काठमाडाैँ, २५असार – सत्तारुढ नेकपाले राष्ट्रियसभामा दर्ता मिडिया काउन्सिल विधेयक सरोकारवाला पक्षको परामर्शमा परिमार्जन गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।
सो विधेयकका कतिपय प्रावधानविरुद्ध आन्दोलनरत नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा नेकपाका संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङ लगायत नेताहरुले विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् । मंगलबार नेकपा संसदीय दलको कार्यालयमा भएको भेटमा उपनेता नेम्वाङसँगै नेकपा महासचिव विष्णु पौडेल, राष्ट्रियसभामा नेकपाका नेता दीनानाथ शर्मा, कानुनमन्त्री भानुभक्त ढकाल, सांसद योगेश भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
संसदीय दलको तर्फबाट राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा संशोधन प्रस्ताव तयार पारी महासंघले उठाउँदै आएको मिडिया काउन्सिलको स्वायत्तता, गठन प्रक्रिया,दण्ड–जरिवानालगायतका सरोकारहरुलाई सम्वोधन गर्ने तथा सञ्चारसम्बन्धी अन्य विधेयकहरुमा पनि महासंघसँग छलफल गरी अघि बढाउने लिखित प्रतिवद्धता व्यक्त गरेका छन् ।
संघीय संसद्को राष्ट्रियसभामा २०७६ वैशाख २७ गते सरकारले सो विधेयक दर्ता गरेको थियो। विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै महासंघ आन्दोलित हुँदै आएको छ । सत्तारुढ नेकपाको प्रतिवद्धतापछि महासंघद्वारा घोषित आन्दोलनका कार्यक्रम स्थगित गरिएको महाुसंघले जनाएको छ ।





