बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विद्यालय स्थायी बनाउने शिक्षक नै अस्थायी !

विद्यालय स्थायी बनाउने शिक्षक नै अस्थायी !


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०७६, बिहिबार

बागलुङ, ९ साउन – नेपालका धेरै नागरिकले भारतको सेनामा भर्ती भएर नियमित पेन्सन खाएका छन् । तर नेपालको शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्ने धेरै शिक्षकले दरबन्दी समेत पाउन सकेका छैनन् । उनीहरुको आगमनले बिद्यालय स्थायी अनुमति पाएपनि शिक्षकहरुकै जागिर अनिश्चित भएको हो । राज्यबाट उनीहरुको सेवालाई ध्यान नदिएकोले बर्षौ शिक्षण पेशामा लागेकाहरु जीवनको उत्तरार्धमा रित्तो हात फर्केका उदाहरण धेरै छन् । अघिल्लो बर्ष उमेर हदले तमानखोलाको धनगौज्योती माबिबाट अबकास भएका शिक्षक गणेश सिंह रित्तो हात फर्कनु परेकोले स्थानीयले चन्दा संकलन गरेर पठाएका थिए । उनलाई स्थानीयले चन्दाबाटै १० लाख रुपैयाँ संकलन गरेर घर पठाएका थिए । बागलुङमा उनी जस्ता धेरै शिक्षक अझै कार्यरत छन् । उनीहरुलाई देखाएर बिद्यालयले आफ्नो स्थायी बनाएका थिए । बर्षौदेखि पढाएर राज्यबाट केही नपाएपछि यस्ता धेरै शिक्षकले बिदा लिएर गएका छन् । भारतको उत्तरप्रदेशस्थित सतकाविर नगरका मुनिराम मौर्यले पनि यो पिडा भोगेका छन् । लेखानी माबिमा ३१ बर्ष अध्यापन गराएका मौर्य अब आफ्नो सुरक्षा खोजेका छन् । ३३ बर्षअघि २०४२ सालमा बिएससी पास गरेका मौर्यलाई ल्याएकोले लेखानी माबिले शिक्षा बिभागबाट स्थायी स्विकृति पाएको थियो । तर उनको जागिरको स्थायीत्व भने अझै नभएको हो ।

बिद्यालय स्थायी भएपछि शिक्षा मन्त्रालयले धमाधम दरबन्दीको व्यवस्थापन गरिदियो । नेपाली भाषा सिक्दै गरेका मौर्यले आवस्यक पर्दा गणित, बिज्ञान र अंग्रेजी पढाउन सक्थे । जो शिक्षक ल्याएकोले बिद्यालय स्थायी भयो उसैले स्थायी नियुक्ती पाउने बाटो भने सरकारले बन्द ग¥यो । काठेखोला गाउँपालिकाको सबैभन्दा पुरानो लेखानी माबिले शिक्षक अभावमा बर्षौसम्म प्राथमिक तहको पढाई मात्र गराउन बाध्य थियो । २००७ सालमा स्थापित लेखानी प्राबि २०४५ सालमा मात्र मैर्यको अगमनले माबि अनुमति पाएको हो । २०४८ सालको आयोगमा भारतबाट आएका शिक्षकलाई परीक्षा दिन सरकारले रोकेको थियो । गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्री कालमा त्यस्ता शिक्षकलाई लड्न दिने निर्णय भएपनि नियमाबली बनाउँदा नदिएको उनले टिप्पणी गरे । ‘नेपालको प्रजातन्त्र प्राप्तीपछिका शिक्षा नियमाबलीले हामीलाई बाटो बन्द गरिदियो’ मौर्याले भने, ‘बिद्यालय स्थायी बनाउन ल्याएका शिक्षकलाईनै सौतेलो व्यबहार भएको छ ।’ आयोग खुल्दा परीक्षा दिन नपाएपछि अस्थायी रुपमै ३१ बर्षदेखि लेखानीमा बसेको गुनासो गरे । उनी आएपछि काठेखोला गाउँपालिका ६ को भीमसेन माबिमा पनि भारतीय नागरिक श्रीधर पाण्डे आएका थिए । उनकै उपस्थितिले उक्त बिद्यालयले पनि स्थायी अनुमति पाएपनि ३० बर्षदेखि उनी अस्थायी छन् । जिल्लामा अहिले ४ जना भारतीय शिक्षक कार्यरत छन् । उनीहरुले स्थायी परीक्षा लड्न नपाएका हुन् । २०४८ अघि सरकारले एकपटक मात्र आयोग खुलाएर भारतीयलाई स्थायी नियुक्ती दिएको शिक्षा बिकास तथा समन्वय ईकाइका प्रमुख कुश्मराज उपाध्यायले बताए । ‘त्यतिबेला नियुक्ती भएकामध्ये ५०–६० जनाले पेन्सन पाएका छन्’ उपाध्यायले भने, ‘जिल्ला तहबाट उनीहरुको सेवा प्रमाणित गर्ने काम भने हामीले गरिदिएका छौं ।’ शिक्षकहरुले भारतीय राजदुताबासमा निवेदन दिएर पेन्सनको व्यवस्थापन गरिदिन आग्रह गरेको पाण्डेले बताए ।

२०४२ सालमा मुस्ताङमा आएका मौर्य सरुवा भएर लेखानी आउँदा भर्खरै एसएलसीको तयारी गरेका खिमानन्द कंडेल अहिले यही बिद्यालयका प्रअ छन् । अहिलेका अधिकांस शिक्षक मौर्यले पढाएका बिद्यार्थी हुन् । उनीहरुको पढाईमा ठूलो लगानी गरेका मौर्य अहिले आफ्नो जीवनको सुरक्षा खोजी रहेका छन् । मौर्यले पढाएका बिद्यार्थी यही बिद्यालयमा धमाधम स्थायी भएर आएको उनले बताए । ‘मैले पढाएका धेरै बिद्यार्थी यहीं स्थायी भएर आए, मैले हात धोएर फर्कने बेला भयो’ मौर्यले भने, ‘आश्वासन दिएर पटक पटक सरकारले हामीलाई ढाँटेको छ ।’ बिद्यालयले भने अहिलेसम्म उनलाई सम्मान गरेर राखेको छ । उनको बिषयमा अरु शिक्षकको खोजी पनि भएको छैन । ‘उहाँ योग्य र दक्ष हुनुहुन्छ, हामीले अरु खोज्ने कुरै भएन’ प्रअ खिमानन्द कंडेलले भने, ‘हामीलाई धेरै कुरा सिकाउने शिक्षक छाडेर कसलाई भित्राउने ?’ मौर्य र पाण्डेको उमेरहदले जागिरबाट बिदा लिने बेला भएको छ । ५४ बर्षका मौर्यले पेन्सनको व्वयस्था भएमा जागिर छाड्ने योजना सुनाए । ३१ बर्षदेखि लेखानी स्थित ग्रामीण घरमा डेरा लिएर बसेका मौर्यले श्रीमती र छोरालाई पनि गाउँमै पढाए । छोरा हेमन्त अहिले माइक्रो बायलोजीमा स्नातकोत्तर गर्दैछन् । लामो बसाईको कारण दशै तिहारमा मात्र घर जाने गरेका मौर्या परिवारले नेपाललाई कर्मघर सम्झेका छन् । श्रीमती कंचन नेपाली भाषा र संस्कृतिमा रमाएकी छिन् । छोरा हेमन्तले भने भारत आफ्नो घर भन्ने थाहा समेत नपाएको बताए । चाडपर्वमा जाने भएकोले आफन्तको घर गए जस्तो लाग्ने उनको अनुभव छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->