आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पर्यटकीय क्षेत्रको प्रचार गर्न पैदल यात्रा

पर्यटकीय क्षेत्रको प्रचार गर्न पैदल यात्रा


  • Dhorpatan News
  • भाद्र १० २०७६, मंगलबार

बागलुङ,१० भदौ – पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रचार प्रसारका लागि बागलुङका बिभिन्न संघ संस्थाहरुले पहल थालेका छन् । जिल्ला सदरमुकाममा रहेका सामाजिक तथा व्यवसायिक संघ संस्था तथा केही स्थानीय तहको संयुक्त प्रयासमा यहाँका पर्यटकीय क्षेत्रको पहिचान र प्रचार प्रसारको काम थालिएको हो ।
बागलुङमा रहेको प्रसिद्ध पञ्चकोटदेखि काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दीको बेनी नगरपालिकाको सिमाानामा पर्ने बलढुंगासम्म पैदल यात्रको कार्यक्रम तय भएको छ । बागलुङमाा रहेका पर्यटन व्यवसायसँग सम्बन्धित संघ संस्था, पत्रकार, उद्योगी व्यवसायी र सरोकारवालालाई पैदलयात्रा गराएर यहाँका पर्यटकीय क्षेत्रको पहिचान तथा प्रचार–प्रसार गर्न थालिएको आयोजक संस्था धौलागिरी पर्यटन प्रवद्र्धन समितिका संयोजक खिमानन्द कँडेलले बताए । आगामी भदौ १४ गते पञ्चकोटदेखि बेलढुंगा सम्मको एक दिने पैदलयात्रा हुने छ ।
पाँच वटा कोटहरु ताराजालकोट, कारिकोट, रायरायकोट, माझकोट र संसारकोटको संयुक्त नामाकरण गरिएको पञ्चकोटबाट पैदलयात्रा सुरु हुने छ । पञ्चकोटमा रहेका सबैको कोटको अवलोकन र बेलुंगा सम्मको पदमार्ग विकासका लागि पैदलयात्राले सघाउने कँडेलले बताए । पञ्चकोट, बेलढुंगा धम्जा, झुलेनी, रिजालचोक, थामनेटा, गाजाको दह, बरेङ, शान्तिपुर क्षेत्रलाई समेत संभावित पैदल मार्गको रुपमा विकास गरी बाग्लुङ र गुल्मीलाई पर्यटकीय सञ्जालबाट जोड्न प्रयास अनुरुप पहिलो चरणको पैदलयात्रा थालिएको कँडेलले बताए ।
पैदल यात्राको लागि धौलागिरी पर्यटन प्रवद्र्धन समिति (धौलागिरी समाज नेपाल), बागलुङ पर्यटन विकास समिति, सामुदायीक होम–स्टे बागलुङ जिल्ला समिति, बागलुङ उद्योग बाणिज्य संघ, काँठेखोला गाउँपालिका, बेनी नगरपालिका, पञ्चकोट व्यवस्थापन समिति, पत्रकार महासंघ बागलुङ, लायन्स क्लब अफ बागलुङ कालीगण्डकी, बेलढुंगा सामुदायिक होमस्टे लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
पैदलयात्रा यहाँको अग्लोधुरी संसारकोट हो र यसको उचाई झण्डै २६७५ मिटर रहेको छ । यस स्थानमा अहिले पनि पुराना दरबारका अबशेषहरु देख्न सकिन्छ । वनभित्र शंख, घण्ट, ओखल र दाउगरा भन्ने परेड खेल्ने ठाउँ समेत रहेकाले यो क्षेत्रको पहिचान र प्रचारप्रसार आवश्यक रहेको पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले बताए । पैदल यात्रामा संसारकोटबाट हिमालहरु, म्याग्दी, पर्वत, बागलुङ, गुल्मी आदि जिल्लाका स्थानहरु अवलोकन गरिने आयोजकले जनाएको छ । यात्रामा थाप्लेको धुरी, कान्छो धौलागिरी, डोयरीहुँदै बागलुुङ र म्याग्दी जिल्लाको सिमाना क्षेत्रमा रहेको प्रसिद्ध बेलढुंगा क्षेत्रमा पुग्ने कार्यक्रम तय भएको छ ।
व्यापक पर्यटकीय संभावना बोकेको पञ्चकोट, संसारकोट, थाप्लेको धुरी, कान्छो धौलागिरी, बेलढुंगा क्षेत्रको प्रचार–प्रसारका लागि पैदलयात्रा फलदायी हुने कँडेलले बताए । उनका अनुसार पैदल यात्राले पर्यटनमैत्री पूर्वाधारहरुको विकासको लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराउने छ । बागलुङ कालिका भगवती मन्दिर, शालिग्राम संग्रहालय (कुँडुले), पञ्चकोट, संसारकोट, बेलढुंगा (स्वर्गाश्रम), झुलेनी, शिवधुरी, रामकोट मन्दिर बिहुँ, बागलुङ बजार क्षेत्रलाई धार्मिक पर्यटकीय चक्रपथको रुपमा विकास गर्न सरोकारवालाई यो यात्राले दबाव पुग्ने कँडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->