पोखरा,९ असोज – स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको व्यक्तिगत स्वार्थका कारण नर्सिङका विद्यार्थीहरुमाथि गम्भीर खेलवाड गरिएको भन्दै प्रदेश सांसद विन्दुकुमार थापाले संसदको ध्यानाकर्षण गराएका छन् । बुधबार गण्डकी प्रदेशसभाको विशेष समयमा बोल्दै सांसद थापाले गण्डकी प्रदेशका विद्यार्थीहरुमाथि भईरहेको अन्यायको बारेमा ध्यानाकर्षण गराएका हुन् ।
संसदमा बोल्दै थापाले भने, “सिटीइभीटीबाट सम्बन्धन प्राप्त यस एकेडेमीले सिटीइभीटीकै भ्रष्ट कर्मचारीसँग मिलिमतो गरी गण्डकी प्रदेशका विद्यार्थीलाई पाखा लगाएर अन्य प्रदेशका विद्यार्थीहरुलाई भर्ना गर्ने प्रपञ्च रचिरहेको छ । गण्डकी प्रदेशकै विद्यार्थीहरु फार्मेसी पढ्न बन्चित गराउने गरी अन्य प्रदेशका विद्यार्थीसँग मोटो रकम लिएर भर्ना गर्ने प्रपञ्च रचिएको छ ।”
हाल गण्डकी प्रदेशमा फार्मेसी पढ्न १६३ जना विद्यार्थीले आवेदन दिएका छन् । जसमध्ये १०० भन्दा बढि विद्यार्थी गण्डकीकै छन् । उनीहरुलाई पढ्ने अवसरबाट वञ्चित गराउन लागिएको र यसमा स्वास्थ्य राज्यमन्त्रीको स्वार्थ देखिएको उनले आरोप लगाए ।
“गण्डकी प्रदेशमा फार्मेसी पढ्न १६३ जनाले आवेदन दिएका छन् । जसमा यहि प्रदेशका १०० जना भन्दा धेरै विद्यार्थी फार्मेसी पढ्न वञ्चित हुने अबस्था निम्त्याइँदैछ,” उनले भने, “यसले पोखरा र आसपासका विद्यार्थीलाई भर्ना गर्नबाट वञ्चित गरेर अन्य प्रदेशका विद्यार्थीबाट लाखौँ रकम असुलेर अन्य प्रदेशका विद्यार्थीलाई भर्ना गर्ने खेल भइरहेको छ । प्रदेश भित्रका विद्यार्थीको प्राविधिक कलेजमा पहुँच गौंण हुनेगरी संघीयताको मर्म विपरित संघको दबदबा कायम राख्न खोजिएको बुझिएको छ ।”
स्वास्थ्यमन्त्री यादवको व्यक्तिगत स्वार्थलाई पृष्ठपोषण गर्न नर्सिङ काउन्सिललाई दबाब र प्रभावमा पारेर अस्पताल नभएका, बेड संख्या कम भएको ठाउँमा नर्सिङ कलेजलाई कार्यक्रम सञ्चालन गर्न दिएको उनको भनाई छ ।
काहुँमा रहेको उक्त एकेडेमीमा ३ वर्षे फार्मेसी पढाई हुँदै आएको छ । गण्डकी प्रदेशका विद्यार्थीलाई पाखा लगाएर प्रदेश २ को सप्तरी, सिराहा र प्रदेश ५ को रुपन्देही र कपिलबस्तु लगायतका जिल्लाका वैकल्पिकमा रहेका विद्यार्थीलाई भर्ना गर्न खोजिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । उनले यस घटनामा पोखराको पद्म नर्सिङ कलेजको पनि मिलीमतो रहेको उनको आरोप छ ।
गण्डकीमा रहेको सिटीइभीटीको कार्यालयलाई बेवास्ता गर्दै सिधै केन्द्रीय कार्यालयबाट कागजी प्रक्रिया मिलाएर बाह्य प्रदेशका विद्यार्थी भित्र्याउन लागेको उनले बताए । स्वास्थ्यमन्त्रीबाटै प्राविधिक शिक्षा गुणस्तरहीन बनाउने खेल भएको उनको आरोप छ ।
“पोखराको पद्म नर्सिङ कलेजलाई विधि, प्रक्रिया मिचेर किनबेच गरिँदैछ, प्रक्रिया नै नपुग्ने रिजनल कलेजले पद्म नर्सिङ गर्न केन्द्रसम्म सेटिङ मिलाइरहेको छ । यसमा नर्सिङ काउन्सीलका अध्यक्ष गोमा निरौला, रजिस्टार बृन्दा घिमिरे तथा स्वास्थ्य राज्यमन्त्री यादबको संलग्नता रहेको छ । म माननीय सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” उनले भने ।





