शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

वामदेवसँग भिड्न देउवा रिझाउँदै कांग्रेसका आकांक्षीहरु

वामदेवसँग भिड्न देउवा रिझाउँदै कांग्रेसका आकांक्षीहरु

सहज छैन, मतान्तर कम गर्न


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७६, शुक्रबार

पोखरा,२७ भदौ – कांग्रेस नेता कृष्ण कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखे,‘कास्की जिल्लामा हामी कोही मान्छे नै नभएजस्तो गर्छन्, यी राजनीतिक दल । कांगेस भन्नेहरु आफूमात्र उच्च नेता हुँ, अरु नीच हुन्न भन्ने सोचाई भएका मानशिक दरिद्रहरु । स्मरण रहोस्, कास्कीमा बक्रदृष्टि नडाल,हामी टुलुटुलु हेर्दैनौँ । हाम्रो आँखा फुटेको पनि छैन, होस गुमेको पनि छैन । बाहिरका हावादारीहरुलाई कास्की जिल्ला नेता बनाइदिनुपर्ने ।’
यो पोष्टसँगै उनले नेकपाका नेता वामदेव गौतम, कांग्रेस नेता धनराज आचार्य र साझा पार्टीका रवीन्द्र अधिकारीको तस्वीर पनि राखे । उनको पोष्टमा क्रिया–प्रतिक्रिया जारी छ । आउँदो मंसिर १४ गते कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न चाहने बाहिरी जिल्लाका नेताहरुविरुद्ध उनी खनिए । उनी आफै पनि यो चुनावमा कांग्रेसबाट उम्मेदवारको दौडमा छन् । कांग्रेसमा कसले टिकट पाउने निश्चित छैन तर नेपाल कम्युनिष्ट पार्टीबाट वामदेव गौतम नै चुनाव लड्ने भएपछि यसले कांग्रेसमा पनि एकखालको तरंग भने ल्याएको छ । बाहिरी जिल्लाबाट आएका वामदेवलाई कम आँकलन गर्ने र बलियो मान्ने दुबै जमात कांग्रेसभित्र छ । तर, टिकटको अन्तिम निर्णय सभापति शेरबहादुर देउवाकै मुखमा भएकाले सबै आकांक्षीहरु उनलाई रिझाउने ध्याउन्नमा छन् । नेपाली कांग्रेसमा यो क्षेत्रबाट अघिल्लो चुनावमा पराजीत देवराज चालिसे, महासमिति सदस्य ऋषि काफ्ले, पुराना नेता महादेव गुरुङ, खेमराज पौडेलदेखि युवानेता धनराज आचार्य, गुरु बराल, उज्वल बरुवाल, कृष्ण कार्की, विरेन्द्रनारायण विजुक्छेसम्मले इच्छा देखाएका छन् ।
कांग्रेसले यो चुनावलाई मिनी जनमत संग्रहको उपमा दिएको छ । ऊ यो चुनाव जितेर कार्यकर्ताको गुमेको मनोबल बढाउने र सरकार अलोकप्रिय रहेको सन्देश प्रवाहित गर्न चाहन्छ । संघीय संसदमा कांग्रेसलाई एक सिट थपिँदैमा केही हुँदैन तर सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेलसम्मले यो चुनाव जसरी पनि जित्न कार्यकर्तालाई निर्देशन दिँदै आएका छन् । जित्ने आधार के हो ? उनीहरुलाई थाहा छैन तर उनीहरुको एकस्वर छ,‘ यो पटक कांग्रेसबाट टिकट जसले पाए पनि उसकै पछि लाग्नुहोस् ।’ कांग्रेसभित्र अन्तरघात नभएका चुनाव जितिन्छ भन्ने मनोदशाले काम गरेको छ । तर, वामदेव नै चुनावी मैदानमा आउने हो भने सबैभन्दा बलियो उम्मेदवार पनि उनी नै बन्ने आँकलन पनि एकाथरी कांग्रेसको छ । किनकि, चुनावमा साम,दाम, दण्ड, भेद प्रयोग गर्न उनी माहिर मानिन्छन् । राष्ट्रिय राजनीतिमा रहेको उनको उच्च कद, नेकपामा बढ्दो प्रभावले पनि उनको विरुद्ध नेकपाका कार्यकर्ता जान सक्ने छैनन् । तर, बाहिरी जिल्लाको उम्मेदवार हुनु, आफ्नै निर्वाचन क्षेत्रबाट पराजय भोग्नु र जित्नैको लागि पोखरा आएको नकारात्मक टिप्पणीबाट केही लाभ पाइनेमा भने उनीहरु आशावादी छन् ।
पार्टीमा जति आकांक्षी भए पनि टिकट दिने अन्तिम निर्णय भने सभापति शेरबहादुर देउवाले नै गर्नेछन् । यतिबेला टिकटका आकांक्षीहरु नेताको दैलो चहारेर पोखरा फर्केका छन् । स्रोतका अनुसार देउवा यो पटक जित्ने मान्छेलाई टिकट दिने मुडम देखिन्छन् । तर, अन्तिम अवस्थामा उनले के निर्णय गर्छन् भन्नेमा स्वयं उम्मेदवारका दावेदारहरुले नै अनुमान लगाउन सक्ने अवस्था छैन । सत्ता राजनीतिका माहिर खेलाडी देउवाले वामदेव नै उठ्ने भए उस्तै परे शक्तिकेन्द्रको आडमा कमजोर व्यक्तिलाई टिकट दिने आशंका पनि कांग्रेसीको छ । ‘वामदेव हार्न हैन, जसरी पनि जित्न आएका हुन्, त्यो बेला उनले देउवालाई प्रभावमा नपार्लान् भन्न सकिँदैन’, स्रोतले भन्यो,‘ जुवा खेल्न हाम्रा सभापतिजस्तो कसले सक्छ र ? हिजो चितवन र गोर्खाकै उदाहरण काफी छ नि ।’ तर, उम्मेदवारका आकांक्षीहरुले कांग्रेसका सबै शक्तिकेन्द्रमा आफ्नो कुरा पु¥याएका छन् । टिकट आकांक्षी एक नेता सभापति देउवाकहाँ जाँदा देउवाले स्वयंले अरु आकांक्षीहरु पनि आफूकहाँ आएको बताएपछि देउवा यो पटक आफ्नो गुटकोलाई भन्दा पनि जित्नेलाई नै टिकट दिने मुडमा पो हुन् कि भन्ने पनि भएको उनीहरुको भनाई छ । तर, जिल्ला नेतृत्वको सिफारिसको पनि महत्व हुने भएकाले कम्तिमा ती आकांक्षीहरु आफ्नो नाम यताबाट जसरी पनि केन्द्रमा पठाउने ध्याउन्नमा छन् । त्यसैले उनीहरुले कास्की सभापति कृृष्ण केसीलाई ‘खातिरदारी’ गर्न कुनै कसर बाँकी राखेका छैनन् । केसी भने यतिबेला अस्वस्थ छन् ।
सहज छैन, मतान्तर कम गर्न
तर, ‘मिनी जनमत संग्रह’को रुपमा लिएको नेपाली कांग्रेसले सो क्षेत्रमा जीत हात पार्न ठूलो मेहनत गर्नुपर्ने देखिएको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी ८ हजार ५ सय ४६ मतान्तरले विजयी भएको क्षेत्रमा त्यति ठूलो अन्तर कम गर्नु चुनौतिपूर्ण भएको स्वयं कांग्रेसका नेताहरुले नै स्वीकारेका छन् । ‘ ८ हजार मतान्तरलाई आफ्नो पक्षमा ल्याउनु चुनौतिपूर्ण छ तर असम्भव छैन’, कांग्रेस महासमिति सदस्य ऋषि काफ्लेले भने,‘ सो पहिलो चुनावमा रवीन्द्रजी र सोभियत दाई ( कांग्रेस उम्मेदवार सोभियतबहादुर अधिकारी) को मतान्तर करिब २ हजारकै हाराहारीमा थियो, अहिले पनि हामी त्यही अनुपातमा एमालेभन्दा पछाडि छौँ ।’ उनले नेपाल कम्युनिष्ट पार्टीको सरकारको अलोकप्रियता र कांग्रेसले तल्लो तहमा भिजेको व्यक्तिलाई उम्मेदवार बनाए जीत निश्चित भएको दावी गरे । अघिल्लो चुनावमा सो क्षेत्रबाट कांग्रेस प्रत्यासी देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । त्यसपछि विवेकशिल साझाले ८ सय ४३, संघीय समाजवादी फोरमले ३ सय ४१, नयाँ शक्तिले २ सय ४१ नेकपा मालेले ५ सय ४९ , स्वतन्त्र निर्मल खत्रीले १ सय १९ र मंगोल नेसनल अर्गनाइजेसनले १ सय ३० मत प्राप्त गरेको थियो । त्योभन्दा थोरै मत ल्याउने अन्य दलहरुको समेत मत एकैतिर गयो भने पनि त्यहाँ तत्कालीन एमालेले पाएको मत बढी हुन आउँछ । यस्तोमा कांग्रेसलाई चुनाव जित्न यसै पनि गाह्रो भएको स्वयं कांगे्रसी स्वीकार्छन् ।
उपनिर्वाचन हुन लागेको क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा रहेका छन् । तीमध्ये ४ वटा वडामा मात्र गएको स्थानीय चुनावमा कांग्रेसले जितेको थियो । बाँकी सबै वडाहरु एमालेको पोल्टामा गएका थिए । तीमध्ये केही वडामा त आधाजसो मतले नै एमाले विजयी बनेको थियो । आफूले जितेका वडामा भोट बढाउने र बाँकी वडाको मतान्तर घटाउने एवं सो क्षेत्रमा भिजेका उम्मेदवार भए चुनाव जितिने आँकलन नेपाली कांग्रेसको रहेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ४ नेपाली कांग्रेसको पकड क्षेत्र मानिन्छ । यहाँका वडाध्यक्ष शंकर बास्तोलाले गएको चुनावमा ८ सय १७ मत पाए भने उनका प्रतिद्धन्द्धीले ६ सय ३२ मत पाए । मुख्य सहरी क्षेत्र भएको र अघिल्लो चुनावमा रवीन्द्रको प्रभावका कारण उनलाई दिइएको मत पनि उपनिर्वाचनमा आफूलाई आउने कांग्रेसको अनुमान हो । वडा नम्बर ७ एमालेको प्रभाव क्षेत्र हो । त्यहाँ एमालेको तर्फबाट विजयी वडाध्यक्ष १२ सय १२ मत पाउँदा उनका निकतम् प्रतिद्धन्दीले ११ सय ११ मत पाएका थिए । वडा नम्बर ८ लाई कांग्रेसले आफ्नो क्षेत्र मान्छ तर स्थानीय चुनावमा सो क्षेत्रबाट एमालेका रुद्रनाथ बराल १८ सय ९ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्दी कांग्रेसका सारदा गिरिले १६ सय ६३ मत प्राप्त गरिन् । वडा नम्बर ९ मा कांग्रसका वडाध्यक्षले ११ सय ७४ र एमाले वडाध्यक्ष उम्मेदवारले ९ सय ७४ मत पाएका थिए । तत्कालीन माओवादी केन्द्रले पाएको भोट ३ सय १३ र राप्रपाको १ सय ४१ मत थियो । सो वडा पनि कांग्रेसकै पकड क्षेत्र मानिन्छ । तत्कालीन माओवादी केन्द्र र एमाले मिल्दा पनि वडामा कांग्रेस नै अगाडि हुने आँकलन नेताहरुको छ । किनिक, स्थानीय निर्वाचनमा सो क्षेत्रबाट कांग्रेसका मेयरलाई १३ सय ३ र एमालेका मेयरलाई १ हजार ४९ मत परेको थियो । सुकुम्बासी बस्ती भएकाले त्यहाँबाट यही पार्टीलाई मत जान्छ भनेर भन्न चाहिँ सकिँदैन । तर, आउँदो उपनिर्वाचनमा यो क्षेत्रबाट कांग्रेसले करिब … मतले अग्रता कायम गर्ने नेता ऋषिराम काफ्लेले दावी गरे । स्थानीय निर्वाचनमा वडा नम्बर ११ मा पनि कांग्रेसले करिब २ सय मतले अग्रता कायम गरेको थियो । त्यहाँका वडाध्यक्ष मोहन बास्तोलाले १७ सय ७८ र प्रत्यासी देवेन्द्र बास्तोलाले १५ सय ४९ मत ल्याएका थिए । वडा नम्बर ११ मा कांग्रेसको आफ्नो मत अझ बढ्ने आँकलन कांग्रेसीको रहेको छ ।
वडा नम्बर १५ मा स्थानीय निर्वाचनमा एमालेका प्रकाश पौडेलले १ हजार ९ सय ४४ मत पाएका थिए भने कांग्रेसका टोपबहादुर थापाले १ हजार ५ सय ४७ मत पाएका थिए । त्यो झिनो अग्रतालाई तोड्न नसकिए पनि अन्तर कम गर्न सकिने सोच कांग्रेस नेताहरुमा रहेको छ । नेपाली कांग्रेसको समस्या भनेको वडा नम्बर १६, १७,२०, २१ र ३३ नम्बरमा हो । वडा नम्बर १७ एमालेको गड मानिन्छ । गएको स्थानीय चुनावमा वडा नम्बर १६ मा एमालेका जीवन आचार्यले ३१ सय ३३ र कांग्रेसका पदमसिंह गुरुङले २८ सय ६८ मत, वडा नम्बर १७ मा एमालेका तीर्थ अधिकारीले ३ हजार ६४ र कांग्रेसका पुण्डरी बरालले १७ सय ६३, वडा नम्बर २० मा सीम गुरुङले १२ सय २३ र कांग्रेसका महेन्द्र अधिकारीले ६ सय ३१, २१ मा खगराज आचार्यले २५ सय १३ र कांग्रेसका केवल गिरिले ८ सय १३ तथा वडा नम्बर ३३ मा शिवप्रसाद आचार्यले २३ सय ७३ र कांग्रेसका भोजराज आचार्यले १९ सय ९१ मत पाएका थिए । पोखरा लेखनाथ महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडालाई राखेर २ नम्बर क्षेत्र बनाइएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->