पोखरा,९ असोज – ‘आन्तरिक भ्रमण वर्ष –२०१९’ सकिन करिब ३ महिना बाँकी हुँदा बल्ल गण्डकी प्रदेश सरकारले आन्तरिक प्रवद्र्धनात्मक कार्यक्रम सुरु गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको नेतृत्वमा रहेको ५० सदस्यीय टोली विहीबार विराटनगर, वीरगञ्ज, बुटबल र काठमाण्डौको प्रवद्र्धनात्मक भ्रमणमा निस्केको हो । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ८ दिने प्रवद्र्धनात्मक टोलीलाई बिदाई गरे । बिदाईका बेला मुख्यमन्त्री गुरुङले नै ढिला गरि प्रवद्र्धनात्मक कार्यक्रम भएकोमा असन्ुतष्टी जनाए । ‘यो कार्यक्रम जनवरी वा फ्रेवुअरीमा सुरु हुनुपथ्र्यो’, उनले भने,‘ढिला गरि सुरु भएको छ, त्यसको क्षतिपूर्ति ३ महिनामा गर्नुपर्छ ।’उनले नेपाल भ्रमण वर्ष २०२० तथा प्रदेश सरकारले नै घोषणा गरेको गण्डकी भ्रमण वर्ष २०२२ सम्म २० लाख पर्यटक ल्याउन छिमेकी देशमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने उद्घोष पनि गरे ।
गण्डकीका पर्यटनमन्त्री लम्सालले चाहिँ अबका ३ महिनामा १५ लाख पर्यटक पोखरा भित्र्याउने उदेश्यका साथ प्रवद्र्धनात्मक कार्यक्रम गरिएको दावी गरे । उनले पोखरा भ्रमणमा आउने पर्यटकलाई छुटसहितको प्याकेजका कार्यक्रमको पनि घोषणा गरे । गौरवशाली गण्डकी नारासहितको छुटमा ५ वटा प्याकेज दिइएको छ । पश्चिमाञ्चल होटल संघसँगको समन्वयमा होटलमा १५ प्रतिशत, रेवानसँगको सहकार्यमा रेष्टराँमा १० प्रतिशत,साहशिक पर्यटनसँग सम्बन्धित प्याराग्लाइडिङसहितका खेलमा १० प्रतिशत,नाट्टासँगको सहकार्यमा टुर प्याकेजमा १५,पर्यटकीय बाहनमा १५,टे«किङका सामाज किन्दा अनि इम्ब्रोइडरी पसलमा पनि त्यति नै छुटको व्यवस्था छ । यसैगरी टानसँगको सहकार्यमा पदयात्रामा निःशुल्क पदथप्रदर्श दिइने पनि प्याकेजमा उल्लेख छ ।पर्यटन मन्त्रालयले सरोकारवाला निकायहरुसँगको सहकार्यमा यो प्याकेज घोषणा गरेको जनाएको छ ।
पर्यटनमन्त्री विकास लम्सालले आन्तरिक भ्रमण वर्षभर करिब १० लाखवटा सहुलियत कार्ड बाँडिने बताएका छन् । उनका अनुसार विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार बुटबलबाट यो कार्ड बाँड्न सुरु गरिनेछ । ‘सरोकारवाला निकायहरुसँग बसेर नै यो सम्झौता भएको हो, हामी कार्डमा नम्बर पनि लगाउँछौँ, कार्ड लिएर आउने ग्राहकलाई भनेको छुट नदिएमा कारवाही हुन्छ’, उनले भने,‘ यो योजना यो वर्षभर लागु गरिनेछ ।’ आन्तरिक पर्यटकलाई निम्तो दिन निस्केको मन्त्रालयको टोलीले हरेक जिल्लामा पुगेर सहुलियत कार्ड बाँड्ने र यसको प्रभावकारी कार्यान्वयमा पनि जोड दिइने उनले बताए । आधिकारिक संस्थासँग गरिएको सम्झौता अनुसार आधिकारिक संस्थामा आवद्ध होटल वा व्यवसायीकहाँ गएर छुट माग्न पनि उनले सर्वसाधारणसँग आग्रह गरे । पर्यटन व्यवसायीहरुले चाहिँ भ्रमण वर्षको अन्त्यमा अनावश्यक रुपले ठूलो रकम खर्चन लागेको आरोप लगाएका छन् । पर्यटन मन्त्रालयले एक वर्षअघि होमस्टेलाई बाँडेको पैसाले सकारात्मक परिणाम दियो कि दिएन भन्ने मूल्याङ्कन गर्न छाडेर राज्यकोषको दोहनको लागि मात्रै प्रदेश सरकारको अभियान आएको उनीहरुको टिप्पणी छ ।
‘यो समय भनेको साहशिक पर्यटक आउने समय हो,यो कार्यक्रम ५÷६ महिनाअघि नै गर्नुपथ्र्यो, नभए निजी क्षेत्रलाई जिम्मा दिनुपथ्र्यो’, होटल संघका एक पदाधिकारीले भने,‘ यो विकासे बजेट असारमा सकेजस्तै काम हो ।’





