पोखरा,८ असोज – गण्डकी प्रदेशको उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयले आन्तरिक पर्यटन वर्ष २०१९ लाई लक्षित गरि एउटा पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा ‘गण्डकी प्रदेश आउनुहोस्,आन्तरिक भ्रमण वर्षमा पाहुना बन्नुहोस्’ भन्ने आह्वान गरिएको छ । भ्रमण वर्ष सकिनैलाग्दा सार्वजनिक भएको यो पोष्टरमा पाहुनालाई विभिन्न छुट प्याकेज पनि सगर्व घोषणा गरिएको छ । पोष्टरमा ५ वटा प्याकेज दिइएको छ । पश्चिमाञ्चल होटल संघसँगको समन्वयमा होटलमा १५ प्रतिशत, रेवानसँगको सहकार्यमा रेष्टराँमा १० प्रतिशत,साहशिक पर्यटनसँग सम्बन्धित प्याराग्लाइडिङसहितका खेलमा १० प्रतिशत,नाट्टासँगको सहकार्यमा टुर प्याकेजमा १५,पर्यटकीय बाहनमा १५,टे«किङका सामाज किन्दा अनि इम्ब्रोइडरी पसलमा पनि त्यति नै छुटको व्यवस्था छ ।
पर्यटन मन्त्रालयले सरोकारवाला निकायहरुसँगको सहकार्यमा यो प्याकेज घोषणा गरेको जनाएको छ । मन्त्रालयको लोगो अंकित यो पोष्टरमा सबैभन्दा ठूलो छुटचाहिँ पदयात्रा गाइडको लागि दिइएको छ । टे«किङ एजेण्टस् एसोसियनसनसँगको सहकार्यमा घोषित यो प्याकेजमा टे«किङ गाइडको सेवा निःशुल्क घोषणा गरिएको छ । त्यही पनि टानआवद्ध अनुभवी गाइडबाट । कति दिनको सेवा निःशुल्क भन्ने चाहिँ लेखिएको छैन ।
हो, मन्त्रालयको यही पोष्टरप्रति पदयात्रा क्षेत्रमा कार्यरता मजदूररुले आपत्ति जनाएका छन् । पदयात्रा मजदूरको नेतृत्व गर्ने सत्तारुढ पार्टी निकट युनिट्राभका नेता विजय केसीले यही पोष्टर आफ्नो फेसबुक वालमा पोष्ट गर्दै लेखेका छन्,‘गण्डकी प्रदेश सरकारले टे«किङ गाइड निःशुल्क उपलब्ध गराउने अनि मजदूरको घरको चुलोचाहिँ कसले बालिदिने हो ?अनि मजदूरका घरका बालबच्चाको लालनपालन पनि टानमार्फत गर्ने हो कि ?अब तिमीहरुको काम छैन, देश छाड भन्न खोजेको पो हो कि ?’ उनको वालमा लेखिएको यो वाक्यले प्रष्ट पार्छ, प्याकेज घोषणा गर्दा अर्को पक्ष अर्थात् मजदूरलाई ध्यान दिइएन । मजदूरलाई ध्यान नदिई गरिएको यही निर्णयका कारण यो प्याकेज कागजमा मात्रै सीमित हो कि व्यवहारमा भन्ने द्धिविधा उत्पन्न भएको छ । किनकि, पदयात्रामा काम गर्ने मजदूरहरुको न्यूनतम पारिश्रमिक २ हजारको हाराहारीमा रहेको छ । दैनिक २ हजार रुपैयाँ तिरेर टानले निःशुल्क पर्यटक गाइड पठाउने सम्भावना नै रहँदैन ।
‘हो कार्डमा लेखेर आएछ । त्यो भनेको विद्यालय वा एक दिने हाइकिङको लागि दिइने प्याकेज हो’, टानका वरिष्ठ उपाध्यक्ष सुशील पौडेलले भने,‘हामीले आन्तरिक पर्यटकहरुको लागि मन्त्रलायको समन्वयमा यो प्याकेज घोषणा गरेका हौँ ।’ पौडेलका अनुसार एक दिनको हाइकिङ जान चाहने समूहलाई दिइने पदप्रदर्शकको शुल्कको व्यवस्थापन टान पश्चिमाञ्चल च्याप्पटरले गर्नेछ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले सबै सरोकारवाला निकायहरुसँग मिलेर नै यो प्याकेज ल्याएको बताएको छ ।
१० लाख कार्ड बाँडिन्छ ः मन्त्री लम्साल
गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साले आन्तरिक भ्रमण वर्षभर करिब १० लाखवटा सहुलियत कार्ड बाँडिने बताएका छन् । उनका अनुसार विश्व पर्यटन दिवसको अवसरमा बुटबलबाट यो कार्ड बाँड्न सुरु गरिनेछ । ‘सरोकारवाला निकायहरुसँग बसेर नै यो सम्झौता भएको हो, हामी कार्डमा नम्बर पनि लगाउँछौँ, कार्ड लिएर आउने ग्राहकलाई भनेको छुट नदिएमा कारवाही हुन्छ’, उनले ढोरपाटनसँग टेलिफोनमा भने,‘ यो योजना यो वर्षभर लागु गरिनेछ ।’ आन्तरिक पर्यटकलाई निम्तो दिन निस्कने मन्त्रालयको टोलीले हरेक जिल्लामा पुगेर सहुलियत कार्ड बाँड्ने र यसको प्रभावकारी कार्यान्वयमा पनि जोड दिइने उनले बताए । आधिकारिक संस्थासँग गरिएको सम्झौता अनुसार आधिकारिक संस्थामा आवद्ध होटल वा व्यवसायीकहाँ गएर छुट माग्न पनि उनले सर्वसाधारणसँग आग्रह गरे ।





