पर्वत,१६ साउन – गत आर्थिक वर्ष २०७५÷०७६ मा पर्वत जिल्लामा भएका १५ ओटा दुर्घटनाहरूमा परी १५ जनाको ज्यान गएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार आर्थिक वर्षको १२ महिनाको अवधिमा १० जना पुरुष र ५ जना महिलाको ज्यान गएको हो । १५ ओटा दुर्घटनाहरूमा ५ ओटा बस, ४ ओटा जिप तथा कार, ३ ओटा ट्रयाक्टर र ६ ओटा मोटरसाइकल संलग्न रहेका थिए । ती दुर्घटनाहरूमा ३४ जना गम्भीर घाइते भएका छन् । जसमा १९ जना पुरुष, ११ जना महिला, १ जना बालक र ३ जना बालिका रहेका छन् । यस्तै, २५ पुरुष, १४ महिला, १ बालक गरी ४० जना सामान्य घाइते भएका छन् ।
आर्थिक वर्ष ०७४÷०७५ को तुलनामा गत आर्थिक वर्षमा दुर्घटनाको सङ्ख्यामा १ सय ५० प्रतिशतले, दुर्घटनामा संलग्न सवारीहरूको सङ्ख्यामा १ सय ५७ प्रतिशतले, ज्यान गुमाउनेको सङ्ख्यामा ५ सय प्रतिशतले र सामान्य घाइते हुनेको सङ्ख्यामा ३ सय ६३ प्रतिशतले वृद्धि भएको पाइएको छ । तर गम्भीर घाइते हुनेको सङ्ख्यामा भने २.८५ प्रतिशतले घटेको छ ।
यसै गरी, आर्थिक वर्ष ०७३÷०७४ को तुलनामा गत आर्थिक वर्षमा दुर्घटनामा संलग्न सवारीको सङ्ख्या ८० प्रतिशतले, ज्यान गुमाउनेको सङ्ख्या १ सय ५० प्रतिशतले, गम्भीर घाइते हुनेहरू १ सय १२ प्रतिशतले, सामान्य घाइते हुनेहरू १ सय २२ प्रतिशतले र दुर्घटनाको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भएको देखिएको छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्ने हो भने गत आर्थिक वर्ष सवारी दुर्घटनाका हिसाबले बढी असुरक्षित देखिएको छ भने आर्थिक वर्ष ०७४÷०७५ बढी सुरक्षित देखिएको छ । तीन आर्थिक वर्षमा पर्वतमा कुल ३१ ओटा दुर्घटना भएका छन् भने ती दुर्घटनाहरूमा २४ जनाको ज्यान गएको छ । यसैगरी, ३५ ओटा सवारी साधनहरू दुर्घटनामा संलग्न रहेका छन् भने ८५ जना गम्भीर घाइते र ६९ जना सामान्य घाइते भएका छन् ।
जिल्लामा दुर्घटनाका दर बढ्दै गएपछि गएको आर्थिक वर्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतनामूलक र कारबाही मूलक विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको थियो । जिल्लामा सवारी दुर्घटनाको दर घटाउनको लागि तत्कालीन प्रमुख रामकृष्ण गौलीले सडकमा गुड्ने सवारीहरूको भौतिक अवस्थाका बारेमा सडकमा नै प्राविधिकहरू लगेर जाँच गर्ने अभियान चलाएका थिए । त्यसबाहेक समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बस, ट्याक्सी र मोटरसाइकलका चालकहरूलाई सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिएको थियो । पछिल्लो आर्थिक वर्षमा दुर्घटनाका साथै ज्यान गुमाउने, गम्भीर घाइते हुने र सामान्य घाइते हुनेहरूको सङ्ख्या वृद्धि भएको भए पनि प्रहरीले भने आप्mनो अभियानलाई निरन्तरता दिइरहेको ट्राफिक प्रहरी प्रमुख क्षेत्रीले बताए। ट्राफिक प्रहरीको सक्रियताकै कारण अहिलेको तथ्याङ्क यतिमै सीमित भएको उनको दाबी छ ।





