पोखरा,१ असोज – गण्डकी प्रदेशको भ्रमणमा आएको सुदुरपश्चिम प्रदेशका सभासदहरुको टोलीले मंगलबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटेको छ । अर्थ, विकास तथा प्राकृतिक स्रोत साधन समिति सभापति हर्कबहादुर कुँवरको नेतृत्वले सभासदको टिमले मुख्यमन्त्रीसँग सामुहिक भेटगर्दै अनुभव आदान प्रदान गरेको हो । संघीयताको सफल कार्यन्वयन, प्रदेश सभाले बनाउने कानून, संघ र स्थानीय तहसँगको समन्वय गर्ने विषयमा अनुभव साटासाट भएको सुदूरपश्चिम प्रदेश सांसद हर्कबहादुर कुँवरलेजानकारी दिए । भेटमा मुख्यमन्त्री गुरुङले चालु आर्थिक बर्षमा प्रदेश सरकारहरुले गति लिन सक्नुपर्ने बताएका थिए । कर्मचारी समायोजन केही मात्रामा भएको, कानून निर्माण र कार्यविधि बनेको र सरकारले पनि केही अनुभव बटुलेको भन्दै अब काम गर्न अनकुल रहेको समेत बताए । सुदुरपश्चिम प्रदेशका सांसदहरु प्रदेशका मध्यकालीन र दीर्घकालीन लक्ष्य निर्माणका लागि गण्डकी प्रदेशको अनुभवबारे जिज्ञशा राखेका थिए । जवाफमा मुख्यमन्त्री गुरुङले प्रदेश निति तथा योजना आयोग बनाएर जान सुझाएका थिए ।
गण्डकी प्रदेशले हेलो मुख्यमन्त्री, एक्सन रुम जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम सुरुवात गरेको जानकारी गराउदै मुख्यमन्त्री गुरुङले यसलाई सुदुरपश्चिम प्रदेशले पनि सुरुवात गर्दा जनताको गुनासो सुन्न सहज हुने बताएका थिए । स्थानीय तहले प्रदेशको योजनामा कम चासो दिने गरेको विषयमा सांसदहरुले सुझाव मागेको थिए । मुख्यमन्त्री गुरुङले स्थानीय निकाय स्वतन्त्र नभई स्वायत्त निकाय भएकोले प्रदेशको योजनामा साथ दिन आवश्यक रहेको बताएका थिए । प्रदेश सांसदहरुले सांसद क्षेत्र विकास कोषलाई परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो । प्रदेशका ४ वटा संसदीय समितिको सभापतिहरु सहित १ दर्जन सभासद भेटमा सहभागी थिए । टोलीले मंगलबार बिहान गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीको टिमलाई समेत भेटेको थियो ।





