म्याग्दी/बेनीमा युवा कलाकारको समूहले नेवार समुदायको मौलिक घोडा नाच प्रदर्शन गरेको छ । एक महिना लामो बर्खेनाच अन्तर्गत आइतबार घोडा नाच प्रदर्शन गरेका हुन् । घोडा नाच नेवार समुदायको मौलिक कला संस्कृतिभित्र पर्दछ ।
नेपाल भाषा मंकाःखलः अन्तर्गतको ल्याम्हः पुचःमा आवद्ध भएका युवाहरुको समूहले मौलिक कला संस्कृतिको संरक्षण गर्न घोडा नाच प्रदर्शन गरिएको अध्यक्ष जेनेश श्रेष्ठले बताए ।
‘‘मौलिक कला संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने जिम्मेवारी युवाहरुको हो । त्यसैले बर्खे नाच अन्तर्गतको आज घोडा नाच प्रदर्शन गरेका छौं । श्रेष्ठले भने, नाच्ने र बाद्यबादनमा सबै युवा कलाकार छौं । घोडा नाचको संरक्षण र पुस्तान्तरणका लागि बेनीमा विगत ४ वर्ष देखि नाच प्रदर्शन गर्दैआएका छौं ।’’
एकजना घोडाको भेषमा र अर्को एकजना गोठालो भएर संगीतको तालमा यो नाच नाच्ने गरिन्छ । बालकलाकारले हातमा घाँसका मुठाहरु लिएर घोडालाई देखाउँदै रमाइलो गर्दछन् ।
बजारमा घोडा नाच देखाएपछि हेर्नेको निकै भिड लाग्ने गर्दछ । घोडा नाच देखाउँदै बजार परिक्रमा गर्ने प्रचलन छ । हरितालिका तीजसम्म नेवारी समुदायका मौलिक नाचहरु प्रदर्शन गर्ने कार्यक्रम रहेको ल्याम्हः पुचःका अध्यक्ष श्रेष्ठले बताए ।





