पर्वत,१८ भदौ- युवा पुस्ताले यौन सम्बन्धका बेलामा गर्भ निरोधक सामग्रीको प्रयोग नगरी असुरक्षित यौन सम्बन्ध राख्दा गर्भपतन सेवा लिनेहरू बढ्दै जान थालेका छन् ।
जिल्ला अस्पताल पर्वतको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०७५÷०७६ मा कुल एक सय ६४ जनाले जिल्ला अस्पतालमा मात्र गर्भपतन गराएका छन् । यी मध्ये १० जना २० वर्षभन्दा कम उमेर रहेका युवतीहरू छन् भने बाँकी रहेका १ सय ५४ जना २० वर्ष भन्दा माथिका छन् । २० वर्ष भन्दा तलका ७ जनाले औषधि सेवन गरेर गर्भपतन गराएका छन् भने ३ जनाको सर्जरी मार्पmत गर्भपतन गराएका छन् । यस्तै, २० वर्ष भन्दा माथिका १ सय २४ जना महिलाहरूले औषधिको सेवन गरेर गर्भपतन गराएका छन् भने ३० जनाको सर्जरी गरेर गर्भपतन गराइएको अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोषी थपलियाले बताइन् ।
वडामा रहेको स्वास्थ्य चौकीहरूमा स्वास्थ्य कार्यालयको परिवार नियोजन कार्यक्रम अन्तर्गत गर्भ निरोधक साधनहरू कण्डम, पिल्स, आई.यु.सी.डी र ईम्प्लान्ट उपलब्ध गराइएको भए पनि त्यसको प्रयोगमा अझै पनि हिचकिचाउने गरेको देखिएको छ । ‘गाउँमा रहेका स्वास्थ्य संस्थाहरू सबैमा इम्प्लान्ट र आई.यु.सी.डी. सहजै पाउने अवस्था नरहेको भए पनि खाने चक्की पिल्स र कण्डम त जति बेला पनि सजिलै पाउन सकिन्छ ।’ उनले भनिन, ‘पढेर शिक्षित भएकाहरूले पनि अस्थायी साधन प्रयोग नगरी गर्भपतन गराएका छन् । यो त स्वास्थ्यका लागि ठुलो जोखिम हो ।’
दुई पटक सम्मको गर्भपतनले स्वास्थयमा क्षति नै नपु¥याईहालेपनि त्यस भन्दा बढी पटक पनि गर्भपतन गराएमा महिलाको स्वास्थ्यमा गम्भीर समस्या आउनुका साथै बाँझोपन, गर्भ आपैm खेर जाने, प्रजनन अङ्गहरूमा सङ्क्रमण हुने, मानसिक तनाव लगायतका समस्या हुने डा. थपलियाको भनाई छ । अहिलेका युवा युवतीमा गर्भपतनको सुविधा उपलब्ध छ भन्ने सोच रहेकाले पूर्व सावधानी नअपनाउने गरेको बताउँदै उनले सुविधा छ भन्दैमा पटक पटक गर्भपतन गराउँदै जीवनका लागि नै अभिशाप बन्न सक्ने बताइन् ।
आकस्मिक रूपमा गर्भ निरोधक लागि प्रयोग गरिने ‘कन्ट्रयासेप्टीभ पिल्स’ हरू सजिलै पाउने भएकोले पनि अस्थायी साधनहरू प्रयोग नगरी यौन सम्बन्ध राख्ने गरेको देखिएको छ । औषधि पसलहरूमा यस्ता गर्भ निरोधक पिल्सहरु सजिलै किन्न पाइने र त्यो खानाले यौन सम्बन्ध राखेको ७२ घण्टासम्मको अवधिमा गर्भ नरहने कारण धेरै युवा युवतीहरूले ‘कन्ट्रयासेप्टीभ पिल्स’ किन्न आउने गरेको औषधि व्यवसायीहरू बताउँछन् । चिकित्सहरुका अनुसार कतिपय ठाउँमा सहजै तरिकाले गर्भ निरोधक साधनहरू नपाइनु, गर्भपतनका असर र यौन प्रसारित रोगहरूको बारेमा थाहा नहुनु, बुझेर पनि अस्थायी साधन प्रयोग गर्न हिचकिचाउनु लगायतका कारणले गर्भपतन गर्नुपर्ने बाध्यता छ ।
जिल्ला अस्पतालमा मात्र गर्भपतन गराउनेको सङ्ख्या १ सय ६४ देखिनुले जिल्लामा गर्भपतन गराउनेहरूको सङ्ख्या ठुलो रहेको सहजै अनुमान गर्न सकिन्छ । सदरमुकाम कुस्माबाट पोखरा बसमा डेढ घण्टामा पुग्न सकिने भएकोले सुरक्षा र गोपनीयताको खोजीमा पोखरा पुगेर गर्भपतन गराउनेहरूको सङ्ख्या धेरै छ। यस्तै, बागलुङ र स्याङजा पुगेर पनि पर्वतवासीहरूले गर्भपतन सेवा लिने गरेका छन् । कतिपय किशोरी तथा महिलाहरूले सरकारले गर्भपतनका लागि तोकेको आधिकारिक ठाउँ बाहेक अन्य मेडिकलहरूमा पुगेर पनि गर्भपतन गराउने गरेका छन् ।
परिवार नियोजनको साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रूपमा लिने गरेका कारण सुरक्षित गर्भपतनकै दुरुपयोग भएको छ । राज्यले बढीमा १२ हप्ता सम्मको गर्भ गर्भवती महिलाको इच्छानुसार पतन गराउनुलाई आकस्मिक सेवाको रूपमा मान्यता दिए पनि गर्भपतन भने संस्कृतिको रूपमा विकास हुँदै गरेको देखिएको छ ।





