शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अबरुद्ध भयो पोखरा बागलुङ सडक , अर्मादीमा खोलाले ट्याक्सी बगायो

अबरुद्ध भयो पोखरा बागलुङ सडक , अर्मादीमा खोलाले ट्याक्सी बगायो


  • संजय रेग्मी
  • भाद्र ३१ २०७६, मंगलबार

पर्वत,३१ भदौ – पर्वतको कुस्मा नगरपालिका ४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण खोलामा आएको भेलले आज बिहान पौने पाँच बजेको समयमा ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार उक्त ट्याक्सी म्याग्दीको बेनीबाट बिरामी लिएर पोखरा जाँदै थियो । खोलामा भेल आएको देखेपछि बिरामी उनका आफन्तलाई केही पर नै झारेर ट्याक्सी मात्र पार गराउने प्रयास गर्दै चालक म्याग्दीका हरिबहादुर खड्काले खोलाको नजिकै ट्याक्सी पु¥याउँदा हिलोमा फसेको थियो । पहिरो र भेलको जोखिम देखेपछि चालकले ज्यान जोगाउन ट्याक्सी नै छोडेर फर्किएको केही समयमा नै भेलले ट्याक्सी बगाएको हो । सडकबाट केही तल पुगेको ट्याक्सीलाई बाहिर निकाल्न प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । सोही ठाउँमा अबरुद्ध भएको कुस्मा पोखरा सडक खण्ड दोहोरो रूपमा खुलाउने प्रयास भइरहेको छ । गिलमेरी खोलामा आएको बाढीले गिट्टी र ढुङ्गा सडकमा थुपारेकोले जे.सी.बी. को सहायताले एकतर्फी रूपमा मात्र बाटो सञ्चालनमा आएको ट्राफिक प्रहरी प्रमुख क्षेत्रीले बताउनुभयो । खोलामा अहिले पनि ठुलो भेल आएका कारण पोखरादेखि कुस्मा हुँदै बागलुङ र म्याग्दी आउजाउ गर्ने सवारीहरू जाममा परेका छन । प्रहरीले बिहानैदेखि एकतर्फी रूपमा बाटो खुलाएको भए पनि दुईतर्फी रूपमा बाटो सुचारु हुन भने केही घण्टा लाग्न सक्ने प्रहरीको अनुमान छ ।

उता, पोखरा बागलुङ सडक खण्डको पर्वत जिल्लामा पर्ने साना र ठुला पहिरोहरू पन्छाएर सडक सुचारु गराइएको भए पनि पर्वत र कास्कीको सिमानामा आएको पहिरो खुल्न भने कम्तीमा पनि चार घण्टा लाग्ने अनुमान गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने झोबाङको भिरबाट खसेको पहिरोले पोखरा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । गएराती झन्डै एक बजेको समयमा ठुला चट्टानहरू सहित आएको पहिरो पन्छाउन निकै सकस परिरहेको पहिरोस्थलमा रहेका ट्राफिक प्रहरी हवलदार आशिष क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार बिहान सबेरैदेखि सडक खुलाउने प्रयास गरिएको भए पनि भीरबाट पहिरो खस्ने क्रम नरोकिएका कारण सडक नै जोखिममा रहेको छ । पहिरोसँगै लेदो र कडा खालको चट्टान पनि सडकमा जम्मा भएको छ । सडकमा जम्मा भएको चट्टान हटाउन ब्रेकर हान्नै पर्ने अवस्था रहेको तर ब्रेकर लगाउँदा भीर थर्किएर माथिबाट पहिरो झनै बढेर आउने देखिएकोले समस्या भएको प्रहरी हवल्दार क्षेत्रीले जानकारी दिनुभयो । कास्कीको पोखरा हुँदै साबिकको धौलागिरीका पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङका लागि छुटेका धेरै सवारीहरूको कास्कीको ढावामा नै रातीदेखि नै रोकिएको प्रहरीले जनाएको छ ।

यस्तै, कास्कीकै नागडाँडा नजिकै पोखरा बागलुङ सडक खण्डमा नै पहिरो झरेको छ । नागडाँडाको पहिरो खुलाउनको लागि बिहानैदेखि प्रयास भइरहेको छ । यसैगरी, कास्कीकै हेम्जा नजिकैको फेदीको भीरमा पनि पहिरोले पोखरा बागलुङ सडक खण्ड अवरुद्ध गराएको छ । त्यहाँको पहिरो पनि खुलाउने प्रयास भइरहेको छ । फेदीमा गएको पहिरोले साना सवारीलाई भने असर पार्न सकेको छैन् । पोखराको विन्दवासिनी मन्दिरबाट सराङकोट हुँदै नागडाँडा निस्कने वैकल्पिक सडकमा ठुला सवारी चलाउन अनुमति नभएको साना सवारीहरू भने चलिरहेका छन् । तर ती सवारीहरू पनि नागडाँडा र नयाँपुलमा खसेको पहिरोको कारण अलपत्र परेका छन् ।

यसैगरी, पर्वतकै मोदी गाउँपालिका ५ अम्बोटको ओडारेमा गएको पहिरो प्रहरीले आधा घण्टामा नै खुलाएको छ । ट्राफिक चेक पोस्ट डिमुवाका इन्चार्ज रेसम थापाका अनुसार आज बिहान झन्डै साढे ४ बजेको समयमा सडकमा पहिरो आएपछि पोखरा बागलुङ सडक अवरुद्ध भएको थियो । डिमुवा प्रहरी चौकी र ट्राफिक चेक पोस्टबाट गएको प्रहरीले पहिरो आधा घण्टामा नै पन्छाएपछि बिहान पाँच बजेबाट नै सडक सुचारु भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->