म्याग्दी, १६ साउन – स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित चार जना कर्मचारी घुस लिएको आरोपमा अख्तियार खोरमा परेपछि स्वास्थ्य कार्यालय सुनसान बनेको छ । साउन १२ गते सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियारले निमित्त कार्यालय प्रमुख सहित चार जनालाई नियन्त्रणमा लिएको थियो ।
निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्य, स्टोरकिपर रघुनाथा रेग्मी ,लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका थिए । कार्यालय प्रमुख सहित चार जना कर्मचारी पक्राउ परेपछि कार्यालय सुनसान भएको छ । बुधबार कार्यालयमा पुग्दा तल्लो तहका कर्मचारीहरु निराश र खिन्न मुडमा देखिन्थे ।
कार्यकक्षमा ताला लगाइएको छ । कार्यालय प्रमुख सहित चार कर्मचारी पक्राउ परेपछि सामान्य रुपमा प्रशासनिक काम गर्ने गरेको कार्यालयका तथ्याङक अधिकृत मेघनाथ रेग्मीले बताए ।





