बागलुङ,३० असार – बागलुङको जैमिनी नगरपालिकाले व्यवसायीक अलैची खेती थाल्ने भएको छ । अलैचीको लागि उपयुक्त हावापानी रहेका चारवटा वडालाई समेटेर खेती बिस्तार गर्ने भएको हो ।
आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा नै उल्लेख गरेर नगरपालिकाले अलैची ‘ब्लक’ घोषणा गर्ने नीति लिएको नगर उपप्रमुख लिला रानाले बताए । नगरको वडा नं २ र ३ दमेकमा किसानहरुले अलैचीको उत्पादन गर्दै आएका छन् । थप दुई वडामा समेत खेती बिस्तार गरेर ‘ब्लक’ घोषणा गर्ने कार्यक्रम रहेको रानाले बताए ।
वडा नं ९ पैञ्युथन्थाप र वडा नं १० राङखानीमा पनि अलैची खेती बिस्तार गर्ने योजना रहेको छ । ‘घरायसी प्रयोजनका लागि मात्रै उत्पादन हुँदै आएको अलैची बिस्तार गर्ने सोँच बनाएका हौं’ रानाले भने ‘किसानलाई बिरुवा, तालिम र बजारीकरणमा सहयोग गरेर व्यवसायीक उत्पादनमा जोड दिने छौं ।’
अलैची ‘ब्लक’ घोषणा गर्नका लागि नगरपालिकाले प्रदेश सरकारसँग समेत माग गरेको छ । नगरले छनौट गरेका चारवटै वडा अलैचीको लागि सम्भावना भएका क्षेत्र हुन् । भौगोगिक बनावट, माटोको प्रकृति र हावापानीका हिसाबले दमेक, पैञ्युथन्थाप र राङ्खानीमा अलैची उत्पादन राम्रो हुने जैमिनी नगरपालिकाका कृषि प्राबिधिक रविन्द्र शर्माले बताए ।
‘अहिले पनि दमेकका केही अगुवा किसानले अलैची लगाएर राम्रो आम्दानी गर्दै आउनुभएको छ’ शर्माले भने ‘चारवटै वडाको उपल्लो भू–भाग अलैचीका लागि सम्भावना भएका क्षेत्र हुन् । अलैची खेतीको ‘ब्लग’को रुपमा घोषणा गर्न ५ सय हेक्टर जमिन आवश्यक पर्छ । नेपाल सरकारले ‘ब्लक’ घोषणाका लागि बनाएको प्रावधान अनुसार चार वडामा खेती गर्दा ५ सय हेक्टर जमिन नपुगेमा वडा नं ४ सर्कुवामा समेत अलैची खेती गर्नेगरी कार्ययोजना नगरपालिकाले बनाएको छ ।
अलैची ‘ब्लक’ घोषणा गरेर व्यवसायीक उत्पादन थाल्ने घोषणा गरेको नगरपालिकाले पहिलो चरणमा वडा नं २ र ३ दमेकका किसानलाई अलैची सम्बन्धी तालिम दिईसकेको छ । सामाजिक विकास मन्त्राललय, गण्डकी प्रदेशले किसानहरुलाई तालिमका लागि सहयोग गरेको हो । उनीहरुलाई तालिमसँगै प्रतिकिसान २ सयका दरले अलैचीका बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख अर्जुन प्रसाद श्रेष्ठले जानकारी दिए । दमेकका १ सय १० जना किसानले तालिमसँगै बिरुवा पाएका छन् ।
दमेकका अगुवा किसानहरुले यो बर्ष २५ क्विन्टल अलैची उत्पादन गरेका थिए । थप बिरुवा र ‘ब्लक’ घोषणाको खबरले उत्हास थपेको किसान आनन्द अम्माईले बताए । दमेकमा उत्पादित अलैची प्रतिकिलोग्राम ८ सय रुपैयाँमा बारीबाटै बिक्री हुने गरेको छ । केही बर्ष अघिसम्म प्रतिकेजी २२ सय रुपैयाँमा बिक्री भएको अलैची बिचौलीया कारण ८ सयमा झरेको भए पनि ब्लक घोषणाको कार्यक्रमले अलैचीको मुल्य बढ्ने आशा पलाएको दमेकका किसान केशव सापकोटाले बताए ।
नेपालमा उत्पादितको प्रायः अलैची भारतीय बजारमा बिक्री हुने गरेको तथ्यांक छ । अलैचीको सुगन्धित बियाँबाट सुगन्धित औषधी र मसलाको गुणयुक्त तेलसमेत बन्ने गर्दछ । मिठाई, केक, पेष्टी आदीलाई सुगन्धित बनाउन अलैचीको तेल प्रयोग गरिने गरेको छ । आयुर्वेदिक र यूनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैंचीको प्रयोग गरिने जानकारहरु बताउँछन् ।





