब्रोसर, टिसर्ट, पेनड्राईभ र टोपी छापेर लाखौँ सकेको पर्यटन मन्त्रालयले गत सोमबार पोखरास्थित रिसोर्टमा ८५ स्थानीय तहका प्रमुख, ११ वटै जिल्ला समन्वय समितिका प्रमुख, पर्यटन विज्ञहरु बोलाएर नौ वटा उपसमिति गठन गरेको छ ।
मूल समितिका अध्यक्ष भने विभागीय उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल रहेका छन् । उनै लम्सालले सोही कार्यक्रममा असार २० गते हुम्डेमा जहाज उडाउने प्रतिबद्धता दोश्रोपटक जाहेर गरे ।
जहाज उडाउने र सोही जहाजबाट हुम्डेको अध्ययन गर्ने मन्त्री लम्सालको योजना यसपटक पनि सफल भएन ।
“आन्तरिक व्यवस्थापनको कमजोरी रह्यो, अब साउनको १६ गतेदेखि आन्तरिक व्यवस्थापनको काम सकेर नियमित सञ्चालन गर्नेछौँ ।” उनले भने ।
तर, यो मितिमा पनि जहाज हुम्डेमा पुग्नेमा भने आशंका छ । जहाज व्यवस्थापन पनि अर्को चुनौती छ । “मनाङमा उडाउने भनिएको जहाज नेपालगन्जमा रहेछ, त्यो पनि ल्याउनुप¥यो, जहाज व्यवस्थापन पछि चाहिँ नियमित हुन्छ ।” उनले बताए ।
उसो त प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५÷०७६ को नीति कार्यक्रममार्फत पोखरालाई सातवटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ ।
२०७१ बैशाख देखि मनाङको एकमात्र हुम्डे विमानस्थलमा कुनै पनि एयरलाइन्सले उडान भर्न नसक्दा मनाङको जनजीवन प्रभावित हुँदै आएको थियो । समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा रहेको हुम्डे विमानस्थलमा ०३९ साल असोजबाट निगमले मनाङ–पोखरा र पोखरा–मनाङको उडान भर्न सुरु गरेको थियो। अब मनाङमा उत्पादन हुने स्याउ, जडीबुटी आदि हवाई सेवा बाट निर्यात गर्न सहजहुने भएको छ भने विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा आन्तरिक तथा विदेशी पर्यटक बढ्न सक्ने अनुमान गरिएको छ ।
उडान सञ्चालन भएपछि प्रदेश सरकारले लिएको पर्यटन सम्बन्धि लक्ष्य पुरा गर्न सहज हुने मन्त्री विकास लम्सालले बता ए। गण्डकी प्रदेश सरकारको सन् २०२० सम्म २० लाखपर्यटक भित्र्याउने लक्ष्य अनुरुपनै पर्यटक मैत्री पूर्वाधारको विकास गर्नेकाम अगाडी बढिरहेको उनले बताए ।
पोखरा बाट सातै ओटा प्रदेशका लागि सिधा हवाई जहाज उडान भर्न आवश्यक तयारी थालिएको र नेपालनागरिक उड्डयन प्राधिकरणलाई यथाशक्य छिटो अन्तरप्रदेश भित्र उडान तालिका सार्वजनिक गर्न निर्देशन दिइएको लम्सालको भनाई छ । मुलुकको व्यापार घाटा कम गर्न तथा बिदेशीतथा स्वदेशी पाहुनाको सहज, सरल र सुविधायुक्त आगमनका लागि पोखरा बाट सातै प्रदेशका लागि जहाज उडाउने कार्य अगाडि बढाइएको हो ।
यस्तै सरकारले हरेक स्थानीय तहमा हेलिप्याड बनाउने नीतिअनुरुप स्थानीय तहसँग समन्वय गरि यो कार्यलाई पनि अगाडि बढाइएको उनले बताए ।





