पर्वत ,१२ भदौ- पर्वतको कुस्मा नगरपालिका ९ कटुवाचौपारी स्थित छेउखन्नकी अनिता नेपालीको छोरा ११ महिनाको भए । उनको शरीर पातलो छ, उचाल्दा तौल हलुका छ । यही कारण उनले छोरालाई जिल्ला अस्पताल पर्वतको पोषण पुस्थापना गृहमा भर्ना गरेकी छिन् । पुनस्थापनामा राखेको पाँच दिनमा नै अनिताको छोराको तौल वृद्धि हुन थालिसकेको छ । बच्चा र आमा दुवैले समय अनुसार खाना र पोषण पाउँदा बच्चाको खस्रो बनेको अनुहारको छाला अब चिल्लो बन्दै जान थालेको छ । उनले छोरालाई पुनस्थापना गृहमा राखेको यो पहिलो पटक भने होइन । ६ महिना अगाडि पनि उनले २ हप्तासम्म छोरालाई पुनस्थापना गृहमा राखेर पोषणको मात्रा पूरा गराएकी थिइन् ।
अनिताले जस्तै आमाहरुले पनि पोषण पुनस्थापना गृहमा राखेर आप्mना बच्चाहरूलाई पोषणको मात्रा पूरा गराइरहेका छन् । बच्चाहरूमा कुपोषण देखिएमा त्यसको निराकरणको लागि स्थापना गरिएको पुनस्थापना गृहमा कुपोषित बच्चाहरूको उपचार राम्रो भएकाले त्यसको प्रभावकारिता पनि राम्रो भएको पुनस्थापना गृहकी इन्चार्ज कमला थापाले बताइन् । उनका अनुसार गत आर्थिक वर्ष ०७५÷०७६ मा ६६ जना कुपोषित बच्चाहरूलाई भर्ना गरेर पोषणको मात्रा पूरा गराएर घर फर्काइएको छ । पुनस्थापना गृहमा खाना नखाने, उमेर र उचाइ अनुसार तौल नभएका, धेरै बिरामी परिरहने बच्चाहरूलाई भर्ना गरेर चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा पोषणको मात्रा पूरा गराउने गरिएको छ । ‘आर्थिक वर्ष ०७४÷०७५ मा १०÷१२ जना बच्चाहरूलाई मात्र पोषण गृहमा राखिएकोमा गएको आर्थिक वर्षमा ६६ जनाले सेवा पाएका छन् ।’ इन्चार्ज थापाले भनिन, ‘यहाँ राखिएका बच्चाहरूमा पोषणको मात्रा पूरा भएको छ, बच्चाको शरीरमा परिवर्तन भएको छ, यही विश्वासका कारण यहाँ ग्रामीणदेखि सहरी क्षेत्रका बच्चाहरू पनि आउने गरेका छन् ।’
जिल्ला अस्पताल पर्वतकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोषी थपलियाले पुनस्थापना गृहमा बच्चाहरूको मात्र नभई आमाहरूको शरीरमा रहेको पोषणको अवस्था हेरिने र सोही अनुसार पोषणको मात्रा आमालाई पनि खुवाइने भएका कारण सेवा प्रभावकारी बनेको बताइन् । ‘घरधन्दाका कारण कतिपय आमाहरूले आप्mनो बच्चालाई समयमा स्तनपान समेत गराउन नसक्ने पाइएको छ, त्यहीँबाट नै बच्चामा कुपोषण सुरु हुन्छ ।’ उनले भनिन, ‘हाम्रा कर्मचारी साथीहरूले बच्चाका आमाहरूलाई तरकारी काट्ने, पकाउने र खाने तरिकाहरू सबै प्रयोगात्मक रूपमा सिकाउनुहुन्छ । आमाहरूले घरमा पनि त्यस्तै गरिदिनुभयो भने आप्mना बच्चाहरू कुपोषित भए भनेर यहाँ ल्याउनु पर्दैन ।’
डा. थपलियाका अनुसार कुपोषणको चरण हेरेर बच्चाहरूलाई पुनस्थापना गृहमा राख्ने गरिएको छ । सुरुको अवस्थामा आएको भएमा पोषणको मात्रा पूरा गर्ने तरिकाहरूको बारेमा सिकाएर पठाउने गरिएको छ भने कुपोषणबाट ग्रसित भइसकेको बच्चा भएमा भर्ना गरिन्छ । आमासँग विभिन्न प्रश्न सोधेर बच्चा कुपोषित हुनुको कारण पत्ता लगाएर सोही अनुसारको उपचार गर्दा अहिलेसम्म भर्ना गरिएका बच्चाहरूको स्वास्थ्यमा प्रगति भएको उनको भनाई छ ।
भर्ना गरिएका बच्चाहरूलाई सुरुमा दूधको मात्रा पूरा गराउन सुरुमा ‘एफ सेभेन्टीन’ र पछि ‘एफ हन्ड्रेड’ खुवाइने पोषण पुन स्थापना गृहमा कार्यरत कर्मचारीहरू बताउँछन् । उनीहरूका अनुसार सुरुमा दूधको मात्रा पूरा गराएर त्यसपछि जाउलो, अण्डा, फलपूmल लगायतका खानेकुराहरू समय तालिका अनुसार सफा तरिकाले खुवाउने गरिन्छ । अस्पतालबाट सेवा लिएर गएका आमाहरूलाई पछिसम्म पनि फोन गरेर बच्चाको अवस्थाको बारेमा सोधपुछ गर्नुको साथै भर्ना गरेर राखिएका अवस्थामा सिकाइएका कुराहरूलाई पुनस्मरण गराउने गरिएको छ । भर्ना गरिएका बच्चाहरूलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लू.एच.ओ) ले तयार पारेको उमेर अनुसारको ‘क्यालोरी क्यालकुलेसन टेबल’ हेरेर पोषण प्रदान गर्ने गरिएको छ ।
भर्ना गरेर राखिएका बच्चाहरूको हरेक दिन तौल र स्वास्थ्य परीक्षण गरेर सोही अनुसारको उपचार गरिने भएका कारण अहिलेसम्म ल्याइएका बच्चाहरूको स्वास्थ्य अवस्था राम्रो बनाउन सकिएको अस्पतालको भनाई छ । पोषण पुन स्थापना गृहमा ६ महिनाभन्दा माथिका र ५ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई पोषण सेवा प्रदान गर्ने गरिएको छ ।





