लमजुङ, ५ असोज- जिल्लाका सामुदायिक विद्यालयले सञ्चालन गरेको ‘दिवा खाजा’ कार्यक्रम प्रभावकारी बनेको छ । विद्यालयमा विद्यार्थीको आकर्षण बढाउँन र जङ्कफुडका कारण स्वास्थ्यमा नकरात्मक असर पर्ने भएकाले विद्यालयमा स्वस्थ दिवा खाजाको व्यवस्था गरिएको थियो। दिवा खाजा व्यवस्था गरेपछि नीजी विद्यालयमा लगेर बालबालिका पढाएका अभिभावकले समेत सामुदायिक विद्यालयमा ल्याएर पढाउन थालेका छन्। सुन्दरबजार नगरपालिका स्थित भारती सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर कार्कीले विद्यालयमा कक्षा तीनसम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको बताए । दिवा खाजाले बालबालिकाको पोषणमा सुधार भएको र जङ फुडको नियन्त्रण तथा पोषणयुक्त खाना खुवाउन नसक्ने अभिभावकहरुका लागि धेरै सहज भएको छ ।
विद्यालयका लागि आवश्यक खाजा ४० जना बालबालिकाका अभिभावक दैनिक रुपमा पालैपालो आएर बनाउँने गरेका छन् । विद्याज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर केसीले विद्यालयले नियमित रुपमा दिवा खाजा सञ्चालन गर्दै आएको बताए । दिवा खाजाले गर्दा विद्यार्थी नियमित र संख्या बढ्दै गएको छ । ‘५ वर्षदेखि दिवा खाजाको व्यवस्था गरेका छौं । मासिक रुपमा अभिभावबाट दुई सय रुपियाँ लिएर कक्षा दुईसम्मका बाल विकासदेखि बालबालिकालाई खाजा खुवाउँछौं’ केसीले भने, ‘खाजाको व्यवस्था हुन थालेपछि विद्यार्थी नियमित र पढाईमा ध्यान दिन थालेका छन्, निजी विद्यालयमा गएका बालबालिका पनि विद्यालय आउन थालेका छन् ।’ विद्यार्थीलाई जाउलो, खिर, चना, अण्डा, तरकारी, समोसालगायतका खाजा दिने गरिएको छ। उक्त विद्यालयमा ४० जना विद्यार्थी दिवा खाजाबाट लाभान्वित भएका छन् । विद्यालयमा दिवा खाजाका लागि नगरपालिका बाल संरक्षण समितिले सहयोग गरेको छ ।
मस्र्याङदी गाउँपालिका-४ जगतस्थित सरस्वती विद्यामन्दिर रामकुमारी आधारभूत विद्यालयका प्रधानाध्यापक पञ्चबहादुर गुरुङका अनुसार विद्यालयमा गाउँपालिकाको सहयोगमा दिवा खाजा सुरु गरिएको छ । बालविकासदेखि कक्षा तीनसम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको छ । गाउँपालिकाले एक वर्ष दिवा खाजाको व्यवस्था गर्न ४३ हजार ४ सय ३ रुपियाँ सहयोग गरेको छ । विद्यालयका विद्यार्थीलाई विद्यालयमै पोषिलो खाजाको व्यवस्था भएपछि विद्यार्थीसंगै अभिभावक खुसी भएका छन् । दिवा खाजाको व्यवस्था भएपछि विद्यार्थी नियमित विद्यालय आउन थालेको विद्यालयले जनाएको छ । यसले गर्दा विद्यालयमा विद्यार्थीको संख्यापनि बढ्न सक्ने विद्यालयले अनुमान गरेको छ ।





