काठमाडौं, २३ असोज – बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि उनलाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ। उच्च रक्तचापको समस्या देखिएपछि महरालाई बिहीबार दिउँसो १२ बजे अस्पताल भर्ना गरिएको हो। अब जाँचको रिपोर्ट आएपछि मात्र महराको अस्पताल बसाइ के-कति हुने भन्नेबारे टुंगो लाग्ने अस्पताल स्रोतले जनाएको छ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले अदालतको अनुमति लिएर सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको हो। महराले आफूमाथि बलात्कारको प्रयास र हिंसा गरेको शाहीले आरोप लगाएकी छन्। उनलाई पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएको थियो। उनको बयान असोज २८ गते अदालत खुलेपछि मात्र हुनेछ।





