बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरामा पर्यटकको बसाई लम्ब्याउन प्राणि उद्यान !

पोखरामा पर्यटकको बसाई लम्ब्याउन प्राणि उद्यान !


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७६, सोमबार

पोखरा,२३ असार –  हावाको दूरीमा झण्डै ३६ किलोमिटर पर उभिएका सुन्दर माछापुच्छ«े , अन्नपूर्ण र धौलागिरी हिमाल । दुरविन चाहिँदैन, आँखैमा टाँसिन्छन् हिमालहरु । सुन्दर फेवा र बेगनास अनि जलविहार । जमिनमा भासिएकी सेती र गुफाहरु । न जाडो न गर्मी हुने हावापानी । मठमन्दिर, गुम्बा, पर्वतीय र पोखरा संग्रहालय अनि पदयात्रा मार्गहरु । पर्यटक लोभ्याउने कास्कीमा भएका प्राकृतिक र भौतिक संरचनाहरु हुन यी ।
अब पोखरालाई यतिले मात्र नपुग्ने भएको छ । विश्वका हरेक पर्यटकीय क्षेत्रहरुमा जस्तै पोखरामा पनि पर्यटक लोभ्याउन प्राणि उद्यान ( जुलोजिकल पार्क) बनेको छ । पोखरा महानगरपालिकाको पचभैयामा सो उद्यान निर्माण भएको हो । पोखरा महानगरपालिकाको ३०,३१ र ३२ नम्बर वडामा फैलिएको सो पार्कको क्षेत्रफल १ सय ३४ हेक्टर रहेको छ । अहिले प्राणि उद्यानमा १८ प्रजातिका करिब ५० भन्दा बढी जनावरहरु रहेका छन् । ती जनावरहरलाई विभिन्न ठाउँबाट उद्धार गरी ल्याइएको पार्कका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । उनका अनुसार पार्कमा राखिएका जनावरको खानाको लागि मात्रै मासिक ६० हजारको हाराहारीमा खर्च हुन्छ । पार्कमा निलगाई, हरिण, मृग, लाटोकोसेरो, अजिँगर, कछुवा र विभिन्न प्रजातिका चराहरु राखिएको उनले बताए । प्राणि उद्यान साउन एक गतेदेखि सर्वसाधारणको लागि खोलिने भए पनि टिकट नै काटेर जाने व्यवस्था भने भदौबाट लागु गर्ने तयारी रहेको बख्रेलले बताए ।
पोखराको अमरसिँहचोकमा रहेको युनाइटेड क्लवले २०६७ सालतिर चिडियाखानाको रुपमा सो पार्कको कल्पना गरेको हो । क्लवले आयोजना गरेको पोखरा महोत्सवबाट बचेको पैसा लगाएर सुरु गरेको वन्यजन्तु उद्धार केन्द्र तथा प्राणिउद्यान पार्कलाई गण्डकी प्रदेश सरकारले ५ करोड विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ को लागि विनियोजित बजेटमध्ये ४ करोड जुलोजिकल पार्कको स्थापनाको प्रतिवेदन तयारीको लागि र एक करोड रुपैयाँ वन्यजन्तु उद्धार केन्द्रको लागि विनियोजित गरिएको हो ।
पार्कको लागि युनाइटेड क्लवले हालसम्म करिब ५५ लाख खर्च गरेको छ भने पोखरा महानगरले समेत पार्क बनाउन करिब ३५ लाख दिएको छ । जिल्ला वन कार्यालयको पनि पार्कमा सहयोग रहेको बख्रेलले बताए । उनका अनुसार चिडियाखानाले पोखरामा नया पर्यटीय गन्तब्य थपिने र यहाँ आउने पर्यटकको बसाई लम्बिने भएकोले चिडियाखानाको कल्पना गरिएको थियो । अहिले पोखरामा पर्यटकको बसाई औषत साँडे २ दिनको रहेको छ ।
चिडियाखानाको लागि प्रसस्त जग्गा मात्र भएर पुग्दैन । जग्गाको भौगोलिक बनावट पनि जनावर मैत्री हुनुपर्छ । पचभैयाको प्राणि उद्यान भने जनावर मैत्री नै रहेको विज्ञहरुको ठहर छ । विज्ञहरुका अनुसार चिडियाखाना भनेको पिँजडा वा खोरमा जनावर राख्ने खालको नभएर खुल्ला आकासमा जनावर र चराचुरुङ्गी घुम्न पाउने खालको हुनुपर्छ । मित्रराष्ट्र भारतमा भएका ५ सयमध्ये २ सय चिडियाखाना यही मापडण्ड पुरा नहुँदा बन्द भएको उदाहरण दिँदै चिडियाखाना निर्माणका अभियन्ता बख्रेलले भने,‘जनावरको बानी हेरेर पार्कको जग्गा ओसिलो, तातो ,पानी भएको अर्थात जमिन र जंगल भएको हुनुपर्छ, अहिले बनाइएको प्रािण उद्यानमा सबै मापडण्ड पुग्छ ।’ उनका अनुसार राजधानीको सदर चिडियाखाना पनि अन्तर्राष्ट्रिय मापडण्ड अनुकुलको छैन ।
निकै पहिलाबाट नै पोखराको फेवाताल पारी रहेको रानीवनलाई बन्यजन्तु उद्यान (जुओलोजिकल पार्क) को रुपमा विकास गर्ने निर्णय मन्त्रीपरिषद्बाटै गरिएको भए पनि त्यसले पनि मुर्त रुप लिन सकेको छैन । पोखराका शान्तिवन र जयकोट सामूदायिक बन बेलाबेलामा चिडियाखान र चरा अवलोकन स्थल बनाउनका लागि उपयुक्त भएको बताइँदै आइएको भए पनि त्यस क्षेत्रमा अहिलेसम्म त्यससम्बन्धि कुनै काम अगाडि बढ्न सकेको छैन । यहाँको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय मात्र पोखराको सबैभन्दा ठूलो मानव निर्मित पर्यटकीय आकर्षण मान्न सकिन्छ । जुलोजिकल पार्कले पोखरा क्षेत्रको भ्रमणमा आउने पर्यटकको बसाई अवधि लम्बिने, स्थानीय बासिन्दाले रोजगार पाउने र पोखरामा मानव निर्मित पर्यटकीय गन्तव्य थपिने अपेक्षा गरिएको छ । बन्यजन्तु उद्धार केन्द्र र प्राणि उद्यानले दुर्लभ र लोप हुन लागेका वन्यजन्तुहरुको संरक्षण, सम्वर्धन र जगेर्ना, प्राकृतिक वातावरण र जैविक विविधताको संरक्षण, वन्यजन्तुहरुको वारेमा अध्ययन र अनुसन्धानमा पनि सघाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->