पोखरा,९ भदौ – निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचन गर्ने मिति तय गरिसकेपछि देशभरिकै ध्यान कास्की क्षेत्र नम्बर २ मा केन्द्रित छ । यो तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि खालि भएको निर्वाचन क्षेत्र हो । रवीन्द्रको गएको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । यो प्रतिनिधिसभाको उपनिर्वाचन हुने एकमात्र क्षेत्र हो । यसबाहेक प्रदेशसभातर्फ बागलुङको क्षेत्र नम्बर २ ‘ख’मा पनि उपनिर्वाचन हुँदैछ । प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएपपछि त्यो निर्वाचन क्षेत्र पनि खालि बनेको हो । घर्तीको मंसिर २६ गते जण्डिसका कारण निधन भएको थियो । योसँगै तीन वडाध्यक्षको लागि नवलपुरको बौदिकाली वडा नं ५, लमजुङ सुन्दरबजार– २, बागलुङ बडीगाड गाँउपालिका २ मा उपनिर्वाचन हुँदैछ । चुनाव आउन ३ महिनाभन्दा बढी समय बाँकी छ । तर, कास्कीले भने अहिले सबैको ध्यान खिचेको छ । प्रतिनिधिसभाको एकमात्र निर्वाचन हुने भएर मात्रै पनि होइन, रवीन्द्र अधिकारीले लगातार तीनपटक चुनाव जितेकोले पनि यो क्षेत्रले बढी चर्चा पाएको हो । त्यसो त यहाँबाट जित्नेले सोझै संघीय संसदमा प्रवेश पाउने र राजनीतिक हैसियत पनि बढ्ने भएकाले पनि कास्की चर्चामा रहेको हो । त्यसैले निर्वाचन आयोगले सामान्य तयारी थाल्दा पनि यहाँ भित्रभित्रै चुनावी तयारी तीव्र बनेको हो ।
रवीन्द्रको चुनावी क्षेत्र खालि भएसँगै यहाँ कसले टिकट पाउने भन्नेबारे नेपाल कम्युनिष्ट पार्टीभित्र सबैभन्दा बढी प्रतिष्पर्धा देखिएको छ । काठमाण्डौका एक सभासदलाई राजीनामा दिन लगाएर संघीय संसदमा प्रवेश गर्न आँटे पनि अन्तिम समयमा कुरो नमिलेपछि ‘टाक्सिएका’ एमाले नेता वामदेव गौतम नै मैदानमा ओर्लने हल्लाले पनि यो निर्वाचन क्षेत्र ‘हट केक’ बनेको हो । वामदेव नेपाल कम्युनिष्ट पार्टी नेकपाका यस्ता ‘तुरुप’ हुन्, जस्को सबैलाई खाँचो हुन्छ तर उनी कहिलेकाँहि कसैका पनि भइदिँदैनन् । उनी यतिबेला पार्टी अध्यक्षद्धय केपी ओली र प्रचण्ड दुबैका प्रिय बनेका छन् । विद्रोही स्वभावका उनलाई थुुम्थुम्याउन यतिबेला नेकपाले हुँदै नभएको वरिष्ठ उपाध्यक्ष पद सृजना गरेको छ । त्यो पद पाएपछि उनले आफू चुनाव लड्ने विषयमा पार्टीले छलफल नै नचलाएको तर देशको लागि आफू आवश्यक भएको अभिव्यक्ति दिएका छन् । स्रोतका अनुसार उनका निजी सचिवले एक चरण कास्कीको निर्वाचन क्षेत्रमा आएर जनमत पनि बुझिसकेका छन् । तर, रवीन्द्रको निर्वाचन क्षेत्रमा रविन्द्र भट्टराई पत्नी विद्या भट्टराईकै नाम चर्चामा छ । सक्रिय राजनीतिमा पछिल्लोपटक नभएता पनि नेकपाका नेता कार्यकर्ताहरुले नै विद्यालाई अगाडि बढाउनुपर्ने तर्क राख्दै आएका छन् । विद्या भट्टराई स्वयम् भने यस विषयमा प्रष्ट छैनन् । ‘पार्टीको निर्णयले जे गर भन्छ, त्यही हुन्छ ’ उनले संक्षिप्त प्रतिक्रिया दिएकी छन् ।
नेकपाबाट सोमनाथ अधिकारी प्यासी, तुलबहादुर गुरुङ धनराज आचार्य, राजकाजी गुरुङ (करण) श्रीनाथ बराल, शारदा सुवेदी, भीम कार्की, अखिल उपाध्यक्ष रस्मी आचार्यलगायतको चर्चा भइरहेको छ ।तर, पूर्वएमालेको क्षेत्र भएकोले त्यहाँ पूर्वमाओवादीलाई टिकट दिने सम्भावना कम छ । ‘यो निर्वाचन क्षेत्रबाट विजयी बन्ने सम्भावना जति छ, राजनीतिमा स्थापित हुने अवस्था पनि उत्तिकै छ’, स्रोतले भन्यो,‘त्यसैले कास्कीमै भएका नेताहरु बरु यहाँका प्रतिष्पर्धीले नपाउन्, विद्या पनि नउठून् र आए बरु वामदेव नै आउन् भन्ने चाहन्छन्, किनकि वामदेव अर्को पटक यहीँबाट चुनाव लड्दैनन् ।’ विद्याले इच्छा देखाए राष्ट्रियसभामा पठाउने र सो निर्वाचन क्षेत्र आफू अनुकूल प्रयोग गर्नुपर्नेमा यहाँका सबै नेताहरुको रणनीति रहेको पनि स्रोतको दावी छ ।
औपचारिक रुपमा नेकपाले एउटा भेला बाहेक कुनै छलफल गरेको छैन् । ‘एकपटक भेला बसेका हौँ, निर्वाचनकै लागि भनेर कुनै बैठक बसेका छैनौँ, म उम्मेदवार हुन्छु भनेर कोही पनि आउनुभएको छैन्’, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भने ।
२०७४ को प्रतिनिधीसभा निर्वाचनको मतपरिणाम हेर्ने हो भने कास्कीका तीनवटै क्षेत्र नेकपाको लागि सहज छन् । उक्त चुनावमा रविन्द्र अधिकारी आठ हजार पाँच सय ४६ मत बढि ल्याएर विजयी भएका थिए । निर्वाचन कार्यालयको तथ्यांक अनुसार रविन्द्रले २७ हजार दुई सय सात मत ल्याउँदा निकटतम् प्रतिष्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार छ सय ६१ मत ल्याएका थिए ।कास्कीका तीनवटै प्रतिनिधीसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारले ८ हजार माथिको मतान्तरले विजयी भएका थिए ।तर, समानुपातिकको मतान्तर भने कम छ । यसबाट के बुझ्न सकिन्छ भने उक्त निर्वाचनमा प्रत्यक्षतर्फ व्यक्तित्वको प्रभावले पनि काम गरेको थियो । उपनिर्वाचन हुने कास्कीमा २ मा प्रत्यक्षतर्फ नेकपा ८ हजार ५ सय भन्दा बढि मतान्तरले अगाडि हुँदा समानुपातिकमा भने ६ हजार ५ सयको मतान्तर रहेको छ । अर्थात, त्यतिबेला नेकपाले प्रत्यक्षमा कांग्रेसको भन्दा २ हजार बढी मत प्राप्त गरेको थियो । उसो त, समानुपातिकतर्फ तत्कालीन माओवादी केन्द्रलाई एक मत पनि परेको थिएन ।
अघिल्लो चुनावमाजस्तै अहिले पनि सत्तासीन नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसबीच नै यहाँ प्रतिष्पर्धा हुने निश्चितप्राय छ । गएको हप्तामात्रै नेपाली कांग्रेसका सभापति सहित वरिष्ठ नेताहरु पोखरा आएर उपनिर्वाचनमा जसरी पनि कांग्रेसलाई जिताउन कार्यकर्तालाई निर्देशन दिएर गए । आन्तरिक तयारीले तीव्रता पाउन थालेतापनि मुख्य विषय भने उम्मेदवार को हुन्छन त ? भन्नेमा नै केन्द्रित छ । उम्मेदवार नटुंगाएतापनि उपनिर्वाचनमा कांग्रेसको तयारी भने अगाडि देखिएको छ । गत हप्तामात्रै कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारीहरु पोखरामा भेला भएर कुनै पनि हालतमा कांग्रेसका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए । कांग्रेस सभापति कृष्ण केसीले जिल्ला कार्यसमितिको बैठक नै बसेर चुनावको आन्तरिक तयारी थालनी गरिएको जानकारी दिए । आकांक्षीको संख्या भने नेकपामा जस्तै कांग्रेसमा पनि उत्तिकै छन् । स्वर्गीय रविन्द्र अधिकारीसँगै चुनाव लडेका देवराज चालिसे आकांक्षी दौडको पहिलो नम्बरमा छन् ।
नेपाली कांग्रेसका महासमिति सदस्य ऋषि काफ्ले पनि टिकट फुत्काउनमा लागिपरेका छन् । ‘पार्टीको चुनाव हो, विद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय छु, यसअघिका चुनावमा पनि सक्रियता देखाएकै हो, योगदानको आधारमा पार्टीले टिकट दिए म उम्मेदवार हो’ उनले भने । यसबाहेक धनराज गुरुङ, पुराना नेता खेमराज पौडेल, महादेव गुरुङ, शोभियतबहादुर अधिकारी, विरेन्द्रनारायण बिजुक्छे, गुरु बराल, कृष्ण कार्की, विजय आचार्य लगायतका नेताहरु पनि टिकटको लबिङमा नै छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि उज्ज्वल बरुवालले पनि सो क्षेत्रमा इच्छा देखाएका छन् । गएको चुनावमा उनी सोही क्षेत्रमा विजयकुमार गच्छदारको फोरमबाट उम्मेदवार बनेका थिए । अहिले सो निर्वाचन क्षेत्रमा मतदान गर्न पाउने एक हजार ६ सय १० जना मतदाता यो क्षेत्रमा थप भएका छन् । जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार साउन १६ गतेसम्म उक्त संख्यामा मतदाता थप भएका हुन् । २०७४ को प्रतिनिधीसभामा यो क्षेत्रमा कुल ७० हजार ६ सय ५१ जना मतदाता थिए । थपिएकासँगै उपनिर्वाचनमा यस क्षेत्रबाट ७२ हजार २ सय ६१ मतदाताले मतदान गर्न पाउनेछन् ।
बागलुङमा जनमोर्चा नै निर्णायक
प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको जण्डिसका कारण निधन भएका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको क्षेत्रमा पनि चुनाव लागेको छ । खासगरी बागलुङको सो निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमोर्चाले नै चुनावी गणितमा मुख्य भूमिकाको काम गर्छ । अघिल्लो पटक टेकबहादुरले तत्काली एमाले र माओवादीको समर्थनमा चुनाव जितेका थिए । यसपटक पार्टी एकिरण भएकाले नेकपा त्यहाँ आफ्नै उम्मेदवार उठाउने तयारीमा पनि छ । तर, जनमोर्चाको भूमिका महत्वपूर्ण हुँदा र ऊ कांग्रेससँग मिलेमा नतिजा फरक आउनेमा पनि आफूहरु सचेत भएको एक नेताले ढोरपाटनलाई बताए । गएको चुनावमा टेकबहादुरले ११ हजार ८ सय ८४ मत ल्याउँदा उनका प्रतिद्धन्द्धी कांग्रेसका जीत सेरचनले ८ हजार ६ सय २४ मत ल्याएका थिए । त्यो बेला त्यहाँ ३३ हजार २ सय ४० कूल मतदाता थिए । अहिले त्यहाँको मतदाता संख्या ३६ हजार ५ सय पुगेको छ । कांग्रेस पनि सकेसम्म जनमोर्चालाई आफूतिर तान्ने पक्षमा छ । जनमोर्चा अहिलेको समीकरणलाई अगाडि बढाउने पक्षमा छ तर बल नेकपाको कोर्टमा छ । प्रदेशमा भने जनमोर्चा विपक्षमा रहेको छ । सो निर्वाचन क्षेत्रको तमानखोला र निसीखोला गाउँपालिकामा कांग्रेसको पकड छ । त्यसले पनि समीकरणमा फेरबदल पार्न सक्ने स्रोतले बतायो । ‘ बागलुङको चुनाव अलि ढिलो नै लाग्ला, अहिले अनुमान मात्रै हो’, नेकपा स्रोतले भन्यो,‘ त्यो सिट यसै पनि हाम्रो हैन, प्रतिपक्षी बेञ्चमा बस्नेहरुसँग सहकार्य गर्नुपर्छ भन्ने अवस्था अहिले छैन , त्यसैले पार्र्टीले अब छुट्टै रणनीति बनाउँछ ।’




