बागलुङ, ३० भदौ – नेपाली कांग्रेसको जागरण अभियानमा नेता र भातृसंगठहरुको जुहारी चल्ने गरेको छ । संगठन बिस्तार र सुदृढीकरणका लागि आयोजित कार्यक्रम भएपनि जुहारी मार्फत रिस पोख्ने काम समेत हुने गरेको हो ।
गत सातादेखि कांग्रेसले दोश्रो चरणको जागरण अभियान थालेको छ । यस अघि भएको पहिलो चरणको जागरण अभियानमा नीतिगत रुपमा तोकेर केही व्यक्तिलाई मात्र आसन ग्रहण गराउने र बोल्न दिने व्यवस्था भएकोमा यसपटक नीति नबनेपछि एउटै कार्यक्रममा धेरै नेताले बोल्न खोज्ने, बोल्दा पार्टी बिरुद्ध बोल्ने र बैठकमा बोल्ने असन्तुष्टीहरु पोख्ने गरेको एक कार्यकर्ताले बताए ।
जागरण अभियानकै क्रममा शनिवार आयोजित युवा संवाद कार्यक्रममा पनि मंचमा बसेका दर्जन नेताले मात्र भाषण गरेपछि हलमै असन्तुष्टी पोखिएको थियो । केन्द्रीय प्रतिनिधिको रुपमा आएका नेता नवराज गुरुङले तोकिएको कार्यक्रममा तोकिएकै बिषयमा केन्द्रीत हुनुपर्नेमा नभएको टिप्पणी गरे । ‘नेताको कुरा सधै सुनिएको थियो, आज युवालाई सरकार, पार्टी र राष्ट्रियता बारेको बुझाई र अपेक्षा व्यक्त गर्न भनिएको थियो, तर नेतालेनै बोले’ गुरुङले भने, ‘एकदुइ जना प्रश्न राख्न उठेका युवापनि हिडे ।’ ग्रामीण क्षेत्रमा हुने कार्यक्रममा भने नेता र कार्यकर्ताको न्युन उपस्थिति भएको उनले बताए ।
केन्द्रीय प्रतिनिधि खटाएर हरेक जिल्ला, क्षेत्र र उपक्षेत्रमा जागरण अभियान संचालन भैरहेको छ । अभियानमा संगठन बिस्तार सँगै बागलुङ क्षेत्र नं. २ को २ मा भने चुनावी प्रचार पनि भैरहेको छ । नेकपाले जनतासँग छलफल चलाएको छ भने कांग्रेसले जागरण अभियान चलाएपछि नेता तथा कार्यकर्ताहरु गाउँगाउँमा पुगिरहेका छन् । युवा संवाद कार्यक्रममा धौलागिरी बहुमुखी क्यामपसका स्ववियु सभापति मनिष थापा, उपसभापति बालकृष्ण शर्मा, सचिव बिष्णुराज पौडेल, नेविसंघका सदस्य मनोज सापकोटा लगायतले जिज्ञाशा राखेका थिए ।
नेपाल तरुण दलका अध्यक्ष उमाकान्त शर्मा बाबुको अध्यक्षता र नेविसंघका सचिव श्रीकृष्ण पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा कांग्रेस सभापति दिपेन्द्र बहादुर थापा, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, पूर्व मन्त्री चम्पा खड्का, प्रदेश सभा सदस्य मणीभद्र शर्मा, क्षेत्रीय सभापति चिरन्जिवि गौतम, शिव प्रसाद कंडेल, नेविसंघका अध्यक्ष खड्ग थापा लगायतले बोलेका थिए ।





