पर्वत,८ भदौ- पर्वत जिल्लाका बिभिन्न स्थानीय तहहरुमा रहेको बच्चा जन्माउने स्थान अर्थात बर्थिङ सेण्टरहरुको प्रभाव राम्रो रहेको पाइएको छ । जिल्लाका स्थानीय तहहरुले ‘नो होम डेलीभरी’ अभियान चलाइरहेको बेलामा बर्थिङ सेण्टरमा पुगेर बच्चा जन्माउने आमाहरुको उपस्थिति बलियो देखिएको छ । गत आर्थिक वर्ष ०७५÷०७६ मा जिल्लाका ७ ओटा स्थानीय तहमा रहेका ३० ओटा बर्थिङ सेण्टरमा ९ सय जनाभन्दा बढी बच्चाहरू जन्मिएका छन् ।
कुस्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाका अनुसार तोकिएको नियम अनुसार नियमित रूपमा स्वास्थ्य परीक्षण गराएर स्वास्थ्य संस्थामा नै सुत्केरी हुने महिलाहरूको लागि केही सुविधाहरु सरकारले नै प्रदान गर्ने भएकाले पनि जिल्लाका बर्थिङ सेण्टरहरुमा पुगेर बच्चा जन्माउने महिलाहरूको सङ्ख्या राम्रो रहेको पाइएको छ। ‘स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माउँदा बच्चाको लागि २ ओटा टोपी, २ ओटा पेटे भोटो, २ ओटा दौरा, १ ओटा बेबी रयापर, १ ओटा बेबी प्लास्टिक म्याट, आमाको लागि १ थान म्याक्सी भएको न्यानो झोला प्रदान गरिन्छ ।’ उनले भने, ‘त्यो बाहेक नियम अनुसार ४ पटक जाँच गरेको भएमा र स्वास्थ्य संस्थामा सुत्केरी भएमा २८ सय रुपैयाँ यातायात खर्च स्वरूप दिइन्छ ।’
जिल्लामा रहेका बर्थिङ सेण्टरहरुमा शल्यक्रियाको सुविधा नरहेको भए पनि जिल्ला अस्पतालमा भने निःशुल्क शल्यक्रिया गरिने भएका कारण धेरै गर्भवती महिलाहरू जिल्ला अस्पताल आउने र बार्थिङ सेण्टरमा जटिल मानिएका अवस्थाका महिलाहरूलाई पनि जिल्ला अस्पतालमा नै पठाउने गरेका कारण कतिपय बर्थिङ सेण्टरमा भने बच्चा जन्माउने दर थोरै देखिएको सापकोटाले बताए ।
स्थानीय पालिकाका स्वास्थ्य संयोजकहरूले दिएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ९ सय ११ जना बच्चाहरू जन्मिएका छन् । गर्भवती भएका कुल महिलाहरूमध्ये झन्डै आधा अर्थात् ५० प्रतिशत सुविधायुक्त अस्पतालको खोजीमा बर्थिङ सेन्टर तथा जिल्ला अस्पताल छोडेर बाहिर जाने गरेका छन् । यही कारण जिल्लामा झन्डै २ हजार बच्चाहरू जन्मिएको अनुमान छ । तर पालिकाहरूले तयार पारेको ‘टार्गेट’ मा भने जिल्लाभरमा करिब ३ हजारसम्म बच्चाहरू जन्मिन सक्ने भनिएको छ । बाहिर गएर कति महिलाहरूले बच्चा जन्माए भन्ने तथ्याङ्क पालिकामा नराखिने भएको भए पनि जिल्लाका सबैजसो पालिकाका स्वास्थ्य संयोजकहरूले झन्डै आधा वा सो भन्दा बढी महिलाहरू पोखरा, स्याङजा र काठमाण्डौका अस्पतालहरूमा गएर बच्चा जन्माउने गरेको बताए ।
फलेवास नगरपालिकाका स्वास्थ्य संयोजक लालबहादुर थापाका अनुसार शंकरपोखरी स्वास्थ्य चौकीमा ३४, भंगरा स्वास्थ्य चौकीमा ११, लिमीठाना स्वास्थ्य चौकीमा १२, देवीस्थान स्वास्थ्य चौकीमा ३० र पाङराङ स्वास्थ्य चौकीमा १३ जना गरी एक सय जना बच्चाहरू जन्मिएका छन् । फलेवास नगरपालिकामा बच्चा जन्मिन सक्ने क्षमताको लक्ष्य ५ सय राखिएको छ । कतिपयले स्थानीय बर्थिङ सेण्टरलाई विश्वास नमानेर वा आमा र बच्चाको स्वास्थ्य जटिलताका कारण बाहिर लैजानुपर्ने बाध्यता भएका कारण स्थानीय बर्थिङ सेण्टरमा नजाने गरेका छन् । स्वास्थ्य संयोजक थापाका अनुसार नगरपालिकाका कुनै कुनै ठाउँमा अपवादका रूपमा एका दुईले घरमा नै बच्चा जन्माउने गरेको भए पनि अरू सबै महिलाहरू नियमित स्वास्थ्य जाँच गरेर स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने गरेका छन् ।
जिल्लामा सबैभन्दा बढी बच्चा जन्मिने दर भएको पालिका भने कुस्मा नगरपालिका हो । स्वास्थ्य संयोजक उमाकान्त सापकोटाका अनुसार सबैभन्दा बण्ी जिल्ला अस्पतालमा ४ सय ४६ जना बच्चा जन्मिएका छन् । जहाँ २६ जना गर्भवती महिलाको अवस्था जटिल रहेको पाइएको थियो भने ११ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालमा आर्थिक वर्ष ०७४÷०७५ मा ४ सय २ जना बच्चा जन्मिएकोमा अहिले भने सङ्ख्या केही बढेको छ । कुस्मा नगरपालिकाभित्र रहेका कुस्मा स्वास्थ्य चौकी पाङमा २, दुर्लुङमा १२, ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा २७ र आर्थर डाँडाखर्क स्वास्थ्य चौकीमा ३ जना गरी कुल ४ सय ९० जना बच्चाहरू जन्मिएका छन् ।
महाशिला गाउँपालिकाको लुंखुमा ३५, होश्राङदीमा १८, भोक्सीङमा १, पाखापानीमा १६ र फलामखानीमा ६ गरी ७६ जना, पैयुँ गाउँपालिकाको टकलाकमा १९, त्रिवेणीमा २४ र हुवासमा ३७ गरी ८० जना, बिहादी गाउँपालिकाको बर्राचौरमा १४, रानीपानीमा १०, वहाकीमा १७ र उरामपोखरामा १७ गरी ५८ जना, जलजला गाउँपालिकाको मल्लाजमा २४, लेकफाँटमा १६ र शालिजामा ९ गरी ४९ जना र मोदी गाउँपालिकाको बाजुङमा २७, भूकमा ८, तिलाहारमा ३, चित्रेमा १ र देउपुरमा १९ गरी ५८ जना बच्चाहरू गएको आर्थिक वर्षमा जन्मिएका छन् ।
जिल्लाको महाशिला गाउँपालिकाको बालाकोट र कुस्मा नगरपालिकाको खौलामा १÷१ ओटा गरी अब थप २ ओटा बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । दुवै ठाउँहरूमा आवश्यक पूर्वाधारहरू तयार गरी औपचारिक उद्घाटनका लागि तयार पारेर राखिएको छ । यी दुई बर्थिङ सेन्टर थप भएपछि जिल्लामा बर्थिङ सेण्टरको सङ्ख्या ३२ पुग्नेछ ।
बर्थिङ सेण्टरमा पुगेर सुत्केरी हुने अधिकांश आमाहरूको उमेर समूह २० देखि ३० वर्षसम्मको हुने गरेको स्वास्थ्य संयोजकहरूको भनाई छ । सुविधा भएका ठाउँमा भन्दा जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका बर्थिङ सेण्टरहरु बढी उपयोगी देखिएका छन् । आर्थिक रूपमा सम्पन्न भएकाहरूले नियमित स्वास्थ्य परीक्षणदेखि सुत्केरी सम्मका सेवाका लागि पोखरा र अन्य ठाउँका स्वास्थ्य संस्था रोज्दा आर्थिक रूपमा कमजोर रहेकाहरूले भने स्थानीय सेण्टरमा नै बच्चा जन्माउने गरेका छन् ।





